वर्ल्ड म्युजियम लिभरपुलमा मौरी सम्बन्धी आधुनिक कला प्रदर्शनी – के छ त यस भित्रको चाकारस?

स्कटनेपाल युके,

“डाईनोसर जतिकै पुरानो जीव मौरी नै पृथ्बीको जैविक बिबिधताको केन्द्रबिन्दु – माहुरी नै पृथ्वीको बाताबरणको ईण्डिकेटर। मौरी मासिए, सारा पृथ्बीभरका जीवजन्तुहरुको अस्तित्व नै संकटमा पर्ने दाबी।”

हामी प्रायले दिनहुँजसो नै अति सुबासिलो सुगन्धले भरिएको रसिलो, पोषिलो अनि अति नै गुलियो र मिठो महको “चाकारश” ल्यामल्याम गर्दै चाटीचाटीकन खाईरहेपनि तथा हाम्रो वरीपरी नै माहुरीका प्रजातीहरु फूलमा भुन्भुनाईरहेको देखी रहेतापनि धेरैजसो मानिसहरुलाई मौरीको उत्पति र उनीहरुले कसरी त्यति ठूलो समूहमा रहस्यमय तरीकाले एकअर्कासँग सामुहिक रुपले नै सम्बाद गर्दै महको चाका पार्ने काम गरिरहेका हुन्छन् र यसको साथै उनीहरुले यो पृथ्बीको बाताबरणलाई पनि स्वस्थ, सफा र हराभरा बनाई सारा पृथ्बी जगतको ईकोसिस्टमलाई नै जोगाई राखेका हुन्छन् भन्ने कुरा कमैलाई थाहा हुन सक्छ। यसरी पृथ्वीको बाताबरणलाई सन्तुलनमा राखीराख्नलाई माहुरीको केन्द्रीय रुपले नै ठूलो भूमिका हुन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ।

यही कुरालाई प्रष्टसँग कलाको माध्यामबाट देखाउनलाई यतिखेर लिभरपुलको वर्ल्ड म्युजियमको कीरा-फट्यांग्रा घर अर्थात् ‘बग्स हाउस’ सँगै (जहाँ ज्यूँदै किरा फट्यांग्राहरु पालेर राखिएको छ र ती कीरा फट्यांग्राहरुलाई नजिकैबाट नियालेर हेर्न पनि सकिन्छ) जोडिएको अर्को छुट्टै नयाँ हलमा “Bees: A Story of Survival” (माहुरीहरुको अस्तित्वको संघर्षको यौटा कथा) शिर्षकमा एक बिशेष खालको आधुनिक कला प्रदर्शनीको आयोजना गरिएको छ। यो प्रदर्शनीले मौरी जस्तो पृथ्बीकै महत्वपूर्ण र उपयोगी जीव सम्बन्धी धेरैको कौतुहलता र जिज्ञासालाई सरल तरीकाले स-प्रमाण बुझाउने कोशिस गरेको छ।

यो कला प्रदर्शनीले कसरी मौरीहरु डाईनोसरको युग देखि उत्पति भई आजको युग सम्म नै अनबरत रुपले आफ्नो अस्तित्वको रक्षाको संघर्ष गर्दै बाँचिरहेका छन् र यसरी लामो समय देखि आफ्नो अस्तित्वलाई रक्षा गर्दै आएतापनि बर्तमान युगमा आएर भने कसरी कहालीलाग्दो हिसाबले यो पृथ्बीमा मौरीको अस्तित्त्व नै सङ्कटमा पर्दै गईरहेको छ भनी मौरीको उत्पति र बिकासको ईतिहासलाई गहीरोसँग चित्रण गरेको छ।

यो प्रदर्शनीलाई विभिन्न प्रजातीको माहुरीको जीबाबशेषको बर्णन सहित एकदमै रोचक अनि शिलशिलाबद्द किसिमले एउटै बिशाल घारको “थीम थिएटर” भित्र देखाईएको छ।

कला क्षेत्रमै नौलो आयामको प्रस्तुती मानिएको यो प्रदर्शनी यही मे महिनाको ४ तारीख देखि शुरु भएको हो र यो प्रदर्शनी लगातार अरु एक वर्षसम्म अर्थात् सन् २०२५ मे महिनाको ५ तारीख सम्म खुरुखुरु निरन्तर चलीरहने छ। प्रदर्शनीको टिकट वर्ल्ड म्युजियम लिभरपुल भित्रै पुगेर पनि बुक गर्न सकिन्छ र नेशनल म्युजियम लिभरपुलको वेबसाईटबाट समेत अग्रीम रुपले बुकिङ्ग गर्न सकिन्छ।

बैज्ञानिक अनुसन्धान सहितको यो प्रदर्शनीलाई कलाको सहायताबाट बिज्ञान, प्रकृति र कलालाई एकैचोटी एउटै स्थलमा देखाईएको छ। आगन्तुकहरुलाई यो प्रदर्शनी हल भित्र पस्दा पूरै एउटै बिशाल मौरीको घार भित्र छु कि जस्तो अनुभब हुन्छ। आधुनिक कला र सङ्गीत अनि प्रबिधिको माध्यामबाट मौरीको घार जस्तै कृतिम बाताबरण सहितको आकर्षक डिजाईनमा बनाईएको यो भीमकाय मौरीको घार भित्र एक पटकमा करीब २५ देखि ३० जना मानिसहरुले एकैचोटी अबलोकन गर्दै मौरीको सारा दिनचर्या, जीबनचक्र र पूरै ईतिहासलाई नै प्रत्यक्ष अनुभब गर्न सक्छन्।

कलाकार ओल्फग्याङ्ग बट्रेशले यो प्रदर्शनीलाई जो-कोही सर्ब-साधारण पर्यटकले बुझ्न सक्ने गरी अति नै सरल र स्पष्ट किसिमले देखाएका छन्। प्रदर्शनी स्थल व्हील चेयर एक्सेसेबल तथा अडियो गाईड सहितको अपाङ्गमैत्री छ र जोकोही सर्बसाधारणले पनि यो प्रदर्शनीलाई सजिलैसँग बुझ्न सक्ने गरी प्रस्तुत गरिएको छ।


