लेनिन यसरी बने मार्क्सवादी ? थाहा पाउँन पढ्नुहोस्

  • मिलन आफन्त

विश्वका महान् समाजवादी नेता भ्लादीमिर इल्यीच लेनिनको जन्म अप्रिल, १८७० मा सिम्बीस्क (हालः उल्यानोभ्स्क) सहरमा भएको थियो। यो सहर महान् रुसी नदी भोल्गाको किनारमा पर्दछ। लेनिनको पिताको नाम इल्या निकोलाएभिच हो भने माताको नाम मारिया अलेक्सान्द्रभ्ना हो। लेनिनको बुबा इल्या निकोलाएभिच उल्यानोभले कलिलै उमेरमा गरिबीको मार खप्नु परे पनि जेठो दाजुको सहायता, आफ्नै कठिन परिश्रम र असाधारण प्रतिभाको फलस्वरूप मात्र उहाँले उच्च शिक्षा हासिल गर्न सफल हुनुभयो। लेनिनको आमा एक डाक्टरकी छोरी हुनुन्थ्यो। उहाँले घरमै शिक्षा पाउनुभएको थियो। यसको मतलब लेनिनको बुबा, आमा विद्धान रुसी नागरिक हुनुन्थ्यो भन्दा पनि फरक नपर्ला।

भ्यादीमीर इल्यीच लेनिनको बाल्यावस्था एउटा ठूलो र असाधारण रूपमा मिलनसार परिवारमा बितेको थियो। उहाँ केटाकेटी उमेरदेखि नै निकै साहसी, प्रफुल्ल र ठट्यौलो मिजासको हुनुहुन्थ्यो। पौडी खेल्न र स्केटिङ गर्न असाध्यै रुचाउनु हुन्थ्यो। साथीहरूसँग मिलेर टाढा टाढासम्म घुम्न जाने गर्नुहुन्थ्यो। पाँच वर्षकै उमेरमा भ्यादीमिरले लेखपढ गर्न सिकिसक्नुभएको थियो। उहाँ असाधारण प्रतिभाशाली छात्र हुनुहुन्थ्यो। उहाँ आफ्नो कक्षामा सधैँ प्रथम स्थान हासिल गर्नुहुन्थ्यो। स्कुले जीवनमा नै उहाँले समाजमा पाइने क्रान्तिकारी किताबतर्फ आफ्नो नजर दौडाउन पुग्नुभयो। लेनिनलाई बेलिन्सकी, गेर्चेन, चर्निशेभ्स्की, दोब्रोल्यूवोध र पिसारेभ जस्ता क्रान्तिकारी डेमोक्रेटहरुको किताब र उपन्यास ‘के गर्ने ?’ विशेष मन पर्दथ्यो। यसरी स्कुले जीवनमा नै लेनिनले किताबी र बाहिरी सामाजिक क्रान्तिकारी ज्ञान हासिल गरिसक्नु भएको थियो।

युवा लेनिनको दृष्टिकोणमाथि उहाँको परिवार, वरिपरिको जीवन, प्रगतिशील रुसी साहित्यको निकै ठुलो प्रभाव पारेको थियो। त्यसताका रुसमा द्रुतगतिले पुँजीवादी व्यवस्थाको विकास हुँदै थियो। पुँजीवादी शोषणको साथसाथै सामन्ती उत्पीडन पनि कायम नै थियो र यस शोषणले शहरिया मजदुरहरू र गाउँले किसानहरूको जीवन असहनीय तुल्याएको थियो। जारको अत्याचार, जमिनदार र पुँजीपतिहरूको दमन मजदुर र किसानहरूको पद दलित अवस्थाले किशोर लेनिनको हृदयमा शोषकहरू प्रति घृणा र शोषितहरू प्रति सहानुभूति पैदा गरेको थियो। विश्वविद्यालय अध्ययनकै क्रममा युवा लेनिनले प्रगतिशील र क्रान्तिकारी दृष्टिकोण राख्ने विद्यार्थीसँग सम्बन्ध कायम गर्नुभयो। डिसेम्बर १८८७ मा विद्यार्थीहरूको क्रान्तिकारी सभामा सक्रिय भाग लिए बापत उहाँ विश्वविद्यालयबाट निकालिनु भयो, उहाँ गिरफ्तार हुनुभयो। यसरी उहाँको क्रान्तिकारी जीवन शुरु भयो।

