अहिले गाली खान तयार छु, तर ५० वर्ष ताली खानेगरी काम गर्छु : मेयर बालेन

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले आफूहरू तत्काल नदेखिने तर दिगो प्रभाव पर्ने काममा जुटिरहेको बताएका छन्। काठमाडौंको फोहोरका सन्दर्भमा पनि दिगो समाधानका लागि धैर्यता लिइरहेको उनको भनाइ छ।

पोखरामा भएको महानगरका मेयर-उपमेयरको सम्मेलनमा उनले फोहोर व्यवस्थापनसहितका काम बिस्तारै गर्दै जाने बताए। साहले फोहोर व्यवस्थापनको दीर्घकालीन व्यवस्था खोज्न केही समय कुरिरहेको बताए। उनले बरु एक वर्ष गाली खाने तर उपत्यकालाई थप बिग्रिन नदिने बताए।

‘अहिले पनि तुरुन्तै दुई/पाँच अर्ब खर्च गरेर मेसिन ल्याउने हो भने फोहोर व्यवस्थापन गर्न सकिन्छ। तर, त्यो दिगो समाधान होइन,’ उनले भने, ‘हामीले गाली खाइखाइ फोहोर व्यवस्थापनका लागि किन समय कुरेको भन्दा हामीलाई तुरुन्तै हुने तर दीर्घकालीन नहुने व्यवस्था चाहिएको छैन। यस्तो चीज चाहिएको छ कि भोलि ३०/५० वर्ष पछाडि पनि हाम्रो छोराछोरीले हामीलाई बाउ बाजेले देश बिगारे भनेर गाली नगरुन्।’

एक वर्ष नदेखिने काम गरेर महानगरवासीको गाली खान तयार रहेको उनले बताए। साहले भने, ‘अहिले महानगरले गरेको काम तत्काल नदेखिए पनि नदेखियोस्, तर ५० वर्ष पछिसम्म टिकोस्। हाम्रो बुझाइ के छ भने काम बरु नदेखियोस्, तर सधैँका लागि होस्। हामी नआत्तिइकन गर्छौं। हामी एक वर्षसम्म महानगरवासीबाट गाली खान तयार छौं। तर हामीले महानगर राजधानीलाई जोगाउनुपर्छ।’

साहले कम्तीमा आठनाभन्दा तल घर बनाउनै नदिएको भए काठमाडौंमा पानी रिचार्ज सम्भव हुने बताए।’मिनिमम आठाना भन्दा तल घर बनाउन नदिएको भए पानी रिचार्ज गर्न सकिन्थ्यो। तर पनि हामी पानी रिचार्जलाई हामी बढाउँछौं,’ उनले भने, ‘ढल निर्माण भइरहेको छ। तर त्यही ढलमा वर्षाको पानी मिसाउनु हुँदैनथ्यो। पानी पनि ढलमै हालिदिँदा रिचार्ज हुनै पाएन।’