यस प्रदर्शनीको पहिलो कक्षमा विभिन्न महादेशबाट सङ्कलन गरिएको विभिन्न प्रजातीको माहुरीको पूरातात्त्विक जीवाबशेषहरुलाई एक पछि अर्को गर्दै व्याख्यात्मक टिप्पणी सहित देखाईएको छ। प्रदर्शनी हललाई बैज्ञानिक अध्यायन, अनुसन्धान एबं विश्लेषणको आधारमा मात्रै प्रस्तुत नगरी कलात्माक हिसाबले पनि देखाईएको छ।

यस प्रदर्शनीमा विभिन्न काल खण्डमा फरक-फरक महादेशमा पाईएको मौरीको जीवाबशेषहरुको पदचिन्हलाई पछ्याउंदै मौरीको उत्पति देखि बिनाशको संघार सम्मको सम्पूर्ण कुराहरुलाई निकै आकर्षक शैलीमा प्रष्ट र स्पष्ट ढंगले बेलीबिस्तार लगाईएको छ। यसै कारणले गर्दा पनि यो प्रदर्शनीमा दिनहुँ स्थानीय पर्यटक देखि विश्वका बिभिन्न देशका अन्तराष्ट्रिय पर्यटकहरुको समेत ओईरो लागिरहेको छ।

मौरीको प्रकृतिसँगै बिज्ञान र प्रबिधि तथा कलाको अनुपम सङ्गममा स्थापित यस कलाप्रदर्शनीले करीब १२० मिलियन वर्ष पहिले देखि अर्थात बाह्र करोड बर्ष पहिलेको युग (जतिखेर पृथ्बीमा डाईनोशरको अस्तित्व रहेको थियो त्यो पुरानो युग) देखि वा प्रारम्भिक क्रेटासियस युग (त्रेता युग(?); Early Cretaceous Epoch) देखि नै मौरीको अस्तित्वको बिकास भएको भनी पुरातात्तिविक प्रमाण सहित अहिले सम्मको मौरीको सारा ईतिवृतान्तहरुलाई अति सरल र प्रभावकारी ढंगले चित्रण गरेको छ।

अर्को शब्दमा भन्नु पर्दा पृथ्वीमा जब फूलहरु फुल्ने बनस्पतिहरुको बिकास हुन थाल्यो, त्यसै बेलादेखि नै बैकल्पिक आहाराको प्रयाप्तताले गर्दा नै विभिन्न प्रजातीको महपार्ने (महको चाका उत्पादन गर्ने) मौरीको बिकास भएको मानिन्छ। प्रदर्शनीले पृथ्बीमा करीब ३० हजार प्रजातीको माहुरीको बिकास भए पनि हाल भने विभिन्न महादेशमा गरी घटेर करीब २० हजार प्रजातिको हाराहारीमा आईपुगेको र यो संख्या घट्दो क्रममा ओरालो लागिरहेको देखाएको छ।

यस प्रदर्शनीमा लाखौं बर्ष पहिलेदेखि पृथ्वीको विभिन्न अनकन्टार जङ्गलहरु तथा अक्करको गुफाहरुमा अल्झिएर सुरक्षित रहीरहेका मौरीका जीबावशेषहरुलाई विभिन्न म्युजियमहरुमा राखिएको तथ्य प्रमाणहरुको रेफरेन्स सहित सचित्र प्रस्तुत गरिएको छ। यसकोलागि बिशेष किसिमको आधुनिक 3D प्रबिधिको समेत संयोजन गरिएको छ।

हावापानी तथा जलबायु परिबर्तनको कारण समय-समयमा परिबर्तन हुने पृथ्बीको तापक्रम तथा बाताबरणलाई आत्मसाथ गर्न नसक्दा त्यही समय बिकास भएको डाईनोसरहरु बिलय भएको मानिन्छ। तरपनि त्यही समय देखिको माहुरीहरु भने आफूलाई बदलिँदो बाताबरणसंगै घुलमिल गर्दै बाँचिरहेकोमा अहिले भने मानव सृजित औधोगिक प्रदुषण तथा हानीकारक किटनाशक औषधी तथा अन्य मानवीय हस्तक्षेपकारी गतिबिधिले गर्दा सारा संसारमा नै मौरीको अस्तित्व धरापमा परेको कुरालाई यस प्रदर्शनीमा रचनात्मक अनि कलात्मक ढंगले देखाईएको छ।

यस प्रदर्शनीलाई क्युरेटर ओल्फ़्ग्याङ्गले मुख्यतया आठवटा रचनात्मक कोठाहरुमा विभाजन गरेका छन् र हरेक कोठाहरुको भिन्दा भिन्दै बिशेषताहरु छन्। प्रदर्शनीको पहिलो खण्ड (सेक्शन) मा मिलिटोलोजी अर्थात सामुहिक जीव माहुरीको उत्पति सम्बन्धी अध्ययन अनुसन्धानको ब्याख्या गर्दै माहुरीको प्राचिन अपत्यारिलो उत्पतिको सिद्दान्तलाई चित्रण गरिएको छ।

यसै खण्डमा निकै सानो किरा भएर पनि ठूलो समूहमा सामुहिक रुपले मिलेर बस्ने अनि एउटै साझा उद्देश्यकोलागि कोशौं टाढा पुगेर काम गर्ने रहस्यमय सामुहिक जीव माहुरीको बारेमा सूक्ष्म रुपले अध्यायन र विश्लेषण गर्दै माहुरीको उत्पति, प्रकृति, विभिन्न महादेशका स्थान र प्रकृति अनुसारको विभिन्न खाले माहुरीको प्रजाती तथा तिनका स्वभाब आदिको बारेमा सरल तरीकाले चित्रण गरिएको छ। तथापि सबै प्रजातिको माहुरीहरु समूहमा नबसी एक्लाएक्लै डुल्ने र कुनैकुनै प्रजातिको माहुरीहरु अझै पनि मांसाहारी भएको तथ्य पनि देखाईएको छ। यस शाखामा माहुरीको उत्पतिको ईतिहास देखि मौरीको सूक्ष्म शारीरिक बनावट (एनाटोमी)लाई चिरफार गर्दै विभिन्न स-साना अङ्गहरुलाई स्पष्ट रुपले छुट्याएर पनि देखाईएको छ।

