माओवादीको लागि भोट माग्न सकिँदैन : शेखर कोइराला

पोखरा। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको गठबन्धनले मूर्तरूप नलिने बताएका छन्। प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा कोइरालाले विचार नै नमिल्ने दलबीचको गठबन्धनले सोजे जस्तो नतिजा नदिने बताए।

‘निर्णय कार्यान्वयन गर्न अत्यन्तै गाह्रो छ। विचारै नमिल्ने पार्टीसँग तालमेल गरेर जानुपरेको छ। गर्ने त भनिदियो तर कसरी ?,’ उनले भने, ‘अघिल्लो पटक जुन जुन पार्टीले जितेको छ, त्यो ठाउँमा सोही पार्टीलाई दिने र एमालेले जितेको ठाउँमा दोस्रो पार्टीलाई दिने प्रस्ताव प्रचण्डजीले गर्नु भो। पाँच सय ८५ पालिका काँग्रेसलाई दिन सक्नुहुन्छ ?’

कोइरालाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन र भरतपुरलाई मात्रै हेरेर गठबन्धन प्रस्ताव पनि दाबी गरे। ‘हामी तीन सय १९ पालिकामा दोस्रो छौँ। दुई सय ६६ मा हामी पहिलो भयौँ पहिलो र दोस्रोसहित लिँदा काँग्रेसको भागमा पाँच सय ८५ पालिका पर्छ,’ उनले भने, ‘भरतपुरलाई दिमागमा राखेर मात्रै बहस भइरहेको छ। प्रचण्डजी यी सबै पालिका दिन तयार हुनुहुन्छ?’

सरकार गठनको बेला गरिएको गठबन्धन चुनावसम्म लैजाँदा नकारात्मक असर पर्ने उनको तर्क छ। २०७४ को निर्वाचनपछि ३६ लाख नयाँ मतदाता थपिएका बताउँदै कोइरालाले उनीहरूका लागि सोचेर निर्णय लिन आग्रह गरेका छन्। ‘पहिलो पटक नयाँ मतदाता सहभागी हुँदैछन्। उनीहरूलाई हँसिया हथौडामा भोट हाल्न भन्दा आमनिर्वाचन र त्यसपछिका रुखमा मत हाल कसरी भन् ? यो गम्भीर विषय हो,’ उनले भने।

उनले काँग्रेस जिताउन घर घर जाऊँ भनेर माओवादीलाई भोट माग्न नसकिने पनि बताए। कोइरालाले भने, ‘तालमेल गर्ने कुरालाई म खराब भन्दिनँ। तर, यो कुरालाई पनि हामीले मध्यनजर गर्नुपर्छ। एकातिर घरघर जाऔं काँग्रेस जिताऔं भनेका छौं। अर्कोतिर माओवादीलाई भोट हाल भनेका छौं। यो त मिलेन नि।’