गठबन्धनको भर छैन्, आफ्नै ताकतले चुनाव लड्ने तयारी गरौँ : बाबुराम भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले आगामी स्थानीय तहको निर्वाचन आफ्नै बलबुतामा चुनाव लड्ने र जित्ने तयारीमा लाग्नु पर्ने बताएका छन्।

काठमाडौँमा जारी प्रथम सङ्घीय परिषद् बैठकमा अध्यक्ष भट्टराईले पेस गरेको प्रतिवेदनमा ‘हाम्रो पार्टीको चाहना र प्रयासले मात्रै ५ दलीय गठबन्धनलाई चुनावसम्म सँगै लान सम्भव हुँदैन। यसका अरू दलको पनि इच्छा, आवश्यकता र तत्परता हुनु पर्दछ। त्यसैले पार्टीले आफ्नै बलबुतामा चुनाव लड्ने र जित्ने तयारी गर्नुपर्ने उल्लेख गरेका छन्।’

‘नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वमा बनेको वर्तमान गठबन्धन सरकारमा हाम्रो पार्टी पनि सामेल छ। यो गठबन्धन कसैको रहर नभएर देशको विशिष्ट राजनीतिक परिस्थितिको उपज थियो। गत निर्वाचनमा ५ वर्षका लागि सरकार चलाउन वाम गठबन्धनले झन्डै दुई तिहाइको जनादेश पाएको सन्दर्भमा बीचैमा यस्तो गठबन्धनको सरकार बन्ने अपेक्षा कसैले राखेको थिएन।’

दुई–दुई पटकको असंवैधानिक संसद् विघटनविरुद्ध सडक संघर्ष र आम जनपरिचालनको तहमा उत्रिएको हाम्रो पार्टी यस्तो गठबन्धनको साझेदार बन्नु स्वाभाविक र आवश्यक रहेको उनले उल्लेख गरेका छन्। पाँच दलीय गठबन्धनको सार्वजनिक प्रतिबद्धता न्यूनतम साझा कार्यक्रम’ का आधारमा चलिरहेको बताएका छन्।

‘यो सरकार कुनै खास पार्टीको नीति, सिद्धान्त, विचार र एजेण्डाअनुरूप चलिरहेको सरकार हैन। यो एक साझा सरकार हो। हामीले चाहेर पनि यो सरकार हामी पार्टी नीतिअनुरूप संचालन गर्न सक्दैनौँ। सरकारका कामहरू पर्याप्त सन्तोषजनक नभएको हुन सक्दछ’ उनले भनेका छन्, ‘सरकार सञ्चालनमा प्रशस्त सुधारको आवश्यकता छ। तर, अहिलेलाई यो सरकारको कुनै विकल्प छैन। यो सरकार आगामी चुनावसम्म जानै पर्दछ। अन्यथा फेरि अनेक प्रकारका प्रतिगामी चलखेल हुन सक्ने सम्भावना बढ्दछ।’

गठबन्धन सरकारलाई आगामी निर्वाचनहरू सम्पन्न गरुन्जेलसम्म जोगाइराख्न यथासम्भव सबै प्रयत्न गर्नुपर्ने बताएका छन्। प्रतिगमनविरोधि संघर्ष, एमसिसी प्रकरण लगायतका विषयमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको हाम्रो पार्टीलाई मन्त्रिमण्डल गठन, मुख्य राजनीतिक नियुक्ति, चुनावी तालमेल आदि सन्दर्भमा गठबन्धनको मर्मविपरीत उपेक्षा, न्यूनीकरण गर्ने प्रवृत्तिविरुद्ध संघर्ष गर्न पार्टी चुक्नु नहुने उल्लेख गरेका छन्।