किसानले प्रतिलिटर दूधको ५६ रुपैयाँ पाउने, उपभोक्ता मूल्य पनि बढाइँदै

भरतपुर, १९ माघ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले किसानले पाउँदै आएको दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा वृद्धि गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को निर्णय केही दिनपछि लागू हुने र किसानले प्रतिलिटर दूधको मूल्य ५६ रुपैयाँ चार पैसा पाउने कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।

अहिले किसानहरूले प्रतिलिटर दूधको मूल्य ४९.५२ रुपैयाँका दरले पाइरहेका छन् । पशुपालनमा लागत बढ्दै गएकाले किसानले पाउनुपर्ने दूधको मूल्यवृद्धि गर्न कृषि मन्त्रालयबाटै मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको थियो । मन्त्रालयको पशुपक्षीतर्फकी सचिव निरू दाहाल पाण्डेले मन्त्रिपरिषद्को निर्णयअनुसार चाँडै किसानहरूले बढेको दरमा दूधको मूल्य पाउने बताइन् ।

किसानलाई दुग्ध उद्योगले बढेको दरमा मूल्य भुक्तानी गर्नेछन् । प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा लागत बढेपछि दूध तथा दुग्ध पदार्थको पनि मूल्य बढाउन मन्त्रिपरिषद्ले सहमति दिएको छ । कृषि मन्त्रालयका अनुसार निजी क्षेत्रका दुग्ध उद्योगीसँग समन्वय गरी दुग्ध विकास संस्थान (डिडिसी)ले नयाँ उपभोक्ता मूल्य निर्धारण गर्नेछ । डिडिसीले निर्धारण गरेको मूल्यमै निजी क्षेत्रले दूध तथा दुग्ध पदार्थ बिक्री गर्ने सहमति भएको छ ।

‘किसानलाई बढी दरमा मूल्य भुक्तानी गर्दा दुग्ध उद्योगीको लागत स्वाभाविक रूपमा बढ्नेछ । यसबाट उनीहरूको लागतमा कस्तो असर पर्छ, सोहीअनुसार उपभोक्ता मूल्य निर्धारण गर्न डिडिसीलाई अधिकार दिएका छौँ,’ सचिव पाण्डेले भनिन्, ‘डिडिसीले निर्धारण गरेको मूल्यमा हामीले सहमति दिएपछि किसानको बढेको मूल्य र दुग्ध पदार्थमा बढेको उपभोक्ता मूल्य कार्यान्वयन हुनेछ ।’

अहिले बजारमा प्रशोधित दूध (पाउच)को मूल्य प्रतिलिटर ७६ रुपैयाँ छ । किसानले पाउने मूल्य प्रतिलिटर ६.५२ रुपैयाँ बढेका कारण उपभोक्ता मूल्य हालको भन्दा प्रतिलिटर करिब १० रुपैयाँ बढ्ने देखिन्छ । किनभने, बढेको मूल्यमा किसानले ६९ प्रतिशत र उद्योगले ३१ प्रतिशत हिस्सा लिने व्यवस्था छ । अहिले किसानले पाउने मूल्य प्रतिलिटर ६.५२ रुपैयाँका दरले बढ्दा उद्योगीको भागमा प्रतिलिटर कम्तीमा तीन रुपैयाँ बढाउनुपर्ने हुन्छ । जसकारण दूधको उपभोक्ता मूल्य १० रुपैयाँ बढेर प्रतिलिटर ८६ रुपैयाँ पुग्ने देखिन्छ ।

दूधको मूल्य बढाउन मन्त्रालयमातहतकै राष्ट्रिय दुग्ध विकास बोर्डले सिफारिस गरेको थियो । दूधको मूल्य बढाउँदा लाभ लिने किसान, सहकारी र उद्योगीका प्रतिनिधि राखेर बोर्डले एक प्रतिवेदन तयार गर्दै प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउन र त्यसको ६९ प्रतिशत हुन आउने रकम किसानलाई दिन सिफारिस गरेको थियो । सो सिफारिस विवादमा परेपछि मन्त्रिपरिषद्ले तत्काल किसानको मूल्य मात्रै बढाउने निर्णय गरेको हो । किसानले पाउने मूल्य बढेका आधारमा डिडिसीले चाँडै नयाँ उपभोक्ता मूल्य निर्धारण गर्ने जनाएको छ । (कायकैरनबाट)