दोहोरी गायक राजु परियार र मञ्जु बिकको ‘लमजुङे ठाडो भाका’ सार्वजनिक

काठमाडौं । लोक दोहोरी गायक राजु परियार र गायिका मञ्जु बिकको आवाज रहेको ‘लमजुङे ठाडो भाका’ गीत विमोचन गरिएकोे छ । मंगलबार राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा उक्त गीत र भिडियो विमोचन गरिएको हो । गीत विमोचन समारोहमा लमजुङको बेसीशहर नगरपालिकाका प्रमुख गुमान सिंह अर्याल प्रमुख अतिथि रहेका थिए भने लमजुङ बेसीशहर नगरपालिका– २ का वडाध्यक्ष मदन राना विशिष्ट अतिथि रहेका थिए ।

गायक परियारले जिल्लाको समग्र पहिचानसहित बेसीशहर नगरपालिका र आफ्नो जन्मस्थान नगरपालिका वडा नम्बर २ चिसापानीको पहिचान झल्किने गरी मौलिक स्थानीय महत्वको गीतमा शब्द समावेश र भिडियो निर्माण गरेर बजारमा ल्याएको बताए ।

धेरै लामो समयदेखि लोकदोहोरी गायनमा क्रियासील रहेर हजारौँ गीतमा आवाज दिँदै आफ्नो पहिचान उचाइमा पुर्याएका गायक परियारले हालसम्म आफूले गाएका र सृजना गरेका कुनै पनि गीत यसअघि विमोचनको आयोजना नै नगरेको सुनाउँदै पछिल्लो समय आफ्नो बेग्लै पहिचान भएको ‘लमजुङे ठाडो भाका’ लोप हुने अवस्थामा पुगेकाले यस गीतको संरक्षण र प्रवर्द्धनमा विशेष चासो दिएको बताए ।

साथै यस गीतमा बेसीशहर नगरपालिका र आाफू जन्मेको वडा नम्बर २ को विशेष भूमिका र सहकार्य रहेको उनले जानकारी दिए । गीत विमोचन गर्दै प्रमुख अतिथि बेसीशहर नगरपालिकाका प्रमुख अर्यालले यस गीतले आफ्नो नगरपालिका मात्रै नभई समग्र लमजुङ जिल्लाको मौलिक पहिचान र महत्व बोकेको बताए । साथै उनले गीतको प्रशंसा गर्दै गायक राजु परियार र गायिका मञ्जु बिकलाई धन्यवाद ज्ञापन गरे ।

नगरप्रमुख अर्यालले लमजुङे ठाडो भाकाका सुरुवातका गायक देबहादुर दुरा र उनी पछिका भेडिखर्के साइलाको स्मरण गर्दै आगामी दिनमा नगरपालिकाको पर्यटन प्रवद्र्धन र यस मौलिक स्थानीय ठाडो भाकाको संरक्षणमा राजु परियारको मूख्य भूमिका रहने विश्वास व्यक्त गरे ।

गीत विमोचनका विशिष्ट अतिथि बेसीशहर नगरपालिका–२ का वडाध्यक्ष मदन रानाले यस ठाडो भाकाले आफ्नो वडाका लागि विशेष महत्व दिने बताउँदै पर्यटन प्रवद्र्धन र मौलिक लोकसंगीत संरक्षणमा ठूलो योगदान दिने उल्लेख गरे । वडाध्यक्ष रानाले गायक परियारको नाममा आफ्नो वडाभित्र पहिचान झल्किने नामाकरण गर्ने योजना बनाइरहेको समेत बताए ।

त्यसैगरी यस गीतका गायिका मञ्जु बिकले राजु परियार जस्तो गायनका बादशाहसँग आवाज मिसाएर आफ्नै गाउँ–ठाउँको मौलिक लमजुङे ठाडो भाका बजारमा ल्याउन पाउनु नै आफैलाई भाग्यमानी ठानेको बताइन् । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले पछिल्लो समय गीत संगीतमा छाडापन मौलाउँदै गएको भन्दै यस्ता मौलिक गीत संगीतको विमोचनको आयोजना गर्न पाएकोमा गायक राजु परियार लगायत सम्पूर्ण टिमलाई धन्यवाद दिए ।

साथै उनले पछिल्लो समय गीत विमोचनको संस्कार हराउँदै गएकोमा मौलिक गीतहरु विमोचन बिना नै हराउने अवस्थामा पुगेको औँल्याए । गीत विमोचन कार्यक्रममा राष्ट्रि लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर, पूर्वअध्यक्ष चन्द्र शर्मा र बद्री पंगेनीले लमजुङे ठाडो भाका लोप हुने अवस्थामा पुगेको बेला यसको संरक्षणमा राजु परियारले कदम अघि बढाएको बताए ।

साथै उनीहरुले यस गीतले आफ्नो बेग्लै मौलिक पहिचान बोकेको भन्दै गायक परियार र गायिका मञ्जु बिकलाई सशक्त भएर अघि बढ्न हौसला प्रदान गरेका थिए । मंगलबार विमोचन भएको यस ‘लमजुङे ठाडो भाका’ गायक राजु परियार आफैँले शब्द रचना र संगीत भरेका छन् भने संगीत संयोजन विश्वास नेपाल र ध्वनी सम्पादन राजेन्द्र बाजुरालीले गरेका छन् ।

त्यसैगरी भिडियोमा प्रकाश भट्टको निर्देशन रहेको छ । गीतको भिडियो लमजुङ बेसीशहरकै विभिन्न स्थान र आफ्नो जन्मस्थान बेसीशहर नगरपालिका– २ मा छायांकन गरिएको गीत विमोचनमा गायक परियारले जानकारी दिए ।