युवा कालमै लेनिनले मार्क्सवादको गम्भिर अध्ययन सुरु गर्नुभयो। युवा लेनिन मार्क्सवादलाई त्यो वैचारिक हतियार ठान्नुहुन्थ्यो जसद्वारा रुसी सर्वहाराले आफ्नो स्वतन्त्रता हासिल गर्न सक्दछ र रुसमा समाजवादी व्यवस्था कायम गर्न सक्नेछ। उहाँले मार्क्सको प्रमुख कृति ‘पुँजी’को गम्भिर अध्ययन गर्नुभयो। त्यसपछि लेनिन पक्का मार्क्सवादी बन्नु भयो। वैज्ञानिक समाजवादका महान् विचारधाराको जोरदार प्रचार गर्न थाल्नुभयो। गुबेर्नियामा साढे चार वर्षको बसाइमा लेनिनले मार्क्स र एंगेल्सका कृतिहरूको कठोर अध्ययन जारी राख्नुभयो, विदेशी भाषाहरूको विशेष जर्मन भाषाको गम्भीर अध्ययन गर्नुभयो। यसै समयमा उहाँले जर्मन भाषाबाट रुसी भाषामा मार्क्स र एंगेल्सको एक महत्त्वपूर्ण कृति ‘कम्युनिष्ट घोषणापत्र’को अनुवाद गर्नुभयो। सन् १८९२ मा लेनिनले सामारामा पहिलो मार्क्सवादी अध्ययन मण्डली खोल्नुभयो। मण्डलीका सदस्यहरू मार्क्स र एंगेल्सका कृतिहरू पढ्थे र सक्रिय रूपमा मार्क्सवादको प्रचार गर्थे।

मार्क्सवादी लेनिन १८९३ अगष्टमा पिटेर वुर्ग (त्यसताकाको रुसको राजधानी

) आउनु भएपछि आफूलाई पूर्णरुपमा रुसका क्रान्तिकारी सर्वहारा नेतामा परिणत गर्नुभयो। लेनिन ठूलो स्फूर्ति र अभिलाषा सहित क्रान्तिकारी कार्यमा लाग्नुभयो। मार्क्सवादको गम्भीर अध्ययन, रुसी परिस्थितिमा मार्क्सवादी विचारधारा कसरी प्रयोग गर्नुपर्छ भने ज्ञान, मजदुर संघर्षका अजेयता प्रति दृढ विश्वास र महान् संगठनात्मक प्रतिभाले लेनिनलाई छिट्टै पिटेर वुर्गमा मार्क्सवादीहरूको वरिष्ठ नेता बनाए। मार्क्सवादी विचारधाराको विस्तार र मजदुर पार्टीको सिर्जनामा उदारवादी नोरोदनिकहरु मुख्य बाधाको रूपमा खडा भए। पिटेर वुर्गमा लेनिनले उदारवादी नोरोदनिकहरुको विरुद्ध आफ्नो संघर्ष जारी राख्नुभयो। नोरोदनिकहरुले आफूलाई जनताको मित्र र मार्क्सवादीहरू जनताको शत्रु भनेको बेलामा लेनिनले ‘जनताका मित्र’को हुन् र उनीहरू कसरी सामाजिक जनवादीहरूको विरुद्ध संघर्ष गदैछन् ? भन्ने पुस्तक निकाल्नु भयो र मार्क्सवादीहरूको कडा बचाउ गर्नुभयो। लेनिनको यो पुस्तक तत्कालीन रुसमा अत्यन्तै लोकप्रिय बन्न पुग्यो।

लेनिनले एक क्रान्तिकारी मार्क्सवादी पार्टीको सिर्जनामा आफ्नो सम्पूर्ण शक्ति लगाउनु भयो। रुसमा लेनिनको नेतृत्वमा मार्क्सवादी पार्टीको सिर्जना भयो। लेनिनको ठूलो निपूर्णता साथ सर्वहारा पार्टीको लागि संगठनकर्ताहरु, क्रान्तिकारी मजदुर कार्यकर्ताहरू तयार गर्दै जानुभयो। मजदुर लेनिनलाई धेरै माया गर्दथे। उनीहरू उहाँलाई आफ्नो नजिकको सहृदयी र दयालु मित्र ठान्दथे। लेनिनको भाषण र लेखहरू रुसी सर्वहारा जनता माझ प्रिय हुँदै जान थाल्यो। लेनिनले लेख्नुभएका पुस्तक र पर्चाहरू अत्यन्त अज्ञानी व्यक्तिहरूको लागि पनि सुगम हुन्थे, यी पुस्तकहरूमा मजदुरको पद दलित अवस्था र पुँजीजीविहरुद्वारा उनीहरू माथि गरिने बर्बरतापूर्ण शोषणको चित्रण गरिएको हुन्थ्यो। मजदुर वर्गको स्वतन्त्रताको लागि संघर्षका बाटोहरू देखाएका हुन्थे।

