लता मंगेशकरसँग गीत गाउँदा जुनी नै सफल : रामकृष्ण ढकाल

काठमाडौँ — ‘रामकृष्ण जी तपाईंले जुन गीत गाएर पठाउनु भएको थियो । त्यस्तो त म गाउन सक्दिन होला, तर मेरो उत्कृष्ट दिनेछु,’ फोनमा लता मंगेशकर बोलिन् । त्यतिबेला गायक रामकृण ढकाल गाडी चलाइरहेका थिए । मंगेशकरको कुराले उनी खर्ल्याङ–खुर्लुङ भए । हत्तनपत्त जवाफ फर्काइ हाले, ‘हजुरसँग गीत गाउन पाउनु मेरो सौभाग्य हो । मेरो त जन्म नै सफल भएको महसुस गर्दैछु ।’

‘बाँचुञ्जेलीलाई’बोलको नेपाली गीतका लागि स्वर दिन तयार भइसकेपछि लताले रामकृष्णलाई फोन गरेकी थिइन् । झन्डै १० वर्षअघिको कुरा हो यो । लताले फोनमा त्यसरी कुरा गरिसकेपछि रामकृष्णलाई लागेको थियो, ‘लेजेन्ड भनेको लेजेन्ड नै हुने रहेछ ।

संगीतकार शिखर सन्तोष र लेखक आनन्द अधिकारीले गीतको प्रस्तावसहित मंगेशकरलाई आफूसँग ड्वेट गाउन लगाउने कुरा गर्दा रामकृष्णलाई विश्वास नै लागेको थिएन । विश्वास लागोस् पनि कसरी, अन्य भारतीय गायक/गायिकाले झैं लताले नेपाली गीतहरुमा खासै आवाज दिएकी थिइनन् । उनलाई गीतको अफर गर्न, उनको पहुँचमा पुग्नै गाह्रो । तत्कालिन राजा स्व. महेन्द्र वीर विक्रम शाहको शब्द रहेको ‘आकाशको तिरमीर तारा म गन्न सक्दिन’, ‘माइतीघर’ फिल्मको लागि ‘जुन माटोमा जन्मेउ हामी’मा धेरै पहिल्ये आवाज दिएकी ।

लेखक आनन्दले लताकै लागि लक्षित गरेर ‘बाँचुञ्जेलीलाई’लाई लेखेका रहेछन् । संगीतकार र गीतकारले लतालाई उक्त गीत गाउन लगाउने कुरा गर्दा रामकृष्णको मनमा एउटै प्रश्न उब्जिएको थियो, ‘मसँग ड्वेट गाउनु होला त ?’ । तर उनीहरुले प्रयास नगरि हार नमान्ने सोचे । डमी गाएर लतालाई गीत पठाइदिए । गीतसँगै रामकृष्णको प्रोफाइल र गीतका सिडीहरु पठाए । गीत सुनिसकेपछि लतालाई गीत मनपरेछ । अनि उनी गीत रेकर्ड गर्न तयार भइन् । गायकबारे म्यानेजरलाई सोधिछन् पनि । त्यसपछि नै हो लताको म्यानेजरले ‘लता दिदी लाइनमा हुनुहुन्छ तपाईंसँग कुरा गर्न चाहनुहुन्छ’ भन्दै रामकृष्णलाई कुरा गराइदिएको ।

लता गीत गाउन तयार भएको केही समयमै सन्तोष र रामकृष्ण गीत रेकर्डिङका लागि मुम्बई पुगे । हुन त त्यसअघि रामकृष्णले थुप्रै गीत मुम्बईमा रेकर्ड गराइसकेका थिए । शिखरले पनि करिव १० वर्ष मुम्बईमै बसेर काम गरेका थिए । रामकृष्णको चिनाजानी र शिखरको लिंककै कारण लतासम्मको पहुँच सफल भयो । मंगेशकरसँग ड्वेट गाउँदैछु भन्ने कुराले निकै उत्साहित थिए, रामकृष्ण । मुम्बई पुगेको दिन मंगेशकरसँग भोली के बोल्ने, के लुगा लगाएर जाने होला भन्ने कुराले उनलाई राम्रोसँग निन्द्रा पनि परेन । त्यसपछि स्टूडियोमै मंगेशकरसँग उनको भेट भयो । उनले नेपालबाट लिएर गएका पशुपतिनाथको फ्रेम, रुद्राक्षको माला दिए । ‘उहाँले फ्रेम देख्ने बित्तिकै पशुपतिनाथ भन्नुभयो । उहाँलाई पशुपति आउने मन थियो । तर विभिन्न व्यक्तिगत समस्याका कारण आउन पाउनु भएन,’ उनले भने ।

रेकर्डिङमा आफैलाई चिमोट्थे रामकृष्ण

सुरुमा लताले गीतमा स्वर दिइन् । त्यसपछि रामकृष्णले स्वर दिए । ‘हामीले गीत गाउँदा यो इन्स्ट्रुमेन्ट बजाइदिनु भनेर भन्छौं । तर उहाँको स्वरको लागि केही गर्नै नपर्ने,’ गीत रेकर्डिङका समय सम्झिन्छन्, ‘मलाई त म उहाँसँग गीत गाउँदैछु भन्ने विश्वास नै लाग्थेन । आफैंलाई चिमोटे पनि ।’

