दर्शनशास्त्रमा ‘तत्त्व’ भन्नाले के बुझिन्छ ?

तत्त्व : कुनै यस्तो वस्तुको अवधारणा, जुन कुनै निश्चित प्रणालीको अवयव हुन्छ र जसलाई त्यो प्रणालीको ढाँचाभित्र अविभाज्य मानिन्छ (उदाहरणको लागि, अणुप्रणालीमा परमाणु, परमाणु प्रणालीमा इलेक्ट्रोन, आदि)। तर एउटा प्रणालीमा अविभाज्य अर्को प्रणालीमा विभाज्य सिद्ध हुन्छ। प्रकृतिको ऐतिहासिक ज्ञानको प्रक्रियामा तत्त्वको अवधारणाले अनिवार्य रूपमा जन्म लिन्छ। प्राचीन युनानी दार्शनिकले यो मान्दथे कि जगतको एकल तत्त्व या त जल (थेलिज) वा वायु (अनाक्सिमेनिज) वा अग्नि (हेराक्लिटस) हो। डेमोक्रिटसले र पछि एपीक्यूरसले पदार्थका अविभाज्य सूक्ष्मतम कणहरूको रूपमा परमाणुसम्बन्धी आफ्नो मत प्रस्तुत गरे।

पदार्थको विज्ञानको विकासमा पदार्थको सरलतम तत्त्व खोज्ने प्राकृतिक वैज्ञानिकहरूको आकांक्षा तथा पदार्थको असीमितता तथा अक्षयताको कारण प्रकृतिमा यस्ता कणहरूको अभावको बीचमा सदा अन्तर्विरोध रहेको छ। १९औं शताब्दीको अन्तमा प्राकृतिक विज्ञानहरूमा महान आविष्कारहरूले मूल तथा संरचनाहीन परमाणुहरूको बारेमा प्रचलित विचारहरूको उपहास गरे। आधुनिक भौतिक विज्ञानले इलेक्ट्रोनहरु, न्यूट्रोनहरु तथा मूल वा प्राथमिक मानिने अन्य कणहरूको संरचनाको जटिलता सिद्ध गर्ने प्रयत्न गरिरहेको छ र यसरी प्रकृतिमा नितान्त सरल तथा अविभाज्य तत्त्वको अभावको अवधारणाको पुष्टि गरिरहेको छ।

तत्वकरण : १) सामान्य अर्थमा, कुनै वस्तुको कुनै एउटा गुणको स्वतन्त्र रूपले अस्तित्वमान वस्तुमा रूपान्तरण। २) बढी व्यापक अर्थमा, अमूर्त अवधारणाहरूलाई स्वतन्त्र अस्तित्व मान्नु, जुन आदर्शवादको विशेषता हो।

तथ्य : वस्तुगत तथा वैज्ञानिक तथ्यहरूमा अन्तर गरिन्छ। वस्तुगत तथ्य कुनै परिघटना, यथार्थको अंश हो, जुन मानिसका क्रियाकलाप अथवा ज्ञानको विषय हो। वैज्ञानिक तथ्य कुनै वस्तुगत तथ्यको मानव-चेतनामा परावर्तन, अर्थात् त्यसको निश्चित भाषामा वर्णन हो। वैज्ञानिक तथ्य सैद्धान्तिक रचनाहरूको आधार हो, जुन तिनीहरूबिना असम्भव हुन्छ। पृथक परिघटनाको रूपमा तथ्य विभिन्न सम्बन्धहरूको माध्यमबाट अन्य तथ्यहरूसँग अनिवार्य रूपमा जोडिएका हुन्छन्। त्यसकारण वैज्ञानिक ज्ञानले तथ्यका सम्पूर्ण सम्बन्धहरू तथा सूत्रहरूसहित तिनीहरूको बढीभन्दा बढी सम्पूर्ण चित्र प्रस्तुत गर्नुपर्दछ। वैज्ञानिक तथ्यको योग वैज्ञानिक वर्णन हुन्छ वैज्ञानिक तथ्य त्यो भाषासँग, जसमा त्यसलाई व्यक्त गरिन्छ, र फलस्वरूप ती पदहरूसँग अविभाज्य हुन्छ, जसमा अवधारणाहरू निरूपित गरिन्छ। ह्युम तथा आलोचनात्मक अनुभववादबाट नवप्रत्यक्षवादसम्म लैजाने तथ्यको आदर्शवादी व्याख्याले तथ्यलाई केवल मानिसका संवेदनहरूमा मात्र विद्यमान मान्दछ। यो मताअनुसार जगतलाई पृथक, व्यष्टिक तथ्यहरूको, कर्ताको माध्यमबाट परस्पर जोडिएका इन्द्रियगत अनुभवका तत्त्वहरूको योग मानिन्छ।