माहुरीले आफ्नो जिउको कम्पनबाटै कसरी सम्बाद गर्छ भन्ने कुरालाई प्रष्ट्याउनकोलागि आधा शताब्दी अघिदेखि नै जर्मनीको बिश्वबिद्यालयले प्रयोग गर्दै आएको धातुको स्कल्पचरलाई पनि यस प्रदर्शनीको हलमा छुन र अनुभब गर्न मिल्ने गरी राखिएको छ। यो धातुको स्कल्पचरलाई हल्का रुपले छोएमा माहुरीको जिऊमा निरन्तर उत्पन्न भईरहने कम्पन अर्थात् भाईब्रेशनको प्रत्यक्ष अनुभब गर्न सकिन्छ। प्रोफेशर मार्टिनका अनुसार माहुरीको जिऊमा निरन्तर रुपले यस्तै सूक्ष्म किसिमको भाईब्रेशन भई नै रहन्छ र माहुरीहरुले यस्तै कम्पनको माध्यामबाट नै आम संचारको माध्यामले जस्तै सूचनाहरु आदान प्रदान गर्दै आ-आफ्नो जिम्मेवारीको काम गरिरहेका हुन्छन्।

यस हलमा नटिङ्घाम स्थित माहुरीको जीबन्त (लाईभ) घारबाट प्रत्यक्ष प्रसारण गरिएको माहुरीको भुन्भुनाहटको आवाजलाई मिसाएर तयार पारिएको रौनक किसिमको संगीत अर्थात् “साउण्डस्केप” पनि सुन्न सकिन्छ। प्रदर्शनीको हलभरी नै भुन्भुनाई रहेको माहुरीको गुञ्जन तथा बिशेष किसिमको सम्बाद (कम्युनिकेशन) को आवाज अभिछिन्न रुपले भुनुनु-भुनुनु भुन्भुनाउँदै गुन्जी रहेकोले गर्दा दर्शकहरुलाई आफू कुनै माहुरीको घार भित्र नै छु कि क्या हो! भने जस्तै भान हुन्छ।

त्यस्तै यो कक्षमा माहुरीले जहाँपनि स्वतःस्फूर्त किसिमले “गोलो” अर्थात् घार अर्थात् “कोलोनी” बनाएर बस्दै महको चाका पार्न सक्छन् तर मौरीको बासस्थानलाई मानबीय हस्तक्षेपकारी कृयाकलापले गर्दा उनीहरुको ठूलो बिनास हुँदै गईरहेको छ भनी देखाउनलाई माहुरीले केही बर्ष पहिले आश्चर्यजनक किसिमले गोलो बनाएर बसेको एउटा थोत्रो बाद्ययन्त्र – ‘चेलो’ लाई पनि यो सेक्शनमा देखाइएको छ।

माहुरी सम्बन्धी केही बर्ष पहिले बेलायतको नटिङ्गघामसायर कनट्री साईडमा भएको एक अनुसन्धानमा ठूलो सारङ्गी या भाईलिन या गीतार जस्तै देखिने यो बाद्ययन्त्र – ‘चेलो’ को खोक्रो भूँडी भित्र माहुरीले कोलोनाईज गरी गोलो अर्थात् घार बनाएर महको चाका पार्दै बसेकोमा दुईवर्ष पछि नै सबै माहुरीहरु आम रुपले सखाप भई मरेको पाईएको थियो। माहुरीको यस्तो आम बिनाशकारी घटना पछाडिको रहस्य बारे बैज्ञानिकहरुले अनुसन्धान गर्दा आधुनिक कृषि प्रणालीमा प्रयोग भएको कीटनाशक औषधी (पेष्टिसाईड) र कृत्रिम राशायानिक मललाई नै मुख्य दोषी पाईएको थियो।

यसरी मौरीको आम बिनाशमा मानब सृजित कृतिम राशायानिक मल तथा कीटनाशक औषधीको प्रयोग तथा बनजंगलसँगै जङ्गली फूलहरु मासिंदै बाताबरणीय हिसाबले जैविक बिबिधताको अभाब या ह्रास हुँदै गएको कारण मौरी चर्ने चरण अर्थात् वाईल्ड फ्लावर मेडोहरु हराउंदै गएको कुरालाई समेत जीवन्त र ज्वलन्त प्रमाण स्वरुप यो प्रदर्शनीमा माहुरीको भुन्भुनाहटसंगै मिश्रित हृदयबिदारक संगीतले भरेर कारुणिक ढङ्गले प्रस्तुत गरिएको छ। अहिले यो बाद्ययन्त्र एक बिशेष किसिमले माहुरी बिनाशको महत्वपूर्ण माहुरी-शहीद-स्मारक अर्थात् माहुरीको “मृत्यु स्मारक स्कल्पचर” या माहुरीको चिहानको अनौठो प्रतिक बनेको छ, जसलाई यसै प्रदर्शनीको पहिलो कक्ष भित्र राखिएको छ।

