यी तीन अभिनेत्री जसले ‘गंगुबाई’ बन्न अस्वीकार गरे

फेब्रुअरीमा रिलिज भएको फिल्म ‘गंगुबाई काठियावाडी’ लाई दर्शकले निकै मन पराएका छन्। फिल्मको निर्देशन बलिउडलाई ‘ब्लेक’, ‘हम दिल दे चुके सनम’, ‘देवदास’, ‘पदमावत’ लगायत हिट फिल्म दिने निर्देशक सञ्जय लीला भन्सालीले गरेका हुन्। फिल्ममा अभिनेत्री आलिया भट्ट मुख्य भूमिकामा छिन्। उनको अभिनय उम्दा रहेको भन्दै फिल्म समीक्षकले समेत प्रशंसा गरिरहेका छन्।

आलियाभन्दा अगाडि यस फिल्मका लागि निर्देशक भन्सालीले दीपिका पादुकोण, प्रियंका चोपडा, रानी मुखर्जीलाई प्रस्ताव गरेका थिए। तर उनीहरूले अस्वीकार गरेपछि फिल्म आलियाको पोल्टामा परेको थियो।

दीपिकाले भन्सालीको ‘रामलीला’, ‘बाजीराव मस्तानी’ र ‘पदमावत’मा काम गरेकी छन्। धेरैले उनलाई भन्सालीकी ‘फेभरेट हिरोइन’ पनि भन्ने गरेका छन्। ‘गुंगुबाई’ जस्तो सशक्त भूमिकाका लागि उनले दीपिकालाई प्रस्ताव नगर्ने कुरै भएन। भन्सालीले सबैभन्दा पहिले उनलाई नै साइन गराउन खोजेका थिए। दीपिकाले उनको प्रस्ताव अस्वीकार गरिन्।

त्यसपछि भन्सालीले फिल्मको अफर प्रियंका चोपडालाई दिए। फिल्म ‘बाजीराव मस्तानी’ मा प्रियंकाले उनीसँग काम गरेकी थिइन्। यसपटक भने उनले भन्सालीसँग काम गर्न रुचि देखाइनन्।

भन्सालीले प्रस्ताव गरेकी तेस्री अभिनेत्री हुन्, रानी मुखर्जी। फिल्म ‘ब्लेक’मा रानीले भन्सालीसँग काम गरेकी थिइन्। ‘गंगुबाई’का लागि रानीले खासै चासो नदेखाएपछि उनले आलियालाई प्रस्ताव गरेका हुन्।