प्रेस काउन्सिलमा ऋषि धमलाले लिए पत्रकार आचारसंहिताको कक्षा

काठमाडौं। पत्रकार ऋषि धमलाले शुक्रबार प्रेस काउन्सिल पुगेर पत्रकार आचारसंहिताको कक्षा लिएका छन्। काउन्सिलले सुरु गरेको नयाँ अभ्यासअनुसार आचारसंहिताको कक्षा लिने धमला पहिलो पत्रकार हुन्।

जहाजभित्रबाट टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरेर विवादमा आएका धमलाले प्रधानमन्त्री चढेको जहाजभित्र कर्मचारीहरुसँग हुलहुज्जत गरेका थिए।

यस विषयमा काउन्सिलले धमलालाई स्पष्टीकरण सोधेको थियो। धमलाले दिएको जवाफपछि काउन्सिलले उनलाई एकदिनको अभिमुखीकरण कक्षामा सहभागी गराउने तथा आइन्दा आचारसंहिताविपरीतका हर्कत नदोर्होयाउन सचेत गराउने निर्णय गरेको थियो ।

पहिलो निर्णयअनुसार शुक्रबार धमलालाई अभिमुखीकरण कक्षामा सहभागी गराइएको हो। उक्त कक्षामा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, पूर्वअध्यक्ष गोपाल बुढाथोकी, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, पूर्वअध्यक्षहरु तारानाथ दाहाललगायतले पत्रकार आचारसंहिताबारे धमलालाई पढाएका थिए। धमलाले अरुलाई पनि पत्रकार आचारसंहिताबारे बुझाउने बताए।