प्रधानमन्त्री देउवाको भारत भ्रमणः चुच्चे नक्सा नै पारियो गायब, नेपालीहरु बने आक्रोशित

नयाँ दिल्ली । प्रधानमन्त्री शेर बहादुर देउवा ३ दिने भारत भ्रमण सकेर आइतबर स्वदेश फर्किदैछन् । उनी स्वेदश फर्किनुअगावै नेपालीहरुलाई आक्रोशित बनाउने खबर सार्वजनिक भएको छ । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा नेपालको चुच्चे नक्सा गायब पारिएको छ । राजदूतावासले पुरानै नक्सा प्रयोग गरेको पाइएको छ ।

दूतावास कार्यालयमा नेपाल प्रेसको भ्रमणका क्रममा यो तथ्य भेटिएको हो । दूतावासको मूल भवनमा रहेको रिसेप्सनमा राखिएको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र छैन । दूतावासका कर्मचारीहरु प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणका कारण व्यस्त रहेकाले यो विषयमा प्रतिक्रिया लिन सकिएन् ।

नेपालले २०७६ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सा सार्वजनकि गरेको थियो । त्यसपछि संविधान संशोधन गर्दै नक्सा मानचित्रमा समावेश गरिएको थियो ।

त्यसपछि सरकारले मातहतका सबै निकायमा नयाँ नक्सा राख्न निर्देशन दिएको थियो । यो निर्देशनको करिब तीन वर्षसम्मपनि दूतावास कार्यालयले नक्सा नफेरेको पाइएको छ । नेपालले नक्सामा समावेश गरेपनि लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र भारतले कब्जा गरेर राखेको छ ।

प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणका क्रममा समकक्षी मोदीसँग सीमा समास्या समाधानका विषयमा छलफल भएको बताएका छन् । शुक्रवार साँझ मात्रै प्रधानमन्त्री देउवा दूतावासमा आयोजित समारोहमा सहभागी भएका थिए ।