प्रचण्डलाई लेखनाथको व्यंग्य : हाम्रा अध्यक्ष ज्योतिषी हेराउने, बोको काटेर ग्रह कटाउने

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यले लेखनाथ न्यौपानेले बुधबार अपरान्ह खुमलटारबाट बालुवाटार सर्न लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि कटाक्ष गरेका छन्।

बालुवाटार सर्नका लागि ज्योतिषी टीकाराम घिमिरेसँग बुधबार अपरान्ह ५ बजेको साइत हेराएको समाचार बाहिरिएपछि न्यौपानेले पार्टी अध्यक्षसमेत रहेका प्रचण्डमाथि व्यंग्य कसेका हुन्।

‘दौरा सुरुवाल लगाउने, ज्योतिषी बोलाएर साइत जुराउने! अब बोको काटेर ग्रह कटाउने, हाम्रो पार्टी अध्यक्ष’, उनले भनेका छन्, ‘हाम्रो पार्टीको नाम नेकपा (माओवादी केन्द्र), हाम्रो मार्ग निर्देशक सिद्धान्त-मालेमावाद, माओवादीको भविष्य!’

न्यौपानेले अध्यक्ष दाहालमाथि मालेमावादको सिद्धान्तबाट विचलित भएको टिप्पणी गरेका हुन्। कम्युनिष्ट पार्टीको अध्यक्ष साइत हेराउनेतिर लागेकोमा उनको आपत्ति थियो।

स्वतन्त्र सांसदलाई अफर : पार्टीमा आउनूस्, मन्त्री बन्नूस्

नयाँ प्रधानमन्त्रीका लागि सात राजनीतिक दलसँगै तीन स्वतन्त्र सांसद प्रभु साह, अमेरशकुमार सिंह र किरणकुमार साहले पनि समर्थन गरेका छन् । नवगठित सरकारमा सामेल गराउन तीनैजना स्वतन्त्र सांसदले ‘लबिङ’ गरिरहेका छन् । तर, एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डले तीनैजना सांसदलाई सर्तसहित मन्त्रीको अफर गरेका छन् ।

रौतहट २ बाट अफताव आलमका छोरा मोहम्मद फिरदोस आलमलाई हराउँदै विजयी भएका स्वतन्त्र सांसद किरणकुमार साहलाई एमाले अध्यक्ष ओलीले पार्टीमा प्रवेश गर्ने सर्तमा मन्त्री बनाउने अफर गरेका छन् ।

प्रभु साहले धोका दिएपछि रौतहटमा एमालेको संगठन ध्वस्त भएको भन्दै एमाले अध्यक्ष ओलीले किरणलाई जसरी पनि पार्टीमा प्रवेश गराउन चाहेका छन् । ओलीको प्रस्तावप्रति साह सकारात्मक रहेकाले चाँडै पार्टी प्रवेश गरेर एमालेको कोटाबाट मन्त्री बन्ने एमाले स्रोतको दाबी छ ।

त्यस्तै, कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवारी दिएर निर्वाचित भएका अमरेशकुमार सिंहलाई पनि एमाले र माओवादी दुवैले दल प्रवेश गरे मन्त्री बनाउने आश्वासन दिएका छन् ।

यद्यपि, दलमा जाने–नजाने विषयमा सिंह छलफलमै छन् । अर्का स्वतन्त्र सांसद प्रभु साह भने प्रधानमन्त्री प्रचण्डनिकट रहेकाले माओवादी प्रवेश गरेर मन्त्री बन्ने सम्भावना बलियो छ ।