यो पहिलो खण्डमा माहुरीको एनाटोमी, माहुरीको बिनाशको कारण र माहुरीको कम्युनिकेशन मात्रै नभई धेरै कुराहरुलाई नयाँ डिजिटल प्रबिधिद्वारा पनि सरल ढंगले सजीव पार्दै देखाईएको छ। पृथ्बीको बिभिन्न भागमा माहुरीको बसाईं सराईं या माईग्रेशनको ईतिहास देखाउनलाई पन्ध्र देखि बीस मिलियन बर्ष या डेढ करोड बर्ष देखि दुई करोड वर्ष पहिले डोमिनिकन रिपब्लिकमा भेट्टाईएको डोमिनिकन मौरीको जिबाबशेषलाई पनि देखाईएको छ। त्यस्तै ४२ मिलियन वर्ष पहिले बाल्टिक क्षेत्रमा पाईएको “द पालियोजिन” एकल प्रजातीको ढेडु मौरीलाई पनि यही भागमा देखाईको छ। त्यस्तै ४२ मिलियन वर्ष पहिले यसै क्षेत्रमा पाईने सामाजिक समूहमा बस्ने तर नटोक्ने/नडस्ने स्टिङ्गलेस मेलिसिटिस ट्रिगोना प्रजातीको माहुरीलाई पनि यो कोठामा नै देखाईएको छ। त्यस्तै यही खण्डमा म्यान्मार (बर्मा) मा पाईएको सय मिलियन अर्थात दश करोड वर्ष पहिलेको मेलिट्टोस्फ़ेक्स बर्मेन्सीस् प्रजातीको माहुरीको जीवाबशेषलाई पनि देखाईएको छ।

त्यस्तै सबै भन्दा महत्वपूर्ण कुरा यो खण्डमा पछिल्लो क्रेटासियस युगमा म्यान्मारमा पाईएको हनटिङ्ग वास्प अर्थात् शिकारी बारुलोलाई पनि देखाईएको छ र यो प्रजातीको मांसाहारी बारुलोलाई नै संक्रमणकालीन अबस्थाको माहुरीको ट्राञ्जिशनल प्रजाती अर्थात् “ट्रान्स” मानिएको छ। बैज्ञानिकहरुले के मानेका छन् भने जब पृथ्वीमा नयाँ खानेकुरा स्वरुप फूल फुल्ने प्रजातिका बनस्पतिहरुको बिकास भयो, तब ती मांसाहारी बारुलाहरु नै चाकारसवाला महपार्ने माहुरीमा परिणत भए। यो कुरालाई पहिलो कोठाको हलमा नै म्युजियममा राखिएको मांसाहारी माहुरीको प्रमाण सहित देखाईको छ।

त्यस्तै विभिन्न महादेशको हावापानी अनुसार भेटिएका माहुरीको विभिन्न किसिमको प्रजाती र उल्लेखनीय रुपले पाईने संख्याको डेमोग्राफीलाई यसै हलमा सचित्र बर्णन सहित देखाईएको छ। यस डेमोग्राफी अनुसार एशियामा सबैभन्दा बढी ८ हजार प्रजातीको माहुरीलाई देखाईएको छ भने युरोपमा यसको आधा जम्मा २ हजार प्रजातीको माहुरीलाई प्रस्तुत गरिएको छ।

त्यस्तै अष्ट्रेलिया महादेशमा जम्मा १ हजार सात ७ सय, नर्थ अमेरिकामा ४ हजार, साउथ अमेरिकामा ७ हजार, अफ्रिकामा २ हजार ५ सय प्रजाती गरी जम्मा २५ हजार २ सय पाईएकोमा अहिले पृथ्बी भरीमा जम्मा २० हजारको हाराहारीमा मात्रै रहेको र यो संख्या ओरालो लागिरहेको बताईएको छ।

यो खण्डमा माहुरीको जिऊको बनावट या एनाटोमीसंगै माहुरीको प्रजनन् प्रणालीको पनि सचित्र बर्णन गरिएको छ। माहुरीको कम्युनिकेशनको सन्दर्भमा रानी मौरीले आफ्नो जिऊबाट एक प्रकारको सेन्ट या अत्तर वा बासना या अंग्रेजीमा यसलाई “फेरोमोन” या अत्तर पनि भनिन्छ हो त्यो जिऊको अत्तरलाई हावामा छर्छ र हावामा फैलिएको रानी मौरीको जिऊको त्यही सुगन्धित अत्तर या बासना (फेरोमोन)लाई पछ्याउँदै अरु माहुरीहरुले आफूहरु कुन दिशातिर उड्ने भन्ने पत्तालगाउँछ।

त्यस्तै माहुरीहरुले कम्पनको सम्बादद्वारा आफ्नो क्रियाकालापलाई जारी राख्ने गर्छ। माहुरीहरु ठूलो बथानमा बसेतापनि रानु माहुरीले मात्रै फूल अर्थात अण्डा पार्ने गर्छ। अरु माहुरीले रानी माहुरीको जिऊबाट निस्कने अत्तर वा सुगन्ध या फेरोमोनलाई सुघ्दै पिछा गर्छन र यसरी नै नयाँ बासस्थानको खोजीमा पछि लाग्ने गर्छन्। कहाँ बास बस्ने भन्ने चाहिं रानी मौरी टाढाटाढा सम्म एकैचोटी एउटै उडानमा जान नसक्ने हुनाले रानी मौरी जता गएर बास बस्यो त्यसैले नै सामान्यतया अरु माहुरीहरुले पछ्याउँदै र घेरा हाल्दै बासस्थानको रुपमा निधो गरी बस्न थाल्छन्।

यसै कक्षमा माहुरीको क्षणिक प्रजनन् को क्रियाकलापलाई पनि अति आकर्षक शैलीमा प्रस्तुत गरिएको छ। एउटा खण्डमा भाले माहुरीहरुले कसरी रानु पाउनलाई एक आपसमा प्रतिस्पर्धा गर्छन् भनेर मौरीहरु बिचको लडाईंलाई रमितैसंग देखाईएको छ। यो लडाईंमा जसरी रग्बी खेलका खेलाडी मान्छेहरुले आफ्नो प्रतिस्पर्धीको हातबाट बल खोस्नलाई झुम्मिएर लड्छन्, त्यसैगरी भाले मौरीहरुले पनि रानु पाउनलाई गर्ने गरेको प्रर्तिस्पर्धालाई बढो रोमाञ्चकारी ढंगले देखाईएको छ। यसलाई माहुरीको “माईटिङ्ग बल” भनिन्छ। त्यसपछिको अर्को सेलमा माहुरीले कसरी यौन आकर्षण गर्छ भन्ने पनि देखाईएको छ।