सन् १८९५ को बस्नतमा पिटेर वुर्गका मार्क्सवादीहरूको अनुरोधमा ‘श्रम मुक्ति’ दलसँग सम्बन्ध कायम गर्न र पश्चिम युरोपेली मजदुर आन्दोलनको अध्ययन गर्न लेनिन विदेश जानुभयो। लेनिनले स्विजरल्याण्ड हुँदै पेरिस र बर्लिन् जानु भयो। स्विजरल्याण्डमा लेनिन ‘श्रम मुक्ति’ संगठनका नेताहरूसँग भेट गर्नुभयो भने पेरिस र बर्लिनमा रहँदा लेनिन फ्रान्सेली र जर्मनी मजदुरहरूका सभाहरूमा सामेल हुनुभयो, उनीहरूको रहन-सहन र जीवन पद्धतिको अध्ययन गर्नुभयो। उहाँले विदेशमा रहँदा पनि मार्क्सवादी दर्शनको विकासमा आफ्नो समय लगाउनु भयो। सेप्टेम्बर १८९५ को सुरुमा लेनिन पिटर वुर्ग फर्कनु भयो। उहाँ अझ बढी उत्साहपूर्वक क्रान्तिकारी काममा लाग्नु भयो। उहाँ अक्सर आमसभाहरूको आयोजना गर्नुहुन्थ्यो र मजदुरहरूसँग कुराकानी गर्नुहुन्थ्यो। यसै समयमा लेनिनले ‘मुक्तिसंघ’को स्थापना गर्नुभयो।

‘मुक्तिसंघ’ रुसको क्रान्तिकारी मार्क्सवादी पार्टीको पहिलो बिउँ थियो। विस्तृत मजदुर आन्दोलन नै संघको कार्य क्षेत्र थियो र सर्वहारावर्गको संघर्षको नेतृत्व गर्थ्यो । ‘मुक्तिसंघ’ले रुसमा पहिलो पटक मजदुर आन्दोलनमा वैज्ञानिक समाजवाद प्रयोग गर्न थाल्यो। यसै कुरामा संघको महान ऐतिहासिक भूमिका निहित थियो। ‘मुक्तिसंघ’को नेतृत्वमा सन् १८९६ को गुष्ममा पिटेर वुर्गमा कपडा कारखानाहरूका मजदुरहरूको विख्यात हडताल भयो। ‘मुक्तिसंघ’को क्रियाकलाप माथि कडा निगरानी राख्दै आएको जारसाही सरकारले छिट्टै संघमाथि कडा प्रहार गर्‍यो। डिसेम्बर १८९५ को सुरुमा लेनिनले सहित संघका बहुसंख्यक कार्यकर्ताहरू गिरफ्तार भए। जेलमै लेनिनले प्रख्यात कृति ‘रुसमा पुँजीवादको विकास लेख्न सुरु गर्नुभयो। लेनिनको जीवनको साथीको नाम क्रुप्सकाया हो। उहाँ (क्रुप्सकाया)लेनिनकी श्रीमती मात्र नभएर एक असल