यो गीतलाई सुरुमा लताको पुरानो गीतलाई नजरमा राखेर ‘हाइ स्केल’मा लेखिएको थियो । पछि ‘लो स्केल’मा बनाए । तर लताको स्केलअगाडि रामकृष्णको ‘लो’ भएपछि उनले दोस्रो पटक गीत रेकर्ड गरे । ‘नेपाल फर्कनु पर्ने दिन फ्लाइट नै सारेर फेरि गीत गाए । त्यसपछि गीत फाइनल भयो,’ उनी सुनाउँछन् ।

खासमा गीतकार आनन्द र संगीतकार शिखर भारतीय र नेपाली गायक/गायिकाको आवाजमा एउटा एल्बम नै निकाल्ने तयारीमा थिए । तर त्यो एल्बमको काम अगाडि बढेन । उनीहरुले ‘बाचुञ्जेली’लाई भने मूर्त रुप दिने ठानेका थिए । त्यसै अनुरुप गीतको सबै काम मुम्बईमै गरियो । गीत रेकर्डिङपछि लताले रामकृष्णले समयमै मुम्बईमा संघर्ष गरेको भए ‘अच्छे अच्छोको ए हिला देता’ भन्दै प्रशंसा गरेको रामकृष्ण अझै सम्झन्छन् ।

‘युट्युबमा सार्वजनिक भएको एउटा भिडियो पनि उहाँले मेरो तारिफ गर्नु भएको छ । मलाई रामकृष्णले गीत गाएर पनि पठाउनु भएको थियो । मलाई उहाँको गायकी र गायनको स्टाइल मनपर्‍यो भन्नुभएको छ । उहाँले गीत र गीतको लेखन नै राम्रो पनि भन्नुभएको छ,’ उनले भने ।

यो गीतको भिडियोलाई भुषण दाहालले निर्देशनमा गरेका हुन् । गीतमा रामकृष्ण फरक अवतारमा देखिएका छन् । उनले उक्त गेटअपका लागि लामो समय जुंगा पालेका थिए । गीतलाई झैं भिडियोलाई हेरेर लताले उत्कृष्ट भनेको अझै रामकृष्णलाई याद छ । ‘गीतको भिडियो हेरेर निकै उत्कृष्ट भिडियो बनेको छ भनेर भन्नुभयो । त्यो गीतको भिडियो डिजिटलाइज हुने समयमा आएको भिडियो । त्यतिबेला यतिको क्वालिटीमा नेपालमा भिडियो बन्छ भन्ने कुराको पनि तारिफ भयो । गीतको कन्सेप्ट नै राम्रो थियो,’ उनले भने, ‘धेरै मिहिनेत गरेर बनेको भिडियो हो यो । यो गीत आफैमा उत्कृष्ट थियो । गीत सदाबहार बनिदियो । म पहिलो नेपाली गायक भएँ जोसँग लताले ड्वेट गाउनुभयो ।’

गीतका लागि लता कसरी तयार हुनुभयो भन्ने लाग्छ ? भन्ने प्रश्नको जवाफमा उनी भन्छन्, ‘एक त गीत नै राम्रो बनेको थियो । हामी भाग्यमानी पनि भयौं । मेरो आवाजको केही कुराले उहाँलाई छोयो होला । यस कुरामा म आफैलाई शौभाग्यशाली ठान्छु । यो गीत नेपाली संगीतको लागि मंगेशकरको आवाजको अर्काइभ हो । यो एउटा उहाँको उपहार हो । यो गीत हरेक जुनि उपहारको रुपमा रहन्छ ।’

आफूले गरेका गीतहरुमा सन्तुष्टी प्राप्त काममा ‘बाँचुञ्जेलीलाई’ मान्छन् उनी । ‘हामी उहाँजस्तो गायिकासँग काम गर्न पाउनु हाम्रो लागि भाग्यको कुरा हो । आशिर्वादको कुरा हो । यो जुनि नै सफल भएको महसुस गर्छु,’ उनले भने ।

गीतको भिडियो तत्कालिन पहिलो राष्ट्रपति रामवरण यादवको उपस्थितिमा सार्वजनिक गरिएको थियो । यो गीतपछि बीच-बीचमा रामकृष्ण लताको म्यानेजरमार्फत उनीसँग सम्पर्कमा थिए । यसबीच उनले रामकृष्णलाई एक मुखे रुद्राक्ष मगाइन् । उनले हौसिएर हुन्छ भनिदिएका थिए । तर पछि बल्लतल्ल खोजेर पठाइदिए । केही समय अगाडि पनि उनी बिरामी भएको खबर गर्दै पशुपतिमा उनको लागि अभिषेक पुजा गरिदिन भन्दै म्यानेजरले फोन गरेका थिए ।

‘उहाँ एकदमै डाउन टु अर्थ । नेपाललाई एकदमै माया गर्ने । नेपाल आउने चाहना पनि गर्नुहुन्थ्यो । तर आउन सक्नुभएन । लता मंगेशकर धेरै युगपछि जन्मने त्यस्तो प्रतिभा हो । उहाँ अद्भुत क्षमताको गायिका हुनुहुन्थ्यो । उहाँको गीतहरु सुन्दा यस्तो पनि सुर लाग्छ भन्ने लाग्थ्यो । उहाँ जिउँदो शरस्वति हुनुहुन्थ्यो । आज शरस्वति पुजाको दिन उहाँको निधन भयो,’ श्रद्धाञ्जली प्रकट गर्दै भने, ‘उहाँको नामलाई उल्ट्याइदिँदा मात्रै पनि ताल हुन्छ । उहाँले दिनुभएको योगदानले हामीजस्ता गायक/गायिकाले भोलिका दिनमा पाठ लिन सक्छौं । युगौं युग बाँच्ने कलाकार हुनुहुन्छ उहाँ ।’