अर्को ईण्टऋयाक्टिभ स्क्रीनमा भाले मौरीले आकाशमा उड्दा-उड्दै रानु माहुरीसंग सम्भोग गर्दै आफ्नो जिऊको तल्लो भागको टुँडो या माहुरीको ‘आरो’ लाई मज्जाले रानुको जिऊमा मज्जाले पचाएको देखाइन्छ। अनि यसरी आकासे पिरती गाँसी सकेपछि भाले माहुरीको हलोको टुँडो अर्थात् आरो रानुको पछाडिको जिऊमा पूरै अड्किन्छ र भालेको आधी ज्यानको ठुटो मात्रै पातालमा झरेर आफ्नो ईहलीला समाप्त पार्छ। यो क्रम माहुरीको एउटा जीबन चक्रमा एकचोटी मात्रै हुन्छ।

एक अर्को अध्यायनले के बताउँछ भने माहुरी सरदार ४० दिन बाँच्छ तर यो अबधिमा एउटा माहुरीले हजारौं कोष टाढा पुगेर लाखौं फूलहरुको रश चुस्दै करीब एक चम्चा जति मह जम्मा पार्छ। मान्छेकोलागि जम्मा एक चम्चा मह भएतापनि माहुरीकोलागि भने यो उसको जिन्दगीभरीकै कर्म पछि प्राप्त उपलब्धी हो। यसै अबधिमा एउटा भाले माहुरीले एक चोटी मात्रै रानु माहुरीसँग आकासमा उड्दा-उड्दै पिरती गाँस्ने मौका पाउँछ र यसको लगत्तै उसको जिन्दगीको खेल नै समाप्त हुन्छ। जम्मा केही दिन बाँचे पनि माहुरीले सेक्सकोलागि मरिहत्ते गर्दै कसरी पिरती गाँस्छ र आफ्नो जिन्दगीको ईहलीला समाप्त पार्छ भन्ने कुरालाई यो प्रदर्शनीमा स्पष्टसँग ईण्टर्याक्टिभ स्क्रीनको सहाराले देखाईएको छ र दिनहुँ यो दृश्यलाई धेरै दर्शकहरुले टक्क अडिएर आँखै नझिम्क्याईकन हेरिरहेका भेटिन्छन्।

यसै खण्डमा माहुरीको प्रजाति मात्रै नभई बिभिन्न किसिमका माहुरीहरुको वर्ग तथा तिनको श्रम विभाजनको कुरालाई पनि देखाईएको छ। जस्तै सिकर्मी माहुरीले बनस्पतिको पात काटेर ल्याउने, डकर्मी माहुरीले गोलो (चाका) बनाउने, रानीले महत्वपूर्ण भूमिका खेल्दै फूल पार्ने बगाल बढाउने, अर्को थरी ज्यामी बर्गका माहुरीहरुले फूलको रस चुसेर खाना ओसार्ने, जम्मा पार्ने र रानीलाई मिठो मिठो व्यंजन बनाएर दिने ईत्यादि कामहरु।

त्यस्तै सामूहमा बस्न मन पराउने माहुरीहरुले बर्षको एक देखि दुई चोटी सम्म आफ्नो जनसंख्या अनुसार अर्को समुह छुट्याएर गोलो सार्ने पनि गर्दछ। यसलाई कलाकारले “स्वार्म” कक्षमा आकर्षक तरीकाले देखाएका छन्। यस्तो एक बथान माहुरीमा करीब ३० हजारसम्म माहुरीहरु मिलेर बस्ने गर्दा रहेछन्।

प्रदर्शनीको यही पहिलो कक्षमा नै माहुरीको स्मरण शक्तिको बारेमा प्रोफेसर लार्स चित्त्काद्वारा गरिएको रिशर्चको नतिजा पनि देखाएको छ। प्रोफेसर चित्त्काले राडारको प्रयोग गर्दै गरेको परिक्षणमा माहुरीले ४ घण्टा सम्म घुमेर आफ्नो बासस्थान वरपरको बाताबरणको स्मरण गर्ने गर्दछ भन्ने तथ्य लाई पनि यसै कक्षमा समेटिएको छ। यसै गरी माहुरीले केही समय पहिले देखि नै फूल फुल्ने स्थान र आफू चर्ने सम्भावित फिल्डको समेत “रेकी” गर्ने तथ्यलाई पनि यही देखाईएको छ। प्रोफेसर चित्त्काको अनुसन्धानले माहुरीले आफूले पहिले हेरेको फिल्डलाई ११ दिन पछि पनि सम्झिन सकेको पाएको कुरा यसै प्रदर्शनीको सोही कक्षमा हेर्न सकिन्छ।

यसैगरी प्राचीन यूगमा करौडौं बर्ष पहिले डाईनोसरहरुसँगै माहुरीहरुको पनि अस्तित्व थियो भन्ने प्रमाणहरु यसै कक्षमा हेर्न सकिन्छ। डाईनोशरहरुले विभिन्न कालखण्डमा पृथ्बीको बाताबरणमा आएको परिबर्तन अर्थात् जलबायू तथा हावापानीको परिबर्तनसँगै आफूलाई समायोजन गर्दै युग अनुसार बदलिन नसक्दा तिनीहरु मासिएको कुरा डाईनोशर सम्बन्धी अध्यायन गर्ने बैज्ञानिकहरुको अनुसन्धानबाट बुझ्न सकिन्छ।

यसरी पछाडी फर्किएर हेर्दा डाईनोसरकै युगदेखि आजको युगसम्मको त्यत्रो लामो समय अबधिसम्म हाम्रो पृथ्बीमा बाँचीरहेको मौरीहरुको अस्तित्व भने अहिले सम्म नै देख्न सकिन्छ। तर अहिले आधुनिक युगमा आएर भने मानवहरुको असिमित लोभ तथा चरम लाहापर्बाही अनि अज्ञानताको कारणले मौरीको अस्तित्व सङ्कट परिरहेको कुरालाई यसै प्रदर्शनीमा नै देखाईएको छ।

