भीम रावल ‘हिरो’ बन्न खोजे : केपी ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सांसद भीम रावलले पृथक हुने बहानामा पार्टी अनुशासन विपरीत गतिविधि गरिरहेको आरोप लगाएका छन्। मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले नेता रावलले आत्मकेन्द्रित काम गरिरहेको र त्यसप्रति पार्टीको ध्यानाकर्षण भएको बताए।

रावलले विभिन्न बहानामा पृथक देखिएर हिरो बन्न खोजेको उनको बुझाइ छ। ‘भीम रावल पृथक भएर गतिविधि गरिरहनुभएको छ। पार्टीको हिरो हुन खोज्ने गरी कुनै पनि बहानामा पृथक देखिएर गर्ने क्रियाकलाप अनुशासनभित्र पर्दैन। अनुचित र अनुशासनहीन क्रियाकलाप गरिरहनुभएको छ। यसमा पार्टीको ध्यान गएको छ,’ ओलीले भने।

रावललाई संसदीय दलको बैठकमा पनि आफूले पार्टीको निर्णय मानेर अघि बढ्न भनेको उनले जानकारी दिए। ‘मैले संसदीय दलको बैठकमा व्यक्तिगत रूपमा टीकाटिप्पणी नगर्न उहाँलाई भनेको थिएँ,’ ओलीले भने, ‘तर, उहाँले व्यक्तिगत रूपमा हिरो हुने काम गर्नुभयो।’ आइतबार एमसीसी प्रतिनिधिसभामा निर्णयार्थ प्रस्तुत हुने क्रममा सांसद रावलले विरोध गरेका थिए। ओली नै संसद्मा उपस्थित रहेका बेला रावल रोष्ट्रममा गएर संसदीय प्रक्रियामा सहभागी भएका थिए।

उनले विगतदेखि नै एमसीसी सम्झौताको विरोध गर्दै आएका छन्। उनी संसद्मा एमसीसी सम्झौतालाई निर्णयार्थ प्रस्तुत गर्ने क्रममा मत विभाजनमा समेत सहभागी भएका थिए। उनीसँगै सांसद झपट रावल पनि निर्णय प्रक्रियामा सहभागी भएर एमसीसी सम्झौताको विपक्षमा मत जाहेर गरेका थिए। एमालेले भने एमसीसी सम्झौता पारित भइसकेकाले अब कार्यान्वयनमा जानुपर्ने धारणा सार्वजनिक गरेको छ।