शर्मालाई अर्थमन्त्रीमा पुनर्नियुक्ति दिनु जनताको संवेदनशीलताको अपमान : ज्ञवाली

ज्ञवालीले संसदीय समितिको छानबिन नै अपुरो रहेको र गम्भीर आरोपमाथि पर्याप्त मात्रामा छानबिन हुन नसकेको बताए ।
‘अध्ययन नै अधुरो रहेको हो र जानीबुझी अध्ययनलाई अपुरो बनाइएको हो । अनुसन्धानलाई गहिराईमा पुग्नै दिइएन र पर्याप्त मात्रामा टुल्सहरु प्रयोग गर्न नपाएकोले धेरै प्रश्नहरु नै अनुत्तरित छ,’ ज्ञवालीले भने ‘अनधिकृत व्यक्ति प्रवेश गरेको हो कि होइन त्यो अनुत्तरित छ । होइन भन्ने आधारहरु छैन । अरु परिस्थितिजन्य कारणहरुले अनधिकृत व्यक्ति आएको हो भन्ने प्रस्टसँग देखिन्छ । त्यसका लागि प्रमाण नै चाहियो र थप अनुसन्धान जरुरी हुन्छ । गम्भीर प्रश्न उठिसकेपछि पनि फेरि सम्बन्धित पार्टी र प्रधानमन्त्रीले पुन: त्यसी ठाउँमा फर्काउनु भनेको नेपाली जनताको संवेदनशीलतालाई अपमान गरेको ठान्दछु ।’

ज्ञवालीले शुक्रबार संसद्‍मा प्रस्तुत भएको प्रतिवदेनमा धेरै कुरा भनिसकेका बताए । बजेट निर्माणको क्रममा अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश दिएको विषयमा सार्वजनिक भएपछि असार २२ मा सभामुख अग्निप्रसाद सापकोटाले संसदीय विशेष समिति गठन गरेका थिए । ११ सदस्यीय समितिमा एमालेबाट प्रतिनिधित्व गर्ने ज्ञवालीसहित ४ जना सांसदहरुले अनुसन्धान अधुरो रहेको भन्दै फरक मत राखेका थिए ।

गत शुक्रबार समितिले प्रतिनिधिसभामा प्रतिवेदन पेस गरेको थियो । छानबिन समिति गठन भएपछि राजीनामा दिएका शर्मालाई आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा नियुक्त गरेकी छन् ।