यसरी प्रकृतिको अनियन्त्रित किसिमको दोहन र अचाहिँदो हिसाबले भईरहेको औधोगिक उत्पादर र प्रदुषणको कारणले गर्दा, यो सारा पृथ्वी जगतमा, अहिले सम्म बाँचिरहेका अरु पूरै जीवहरुको अस्तित्व सहित पूरै पृथ्बीको भबिष्य नै सङ्कटमा पर्दै गईरहेको तथ्यलाई यो प्रदर्शनीमा अत्यान्तै प्रभावकारी ढंगले देखाईको छ।

“मिलीटोलोजी” अर्थात् मौरीको सूक्ष्म किसिमको बैज्ञानिक अध्यायन अनुसन्धानको आधारमा – प्रकृति, कला र आधुनिक प्रबिधि समेतको एकैचोटी एउटै सङ्गम बिन्दु र संयोजनमा तयार पारिएको यस बृहत कला प्रदर्शनीमा दिनहुँ सयौंको संख्यामा आएका दर्शकहरुले म्युजियमको प्रदर्शनी हल खचाखच भरिएको छ। प्रदर्शनी हेरी सकेपछिको अनुभब बारे दर्शकहरुको प्रतिकृया सुन्दा – ओल्फग्याङ्ग सृजित यो प्रदर्शनी अहिले सम्मकै अनुपम र उत्कृष्ट शैलीको कला प्रदर्शनी हो भन्ने लाग्छ। प्रसिद्द स्कल्प्टर कलाकार ओल्फग्याङ्ग बट्रेसले यस अघि सन् २०२५ मा लण्डनको क्यू गार्डेनमा “द हाईभ” अर्थात् मौरीको घार नामको नौलो आयामको स्कल्प्टर कलाको अपार सफलता पूर्बक प्रदर्शन गरीसकेका छन्।

सबैभन्दा रहस्यमय तथा आश्चर्यको कुरो त के छ भने यस प्रदर्शनीले, अहिलेको मह पार्ने मौरीका प्रजातिहरु अर्थात् हनी (Honeybee)हरु पहिले मांसहारी बारुलाका या अरिङ्गालको प्रजातीबाट रुपान्तरित भएको हो भन्ने कुरा पुरातात्त्विक प्रमाणको आधारमा नै देखाएको छ। यसको साथै यो प्रदर्शनीले एउटा मांसहारी प्राणीलाई कसरी प्रकृतिले फूलको मिठो रस र बासनाको प्रभाबमा पारी त्यसको क्रुर स्वभाबलाई नै रहस्यमय किसिमले बदल्न सक्छ अनि त्यसरी बदलिएको प्राणी माहुरीले फेरी कसरी आफैं संसारलाई नै लठ्याउने गुलियो मह उत्पादन गर्न सक्दो रहेछ भन्ने कुराको बर्णन आश्चर्य लाग्दो र पत्याउनै नसकिने किसिमले गरेको छ।

अहिले सम्मकै अनौठो किसिमको यो प्रदर्शनी प्रतिष्ठित कलाकार ओल्फग्याङ्ग बट्रेसको र नेशनल म्युजियम लिभरपुलको ईण्टोमोलोजी (entomology) बिभाग (जीव बिज्ञान शाखा) को संयुक्त सहकार्यमा देखाईएको हो। ओल्फग्याङ्ग एक ख्यातिप्राप्त स्कल्प्टर आर्टिस्ट पनि हुन्। यस प्रदर्शनीको मुख्य कलाकार समेत रहेका ओल्फग्याङ्गले यस अघि नै लण्डनको क्यू गार्डेन भित्र “द हाईभ” नामको बिशाल मौरीको घार जस्तै आवरणको आधुनिक स्कप्चर कलाको सफल प्रदर्शन समेत गरिसकेका छन्। नेशनल म्युजियम लिभरपुल श्रोतका अनुसार कलाकार ओल्फग्याङ्ग बट्रेशले यसपछि यो प्रदर्शनीलाई अमेरिकामा बिस्तार गर्ने तयारी गरिरहेका छन्। लण्डनमा ओल्फग्याङ्गको प्रदर्शनी हेरिसकेका कतिपय कलाका पारखी फ्यानहरुले अमेरिकामा पनि उनको प्रदर्शनीलाई पछ्याउने सम्भाबना देखिएको छ।

माहुरी सम्बन्धी अनौठो यो प्रदर्शनीको अर्का सहयोगी प्रोफेशर मार्टिन बेन्क्सिक हुन्। प्रोफेशर मार्टिन “मिलिटोलोजिस्ट” अर्थात् हनीबी (महको चाकापार्ने मौरी) सम्बधी शोधकर्ता तथा मौरीको बैज्ञानिक अध्ययन र अनुसन्धान सम्बन्धी नटिङ्घाम युनिभर्सिटीका प्राज्ञ हुन्। उनी यस प्रदर्शनीको मुख्य प्राबिधिक समेत हुन्। क्युरेटर ओल्फग्याङ्ग तथा प्रोफेशर मार्टिनका अनुसार माहुरीको संचार शैली र कामगर्ने शैली एक अद्भूत किसिमको हुन्छ। त्यस्तै माहुरीको चाकाको आकार तथा निर्माण शैली या वास्तुकला अर्थात् आर्किटेक्चर (ईञ्जिनियरिङ्ग) डिजाईन अति नै जटिल किसिमको तर कलात्मक खालको हुन्छ। बास्तबमा मेहनती र गुणी मौरीहरुको समूहमा मिलेर खुरुखुरु काम गर्न सक्ने सामुहिक स्वभाब अनि तिनीहरुको आर्किटेक्चर (ईञ्जिनियरिङ्ग) डिजाईन मानब समुदायको बिकास र निर्माणको निम्ति पनि प्रेरणादायी श्रोत नै मानिन्छ। तर तिनै माहुरीहरुको बासै उठाउने र अस्तित्व नै धरापमा पार्ने मान्छेहरुको बैगुनी काम भने निन्दनीय छ भन्ने कुराको बोध यस प्रदर्शनीले गरिरहेको छ।