सन् १९०५ को शरदमा रुसी क्रान्तिकारी आन्दोलनले विशाल रुपलिन थालियो। अक्टोबर महिनामा आम राजनैतिक हड्ताल सुरु भयो। कलकारखानाहरू, पोष्ट अफिस र टेलिग्राफ अड्डाहरु बन्द भए। पूरा राष्ट्रकै जीवन-स्पन्दन रोकिए जस्तो लाग्यो। सर्वहारा संघर्षको यो त्यो नयाँ रुप थियो, जुन त्यस बेलासम्म अरू कुनै राष्ट्रमा भएका थिएन। नोभेम्बर १९०५ को सुरुमा लेनिन पिटेर वुर्ग आइपुग्नु भयो र देशभित्र नै बसेर पार्टी र क्रान्तिकारी संघर्षको नेतृत्व गर्न थाल्नु भयो। उहाँले ‘नोभया जीजन’भन्ने पत्रिकामा आफ्नो लेखहरूद्वारा पार्टीका कार्यकर्ता र जनतालाई प्रशिक्षित गर्नुभयो। यस अखबारमा निस्केका लेनिनका लेखहरू मध्ये ‘पार्टी संगठन र पार्टी साहित्य’ लेखको विशेष महत्त्वपूर्ण स्थान छ। जारशाही लेनिनको क्षमतादेखि तर्सन थाले। लेनिन र लेनिनको नेतृत्वमा भएको सर्वहारा मजदुरको आन्दोलन लाई दबाउन जारशाही क्रियाशिल भए तर सफल हुन सकेनन्। लेनिन रुसका जनतामाझ अझ बढी लोकप्रिय हुन थाल्नुभयो र लेनिनले लिनु भएको नीति रुसका जनताको कार्य नीति बन्न पुग्यो। लेनिन रुसका सर्वहारा वर्गको निम्ति आस्थाको पुञ्ज बन्न पुगे।

विश्व कम्युनिष्ट आन्दोलनको महान् नेता लेनिनले बोल्शेभिक नीतिको औचित्य प्रमाणित गर्न अथक परिश्रम गर्नुभयो। उहाँ मजदुर बुद्धिजीवि, कामदार, विद्यार्थीहरूसँग वार्तालाप गर्ने कुनै पनि मौका छोड्नु हुन्थ्यो। ९ मे १९०६ मा उहाँले पिटेर वुर्गमा तीन हजार व्यक्ति जम्मा भएको सभामा भाषण गर्नुभयो। उक्त भाषणमा लेनिनले निरंकुश शासन संघ कादेतहरुको बुर्जुवा पार्टीले गरेको साँठगाँठको भण्डाफोर गर्नुभयो र सर्वहाराको क्रान्तिकारी नीति अगाडी राख्नु भयो। लेनिनले कठोर संघर्षपछि पार्टी संगठनहरुलाई बोल्शेभिकहरुको वरिपरि गोलबन्द गर्न सफल हुनुभयो। अब उहाँले पार्टीको पाँचौं महाधिवेशनको लागि गम्भीर तयारी गर्न सुरु गर्नुभयो। फेब्रुअरी १९०७ मा लेनिनले रसियाली सामाजिक-जनवादी मजदुर पार्टीको पाँचौं महाधिवेशनमा भाग लिन लेनिन लण्डन जानुभयो र लेनिनले महाधिवेशनको नेतृत्व गर्नुभयो। महाधिवेशनमा लेनिनद्वारा प्रस्तुत बुर्जुवा पार्टीहरू प्रतिको दृष्टिकोण सम्बन्धी प्रस्ताव पारित भयो।

पाँचौं महाधिवेशनले क्रान्तिमा बोल्शेभिकहरुले अपनाएको तीनको औचित्य स्वीकार गर्‍यो। अन्य प्रश्नहरूमा पनि बोल्शेभिकहरुले मेन्शेभिकहरु माथि विजय हासिल गरे। महाधिवेशनका मजदुर डेलिगेटहरुसँग लेनिन ठूलो सद्भावना र सहृदयतापूर्वक वार्तालाप गर्नुहुन्थ्यो। पाँचौं महाधिवेशनले लेनिनलाई रसियाली सामाजिक जनवादी मजदुर पार्टीको केन्द्रीय समितिको सदस्य छान्यो। जुन १९०७ को सुरुमा लेनिन लण्डनबाट रुस फर्किनुभयो। फिनल्याण्डमा बसोबास गर्न थाल्नुभयो। महाधिवेशनको लगत्तै जारशाही सरकारले दमन नीति सुरु गर्‍यो। रुसमा कठोरतम प्रतिक्रियावादी काल सुरु भयो। जनवरी १९०८ मा लेनिन स्वीजरल्याण्डको जेनेभा शहरमा फर्कनु भयो। लेनिनको सम्पूर्ण ध्यान रुसी क्रान्ति प्रति निर्दिष्ट थियो। लेनिन नयाँ जोश र शक्ति बटुलेर पार्टी कार्यमा लाग्नु भयो, नयाँ क्रान्तिको तयारी गर्न थाल्नुभयो। नयाँ क्रान्तिको विकास सम्बन्धी लेनिनको भविष्यवाणी छिटै साकार भयो। व्यापक क्रान्तिकारी संघर्षको यस अदम्य विकासलाई कुनै अत्याचार र उत्पीडनले रोक्न सकेन।

