टुकुचा व्यवस्थापनमा अन्योलता, महानगरले पारेका खाल्डा अलपत्र

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले भत्काएर छाडेको टुकुचालाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे अन्योल भएको छ ।

पुरातत्व विभाग र महानगरले टुकुुचा संरक्षण सम्बन्धमा चासो नदिँदा महानगरले टुकुचाका चार स्थानमा पारेका खाल्डा अलपत्र छन् ।

टुकुचा खाली गर्ने नाममा महानगरले चार स्थानमा भत्काएको थियो । उच्च अदालत पाटनको अन्तरिम आदेशपछि थप खाल्डा बनाउन महानगर पछि हटेको थियो । त्यसयता महानगर टुकुचा व्यवस्थित पार्नेबारेसमेत मौन छ ।

यता, पुरातत्व विभागले दसैँअघि नै पुरातत्व अधिकृत भास्कर ज्ञवालीको संयोजकत्वमा अध्ययन टोली खटाए पनि टोलीले अझै अध्ययन गरिसकेको छैन ।

काठमाडौं महानगरले टुकुचाको ठाउँ–ठाउँमा खनेर डुँड भत्काएपछि विभाग त्यसको अध्ययनमा जुटेको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।

काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले भत्काउने वा अघि बढ्नेबारे कुनै योजना नबनेको बताए ।

‘हामीले टुकुचा कहाँनेर छ भनेर खोजेका थियौँ, ठाउँ पत्ता लाग्यो, ऐतिहासिक क्षेत्र भन्ने आइरहेकाले त्यसलाई अब महानगरले भत्काउँदैन,’ उनले भने ।