तद्रूप सत्य कथन : तार्किक कलनहरूका प्रस्थापनााहरु, अभिव्यक्तिहरू अथवा सूत्र, जुन तिनीहरूका चरहरूका सत्य मूल्यहरूका सबै अर्थमा सत्य हुन्छन्। आकारपरक तर्कका सबै नियमहरू यस्तै हुन्छन्। तदनुसार

तद्रूप असत्य प्रस्थापनाहरू अथवा सूत्र चरहरूका सत्यमूल्यहरुका सबै अर्थहरूमा असत्य हुन्छन्।

तर्कगणित : आरम्भमा तार्किक कलन यो नामबाट परिचित थियो। लिब्निजले गणितीय तर्कशास्त्रको तर्कगणितको रूपमा वर्णन गर्दथे। संकेतात्मक अथवा गणितीय तर्कशास्त्रको पर्यायको रूपमा तर्कगणितको उपयोग सेप्टेम्बर, १९०४ मा जेनेभामा भएको अन्तर्राष्ट्रिय दर्शन सम्मेलनमा स्वीकार गरिएको थियो।

 

तर्क तथा बुद्धि : यस्ता अवधारणाहरू, जसले वैज्ञानिक र साथसाथै नैतिक तथा कलात्मक चिन्तनका दुई परस्पर आवश्यक पक्षहरू, एक-अर्कोलाई सहायता गर्ने योग्यताहरूलाई अभिव्यक्त गर्दछन्। बौद्धिक योग्यताको विशेषता यो तथ्य हो कि त्यसअन्तर्गत अवधारणाहरू रूपान्तरणको प्रक्रियाबाट गुज्रिँदैनन्, बरु तिनीहरूले आफ्नो स्थिर स्वरूप कायम राख्दछन्; तिनीहरूले प्रयोगात्मक सामग्रीको लागि र परिणामहरूको रचनाको लागि तम्तयार सैद्धान्तिक मात्राको काम गर्दछन्। यही बौद्धिक कार्यहरू र तिनीहरूका परिणामहरूको अमूर्त स्वरूपको कारण हो, जसले अमूर्तकरणको पूजाको लागि तथा तिनीहरूको स्वतन्त्र सिर्जनात्मक भूमिका बताउनको लागि आधारभूमिको काम गर्दछ। केवल बुद्धिले मात्र युक्त मानिसले आफ्नो जीवनलाई बढीभन्दा बढी बौद्धिक, तर्कबुद्धिसंगतताको क्षेत्र बनाउँदछ। यसको विपरीत तर्कको योग्यताको विशेषता यो तथ्य हो कि अवधारणाहरूले रूपान्तरणको प्रक्रियामा प्रवेश गर्दछन्।

उद्देश्य तथा मूल्य तिनीहरूको परिवर्तनको प्रक्रियामा देखिन्छन् र सैद्धान्तिक प्रक्रिया एउटा ठोस आदर्शतिर निर्देशित हुन्छ, जसले ज्ञानको कर्तालाई विकासतिर लैजान्छ। यदि केवल बौद्धिक योग्यतामा आधारित वैज्ञानिक अनुसन्धान नैतिकता र कलाको प्रतिकूल छ भने, तर्कले तिनीहरूको संगमको लागि वातावरणको सिर्जना गर्दछ। तर्क तथा बुद्धिको समस्या दर्शनको सम्पूर्ण युरोपेली इतिहासमा विद्यमान छ, जुन प्लेटो तथा एरिस्टोटलद्वारा तिनीहरूमा गरिएको अन्तरदेखि लिएर निकोलस, ब्रूनो र स्पिनोजाको यो बोधसम्म पुग्दछ कि तिनीहरू ज्ञानका चरणहरू हुन्। लिब्निजले यो समस्यालाई जर्मन शास्त्रीय दर्शनको अध्ययनको विषय बनाए। हेगेलले बुद्धिका दोषहरूको गहन आलोचना गरे, तर यसो उनले केवल तर्कलाई देवत्व प्रदान गर्नको लागि मात्र गरे। बुद्धिको नास्तिकवादी आलोचना अतर्कबुद्धिवादको प्रिय विषय हो। आफ्नो सैद्धान्तिक अनुसन्धानमा मार्क्सले अमूर्तबाट माथि उठेर मूर्तसम्म पुग्ने द्वन्द्वात्मक दृष्टिले तर्कसंगत विधिको उपयोग गरे (‘पुँजी’)। मार्क्सवादले मानिसलाई एउटा अखण्ड समुच्चयको तथा त्यसको क्रियाकलापका विविध अभिव्यक्तिहरूको एकताको रूपमा हेर्दै तर्क तथा बुद्धिको समस्यालाई समाधान गर्दछ।

-रमेश सुनुवारको दर्शन विश्वकोशबाट