सन् १९१० मा रुसमा फेरी मजदुर आन्दोलन चर्किन थाल्यो। पिटेरवुर्ग, मस्को र अरू ठूलाठुला शहरहरुमा गृष्म र शरदमा हड्ताल, प्रदर्शन, सभा र अन्य राजनैतिक सक्रियताहरू बढ्न थाले। क्रान्तिकारी आन्दोलन चल्दै गयो। ठूलो कठिनाइहरू पार गदै बोल्शेभिकहरुले डिसेम्बर १९१० मा पिटेर वुर्गमा साप्ताहिक पत्रिका ‘जभेज्दा’ निकाले। अन्ततः क्रान्ति सफल भयो।

लेनिन समाजवादी क्रान्ति नजिक आउँदैछ भन्ने कुरा स्पष्ट रूपमा देख्दै हुनुहुन्थ्यो

६ मार्च १९१८ मा प्रेट्रोग्रादमा सातौं पार्टी महाधिवेशन सुरु भयो। महान अक्टोबर समाजवादी क्रान्तिको विजयपछि पहिलो महाधिवेशन लियो। लेनिनले महाधिवेशनको सम्पूर्ण कार्यको नेतृत्व गर्नुभएको थियो, उहाँले १८ पल्ट भाषण गर्नुभयो। सातौं पार्टी महाधिवेशनले बहुमतद्वारा लेनिनवादी नीतिको समर्थन गर्‍यो। ‘युद्ध तथा शान्ति सम्बन्धी प्रस्ताव’ पारित गर्‍यो। लेनिनको प्रस्ताव अनुसार पार्टीको नाम बदल्ने निर्णय भयो। यस महाधिवेशन देखि पार्टीको नाम रसियाली कम्युनिष्ट (बोल्शेभिक) पार्टी रहन गयो। ११ मार्च १९१८ मा सोभियत सरकार मस्को सर्‍यो र मस्को सोभियत राष्ट्रको राजधानी बन्यो। जन कमिसार परिषद् र अखिल रसियाली केन्द्रीय कार्यकारिणी समितिका आफिसहरू क्रेमलिन भवनमा सरे। लेनिन पनि क्रेमलिन सर्नुभयो।

भ्यादिमिर इलयीच लेनिन कार्ल मार्क्स तथा फ्रेडरिख एंगेल्सका कार्य तथा शिक्षाका महान् अनुयायी हुनुहुन्छ। उहाँले आफ्नो रुसको भूमिमा समाजवादको प्रयोग गरेर सफल पनि हुनुभयो। विश्व सर्वहारा वर्गको महान् नेता लेनिनले मार्क्सवादका तिनै संघटक अंगहरु दर्शनशास्त्र, राजनैतिक अर्थशास्त्र तथा वैज्ञानिक साम्यवादलाई विकसित तुल्याउनु भयो। समाजवादी क्रान्तिको तयारी र परिपूर्तिको समयमा समाजवादको निर्माणको लागि संघर्षको समयमा लेनिन पार्टीको प्रतिभाशाली नेता बन्नु भएको थियो। भ्यादीमिर इल्यीच लेनिन बीसौं शताब्दीको त्यस मुख्य मुख्य घटना, महान् अक्टोबर समाजवादी क्रान्तिको प्रेरणादाता र नेता हुनुहुन्थ्यो, जसले सम्पूर्ण मानव जातिको विकासक्रमलाई मौलिक रूपमा बदलिएको थियो। लेनिनले सोभियत राष्ट्रमा समाजवादको निर्माण गर्न योजना तयार पार्नु भएको थियो, उहाँको महान् देन थियो। विश्वको पहिलो समाजका राष्ट्रका संस्थापक, मार्क्सवादी चिन्तक क. लेनिन आज हाम्रो माझ हुनुहुन्न, उहाँको सन् १९२४मा मृत्यु भयो तथापि उहाँको कर्म, उहाँको विचार जुगौं जुगसम्म यो संसारमा रहिरहने छ।