प्रदर्शनीको दोश्रो कक्ष अलिक अँध्यारो कोठामा आधुनिक साउण्ड ट्रयाक सहितको श्रब्य-दृश्य (अडियो-भिजुअल) तथा होलोग्राम अनि भोक्सोन प्रबिधी तथा स्ट्रोब लाईटको मिश्रण गरी प्रतिकृयात्मक (ईण्टर्याक्टिभ) प्रणाली समेत जडान गरी माहुरीलाई थ्रीडी प्रोजेक्टरमा देखाईएको छ। यस कक्षलाई ओल्फ़्ग्याङ्गले पोर्टल भनी नामाकरण गरेका छन्। पोर्टलको मतलब संक्रमणकालिन स्थिति हुन्छ जुन एकदमै नाजुक र निकै अन्यौलपूर्ण अनि जटिल किसिमको हुने कुराको संकेत गर्न जानी जानीकन नै यो कोठालाई अलिक असजिलो र अँध्यारो पारिएको कुरा प्रोफेशर मार्टिन बताउँछन्।

त्यसपछि तेश्रो कक्ष “मिडो” शुरु हुन्छ। यसमा कलाकारले जंगली फूलहरुले हरेक दिनको चारै प्रहर (बिहान, दिउँसो, साँझ र रात्री कालीन)लाई विभिन्न रङ्गले संकेत गर्दै यस्तो प्राकृतिक सुन्दरताले भरिभराऊ पार्ने जङ्गली फूलहरु पृथ्बीबाटै मासिंदै गएमा के होला त ? भनी दर्शकहरुको भाबनालाई घच्घच्याएका छन्। उनले जंगली फूलहरु मासिएमा कृतिम फूलहरु नक्कली सजावटको बट्टामा मात्रै सिमित हुन्छ भन्ने कुरालाई दर्शकहरुलाई कलात्मक तर व्यंग्यात्मक किसिमले ऐनाको वरिपरी राखेर देखाएका छन्।

यसपछि चौथो कक्ष “बी-हाईभ” शुरु हुन्छ। कलाकारले युरोपतिर पाईने पुरानो मौरीको घार (स्केप) देखाउंदै दर्शकहरुलाई खुरुखुरु अगाडी डोहोर्याउँछन् र एक्कासी माहुरीको एकदमै ठूलो घारको जस्तो देखिने टनेल भित्र हुल्छन्। त्यहाँ उनले दर्शकहरुलाई माहुरीको घार भित्र धमाधम हुने सम्बाद सहितको कामलाई सुनाउँदै बढो राम्ररी देखाउँछन्। यहाँ कलाकारले अनुपम सङ्गीत भर्दै आधुनिक प्रबिधिको सहाराले माहुरीको घारको जटिल बनावट सहितको प्राकृतिक वास्तुकला (ईञ्जिनियरिङ्ग), त्यसभित्र हुने माहुरीको पूरै जीबन चक्रको ४ अबस्था अर्थात् कसरी एउटा फूलबाट लार्भा, प्युपा हुँदै बयस्क माहुरी बनेर निस्कन्छ भन्ने जटिल कुरालाई पनि स्पष्ट किसिमले पर्दामा उतारेर देखाएका छन्।

कलाकारले यसै टनेल अर्थात् माहुरीको घार (बी-हाईभ) भित्रको अनौठो किसिमको आवाज सहितको संबादलाई दर्शकले आफ्नै च्यापुले छोएर अनुभब गर्न सक्ने गरी राखेका पनि छन्। त्यस्तै उनले माहुरी र फूलको अनौठो सम्बन्धलाई पनि अत्यन्तै आकर्षक शैलीमा देखाएका छन्। माहुरीले फूललाई मात्रै नपछ्छ्याई फूलले पनि माहुरीलाई आफ्नो लजालु रुप र रङ्ग देखाउंदै अनि बास्ना समेत छरेर लोभ्याउने कुरा अति अनौठो किसिमले पर्दामा उतारेर नै देखाएका छन्। फूलले पोथी (रानु) माहुरीको जस्तै बनावटको जिऊडाल तथा रङ्ग र रुप देखाएर अनि रानु मौरीकै जस्तै अत्तर बास्ना अर्थात् “फेरोमोन” हावामा छरेर भाले मौरीलाई आकर्षित गर्ने कुरा अनुपम मधुर संगीत तथा भिडियोको संयोजन मार्फत देखाईएको छ। टनेल अर्थात् होक्लो जस्तो लाग्ने यसै बृहत मौरीको घार (बी-हाईभ) भित्र नटिङ्घामसायर स्थित माहुरीको जीवन्त घारको भुन्भुनाहट आवाजलाई लाईभ बोर्ड्कास्टिङ्ग मार्फत रिमिक्स गर्दै कलाकार ओल्फ़्ग्याङ्गको सङ्गीत टोलीले अत्यन्तै उत्कृष्ट शैलीको संगीत कम्पोज गरी प्रस्तुत गरेका छन् जुन यो भन्दा पहिले कहिल्यै सुनिएको थिएन।

हाल मानब समुदायकै लाहाप्रबाहीले माहुरी मात्रै नभई माहुरी केन्द्रीत पृथ्बीको सारा ईकोसिस्टम नै तहस-नहस हुने संघारमा आईपुग्दा यसै बिषयबस्तुमा आधारित भएर कलाकारले यो प्रदर्शनीको आवरणको कल्पना गरेको बिश्वास गरिन्छ। आधुनिक प्रबिधिले भरिपूर्ण यो कला प्रदर्शनी हल भित्र छिर्दा आफैं नै ठूलो मौरीको घार भित्रको चाका भित्र पसी सूक्ष्म किसिमले मौरीको दिनचर्यालाई चियोचर्चो गर्दै नियाली रहेको भान हुन्छ। कलाकार ओल्फग्याङ्गले प्रकृतिको सुन्दर रुप, अद्भूत क्षमता र कला अनि आधुनिक प्रबिधिको सङ्गमलाई यो एउटै प्रदर्शनीले मात्रै सम्भब बनाएको बताएका छन्। यस अघि कसैले पनि यस्तो नगरेको र यसरी नदेखाएको उनको दाबी छ।

