प्रचण्डले भने : एकता जोगाऔँ, नारायणकाजीको जवाफ : तपाईंले नै निस्केर जा भन्नुभयो

काठमाडौं- नेकपा (माओवादी केन्द्र)मा विभाजनको संकेत देखिन थालेको छ। नेता नारायणकाजी श्रेष्ठले आफूनिकट नेताहरुसँग त्यस सन्दर्भमा परामर्श सुरु गरेका छन्।

आइतवार अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता माओवादीकोसमेत समर्थनमा संसदबाट पारित गरिएपछि तीव्र असन्तुष्टि जनाएका श्रेष्ठसँग हात्तिबन पुगेर मंगलबार दिउँसो वार्ता गरेका हुन्।

एमसीसी पास गर्न नहुने पक्षमा रहेका श्रेष्ठबारेमा प्रचण्डले खुमलटारमै सोमबार आयोजित पत्रकार सम्मेलनमा छाडेर जानेलाई रोक्न नसकिने बताएका थिए।

दुई नेताबीच परस्पर बाझिने कुरा सार्वजनिक भइरहेपछि माओवादी फुट्ने आशंकाबीच प्रचण्डले नारायणकाजीलाई फकाउन खोजेका हुन्।प्रचण्डले नारायणकाजीकै निवास पुगेर माओवादी केन्द्रलाई एकतावद्ध बनाएर अघि बढ्न भनेका थिए।

‘प्रचण्डले पार्टीलाई एकतावद्ध बनाएर जाऊँ, विवादबारे पार्टीकै आन्तरिक बैठकमा छलफल गरौँ भन्नु भयो’, नारायणकाजीनिकट एक नेताले भने, ‘अध्यक्षले पार्टी एकता बचाइराख्न अरु भएको कुरा राख्दै फेरि पनि छलफल गर्न अनुरोध गर्नुभयो।’

सोमबार प्रचण्डको अभिव्यक्तिलाई लिएर आक्रोशित नारायणकाजीले आफूले पार्टी छाडेर जान नखोजेको जवाफ दिएका थिए।

‘मैले पार्टीबाट हट्ने, पार्टी छाड्ने कुरा गरेको होइन। तर तपाईंले नै छाडेर जा भन्नु भयो’, उनले प्रचण्डलाई भनेका थिए, ‘तपाईंले नै वामदेव जसरी पार्टी छाडेर जानेलाई रोक्न नसकिने भनेपछि सोच्नुपर्ने अवस्था आयो।’

तर फेरि प्रचण्डले नारायणकाजीलाई फकाउँदै आफूले त्यसो नभनेको जवाफ दिएका थिए। ‘होइन, मैले त्यस्तो केही भनेको होइन। अलग सन्दर्भलाई लिएर भनेको कुरा पार्टीको धारणा होइन’, प्रचण्डले भने, ‘अहिले हामी सबैले यताउता सोच्नु भन्दा पार्टी एकता जोगाएर हाम्रा मतभेदहरुबारे बैठकमा छलफल गरौँ, मन माझामाझ गरौँ।’

प्रचण्डले पार्टी छाड्ने कुरा नसोच्न आग्रह गर्दै फेरि पनि छलफलमा बस्न आग्रह गरेका थिए।

यसबारेमा नारायणकाजीले आफूनिकट नेता कार्यकर्ताहरुलाई ब्रिफिङ गरेका छन्। पार्टीमै बस्ने या नयाँ यात्रा थाल्ने कुराको निर्णय प्रचण्डसँग अर्को पटक हुने छलफलले निर्धारण गर्ने पनि उनले बताएका थिए।