महरामाथि बाबुरामको कटाक्ष : क्रान्तिकारी नेताहरू शराबको शिशी बोक्नमै मस्त!

काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अझै पनि ग्रामिण महिलाहरुले गाग्रीमा पानी बोक्नु परेको भन्दै कटाक्ष गरेका छन्।

दाङको घोरहीका महिलाहरुले गाग्रीमा पानी बोकेको तस्बिर सामाजिक सञ्जालमा राख्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले घोरहीलाई उपमहानगरपालिका बनाइएको भन्दै नेताहरुप्रति व्यङ्ग्य गरेका छन्।

‘खानेपानी समेत घरघरमा पुर्‍याउन नसक्ने र महिलालाई बज्यैको पालामाझैँ तीनघण्टा थाप्लोमा गाग्री बोक्न लगाउने ‘उपमहानगरपालिका’ (दाङ घोराही) रे! ‘क्रान्तिकारी’ नेताहरू चाहिँ एमसीसी र शराबको शिशी बोक्नमै मस्त,’ उनले भनेका छन्।

भट्टराईले दाङबाट प्रतिनिधि सभाका सांसद एमव् नेकपा (माओवादी केन्द्र) का प्रवत्तासमेत रहेका कृष्णबहादुर महरामाथि व्यंग्य गरेका हुन्। उनले क्रान्तिकारी नेताहरु चाहिँ एमसीसी र शराबको शिशी बोक्नमै मस्त! भनेर उनैमाथि कटाक्ष गरेका हुन्।

भट्टराईले महिलाहरु अझै पनि पुरानो जमनाको जस्तै गाग्री बोकिरहन बाध्य भएको भन्दै त्यसले समाजवाद नआउने पनि जिकिर गरेका छन्।

‘अनि आउने भो, ‘समाजवाद’! जुन गोरूको सिङ छैन उसको नाम तीखे!, सेम सेम!’, उनले भनेका छन्।