‘प्रचण्डले धोका दिए’ भन्दै माओवादीका जनप्रतिनिधिले दिए राजिनामा

काठमाडौ । पार्टीका अध्यक्षले धोका दिएको भन्दै कञ्चनपुरका एक जना जनप्रतिनिधिले पदवाट राजिनामा दिएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीमा कार्यकर्तालाई अध्यक्षले धोका दिएको भन्दै पदवाट राजिनामा दिएका हुन् ।

उनले एमसीसी सम्झौता संसदबाट पारित गराउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्य भूमिका खेलेको भन्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ का निर्वाचित वडाध्यक्ष बहादुरसिंह महराले पार्टी परित्याग गरेका छन् ।

बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै वडाध्यक्ष महराले माओवादीको सुदूरपश्चिम प्रदेश सम्मेलन प्रतिनिधिसहित सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गर्दै पार्टी परित्याग गरेको जनाएका छन् ।
‘राष्ट्रघाती सम्झौतामा म क्रियाशील पार्टी नेकपा माओवादी केन्द्रको मूल नेतृत्व प्रचण्डले आत्मसमर्पण गरी पास गर्न मुख्य भूमिका खेलेकोले हामी जस्ता इमान्दार कार्यकर्तालाई लज्जित बनाएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा उल्लेख छ, ‘अब उपरान्त म राष्ट्रिय स्वाधिनताको पक्षमा निरन्तर अघि बढ्ने र त्यसको नेतृत्व गर्ने शक्तिसँग एकता, सहकार्य र ध्रुवीकरणको बाटोमा सरिक हुने प्रतिबद्धता सहितको जानकारी गराउँदछु र अन्य देशभक्त तथा क्रान्तिकारी मित्रहरूलाई पनि यस राष्ट्रिय स्वाधिनताको महान् अभियानमा सरिक हुन आह्वान गर्दछु ।’