यो प्रदर्शनीमा कलाकार ओल्फग्याङ्गले बाताबरण बिनाशको डाटा सहितको बिभिन्न प्रमाणहरुलाई समेट्दै – माहुरीको बिनाश नै पृथ्बीको बिनाशको सूचक हो भन्ने तथ्यलाई जबर्जस्त ढंगले सार्बजनिक गरेका। किनकि मानब लाहापर्बाही तथा अतिक्रमणबाट प्राकृतिक शोर्ट र साधन अनि बन जङ्गलको बिनाश भईरहेको छ र यो सँगै जंगली फूलहरु पनि मासिंदै गएका छन्। “भ्यानिसिङ्ग” शिर्षकमा सन् १९३० देखि यता मानवीय अतिक्रमणबाट बेलायतमा मात्रै ९७% जंगली फूलहरु अर्थात् “मिडो” मासिएको तथ्यलाई औंल्याउँदै ओल्फग्याङ्गले दर्शकहरुलाई एउटा कहाली लाग्दो र अँध्यारो कक्षमा पुर्याउँछन्।

उनले दलीन माथी सुकेका जङ्गली फूलहरुलाई आकर्षक तरीकाले सजाउंदै यी जङ्गली फूलहरु लोप हुनु भनेको माहुरी मास्सिनु हो र माहुरी मास्सिनु भनेको फलफूल तथा बालीबिरुवा लगायत सम्पूर्ण खेतीपातीको परागशेचन नै नहुनु हो, परागशेचन नै नभएपछि अन्तत्वगत्वा खाद्य संकट परेर मानब अस्तित्व लगायत त्यसमा आश्रित अन्य पशुपंक्षी जनावर आदि सबै मासिंदै जानेछन् र अन्ततोगत्वा पृथ्बीको सारा ई-को सिस्टममा नै गडबडी भएर अहिले सम्मकै पूरै सभ्यता नै नासिन सक्ने बलियो प्रमाणलाई ओल्फग्याङ्गले शिलशिलाबद्द किसिमले छर्लंगैसँग औंल्याई दिएकाछन्।

ओल्फग्याङ्गका अनुसार माहुरीकै मध्यस्तताबाट “पोलिनेशन” कार्य अर्थात् बोटबिरुवाहरुको भाले परागकण र पोथी परागकणको मिलन सम्भब हुने गर्दछ र यसैबाट बोटबिरुवाहरुमा फल लाग्ने हुन्छ। उनको प्रदर्शनीमा देखाईएको एउटा प्रमाण अनुसार विश्वभर ७५% भन्दा बढी बालीनालीहरु माहुरीकै यही परागशेचन कार्यको मध्यस्तताबाट मात्रै सम्भब भईराखेको छ र यदि माहुरी मासिने हो भने यो क्रम ठप्पै रोकिएर विश्वभर खाद्य सङ्कटको हाहाकार निम्तनेछ। यसो भएपछी पृथ्वीको जैविक बिबिधता तथा ईकोसिस्टम नै बिग्रिएर भङ्गभई उथलपुथल हुन्छ।

अन्तिमको खण्डमा यो प्रदर्शनीले मौरी र बनस्पतिको फूलको पराग शेचनलाई हावामा उडिरहेको बनस्पतिको परागकणहरुसँग दाँज्दै ईण्टर्याक्टिभ स्क्रीनको सहाराले हरेक मानब शरीर पनि यो ब्रम्हाण्ड संसारकोलागि एउटा उडिरहेको परागकण सरी सूक्ष्म र अत्यन्तै अस्थिर भएको र हामी मानवहरुले पनि मौरीहरु जस्तै स-साना जीवजन्तुहरुलाई आफू जस्तै समान मान्दै तिनीहरुको अस्तित्वलाई पनि उत्तिकै महत्व दिएर रक्षा गर्नुपर्ने पाठ सिकाईएको छ।

अझै भन्नु पर्दा यस प्रदर्शनीले पृथ्वीमा मौरीहरुले नै केन्द्रीय भूमिका खेल्दै बनस्पति बनस्पतिहरु बिचको परागशेचनलाई सकृय पार्दै सारा पृथ्वीका जन्तुहरुलाई खाना खुवाउँदै बाताबरणलाई स्वच्छ, स्वस्थ र सन्तुलित किसिमले हराभरा बनाउन समेत सफल भएको र ईको सिस्टमलाई पनि नियन्त्रण गरेको छ। यो प्रदर्शनीले मौरीको केन्द्रीय तथा महत्वपूर्ण भूमिकालाई प्रकाश पार्दै सम्पूर्ण विश्व समुदायलाई “मौरी छैन त, संसारै छैन” भन्ने संदेश दिन पनि खोजेको छ।

साच्चै भन्नु पर्दा यस प्रदर्शनीले लाखौं वर्ष पहिले पृथ्बीमा फूल फूल्ने बनस्पतिको बिकास भए देखि नै मौरीको पनि उत्थान र विकास भएको र त्यसै बखत देखि माहुरीले पृथ्बीको जैविक बिबिधतामा महत्वपूर्ण भूमिका खेल्दै आएको र मानब सभ्याताको बिकाससंगै मानब समाजकोलागि अभिन्न आहार बन्दै आएतापनि अहिले आएर आधुनिक युगको चरम बिकाससंगै त्यही मानब जातीको गैह्र जिम्मेवारपूर्ण कृयाकलाप तथा चरम लाहापर्बाही र बेहोसीकै कारणले माहुरीको बिनाश हुँदै गएको र त्यो अबस्था संगै पृथ्बीको बाताबरण नाश हुँदै जम्मै सभ्याताको नै तहसनहस हुन लागेको कुरा स्पष्टैसंग देखाईरहेको छ।

~रुद्र ढकाल
वर्ल्ड म्युजियम, लिभरपुल
(नोट: यो लेखका स्तम्भकार रुद्र ढकाललाई वर्ल्ड म्युजियम लिभरपुलको यस प्रदर्शनीमा भेट्न सकिन्छ।)
Source Reference: https://www.liverpoolmuseums.org.uk/whatson/world-museum/exhibition/bees-story-of-survival