‘पुँजीवादी व्यवस्था भित्रको डाक्टरी शोषण’

डा.राकेश परियार

पुँजी भन्ने बित्तिकै मानिसले पैसा अथवा मुद्रा सम्झन्छन्। तर सबै पैसालाई पुँजी मान्न सकिँदैन। जुन सामान मालसामान उत्पादन गर्ने कार्यमा लगाइन्छ त्यो मात्र पुँजी हो। पुँजीवाद ज्याला मजदुरीमा आश्रित आर्थिक राजनीतिक व्यवस्था हो। वस्तु विनिमयको चरणबाट जब समाज माल उत्पादन गर्ने चरणमा प्रवेश गर्‍यो तब पुँजीवादी व्यवस्थाको विकाश भयो। पुँजीवादको एउटै मुख्य विशेषता हुन्छ जसरी पनि नाफा आर्जन गर्नु। यस्तो किसिमको आर्थिक राजनीतिक व्यवस्थामा उत्पादन कार्यमा सक्रिय भूमिका खेल्ने मजदुर श्रमजीवीहरू उत्पादनका साधन र आर्थिक नाफाबाट वञ्चित हुन्छन् भने उत्पादन कार्यमा संलग्न नहुने पुँजीपतिहरू त्यसको मालिक हुन्छन्। यस्तो व्यवस्थाले व्यक्तिको आकाङ्क्षा, चाहाना र आवश्यकता भन्दा मुनाफालाई नै सर्वोपरि ठान्दछ।

मानिसले आफ्नो आवश्यकता पूर्तिका लागि जुन मेहनत गर्दछ त्यसलाई श्रम भनिन्छ। ज्याला भनेको पुँजीपतिले मजदुरलाई दिने श्रमको मूल्य होइन,श्रमशत्तिको मूल्य हो। श्रम शक्ति भनेको काम गर्ने क्षमता हो, शारीरिक र मानसिक श्रमको योग हो। श्रम शक्तिको किनबेचमा मजदुर बिक्रेता र पुँजीपति क्रेता हुन्छन्। मार्क्सका अनुसार मजदुरहरू माथिको शोषण नै पुँजी सञ्चयको कारण हो। त्यसैले जसरी हुन्छ पुँजीपतिहरूको प्रमुख ध्यान श्रम शोषण गरेर अकुत नाफा आर्जन गर्ने भन्ने हुन्छ।

पुँजीवाद व्यवस्थामा पुँजीपतिहरुका  लागि अकुत नाफा कमाउने विभिन्न उर्वर क्षेत्र मध्य मेडिकल क्षेत्र पनि एक महत्त्वपूर्ण क्षेत्र हो। मेडिकल क्षेत्रमा कसरी कामदारहरूको श्रम शोषण भईरहेको छ र नाफा कमाउने थलो कसरी बनिरहेको छ भन्ने कुरा बुझ्न जरुरी छ।

मेडिकल क्षेत्र भन्ने बित्तिकै डाक्टरहरूको नाम र पद अग्र स्थानमा आउँछ। डाक्टर एक सम्मानित पेसा हो। सेवा सँगसँगै आर्थिक पाटोसँग जोडिएको डाक्टरी पेसा हेर्दा र सुन्दा जति सानदार र आकर्षक देखिन्छ भित्री अन्तर वस्तु केलाएर हेर्ने हो भने सबै भन्दाबढि श्रम शोषण र लुटिएको पेसा चिकिसक पेसा हो। आजको दिनमा स्वास्थ्यकर्मी जस्तो बौद्धिक पेसामा समेत कसरी श्रमको शोषण भइरहेको छ भनेर घोत्लिनु जरुरी छ। मेडिकल क्षेत्रलाई केलाएर हेर्ने हो भने उक्त क्षेत्रमा काम गर्ने डाक्टर, नर्स, पारामेडिक्स लगायत अन्य स्वास्थ्यकर्मीहरू मेडिकल मजदुरहरू हुन्। आम जनमानसमा स्वास्थ्यकर्मीहरुले मानसिक श्रम मात्र गर्ने हो भन्ने धारणा रहेता पनि शारीरिक श्रम झनै शोषणको प्रमुख माध्यम हो भन्ने कुरा मेडिकल अफिसर, रेजिडेन्ट, ईन्र्टनशिपमा ३६ घण्टासम्म लगातार ड्युटी गर्नु पर्ने बाध्यताबाट प्रष्ट हुन्छ। यही अतिरिक्त श्रमकालीनै हस्पिटल व्यवस्थापक तथा पुँजीपतिको लागि नाफाको श्रोत हो।

मानौं, एक जना डाक्टर हस्पिटलमा एक दिनको १००० दिने गरी काममा लगाइएको छ। कामको अवधि १० घण्टा तोकिएको छ। यो अवधिमा यदि उसले हस्पिटलको ५००० बराबरको बिक्री गरिदिन्छ भने उक्त डाक्टरको २ घण्टा बराबरको श्रम उसलाई दिइएको रु १००० बराबरको पर्न जान्छ। उक्त २ घण्टा आवश्यक श्रम काल हो भने बाँकी ८ घण्टा उक्त डाक्टरले व्यर्थमा श्रम गर्नु पर्दछ। यसलाई अतिरिक्त श्रम काल भनिन्छ। अतिरिक्त श्रम गरेबापत उक्त डाक्टरले केही पनि पाउँदैन र रु ५००० बराबरको माल बिक्री गर्दा रु ४००० अतिरिक्त मूल्यको रूपमा पुँजीपतिलाई चोखो व्यक्तिगत नाफा हुन्छ।

उक्त डाक्टरलाई निर्चोनसम्म निचोरेर अतिरिक्त मूल्यमा वृद्धि गरी बढी भन्दा बढी नाफा कमाउने पुँजीपतिको चाहाना हुन्छ। यसका निम्ति उसले दुई उपायहरू अपनाउँछ। एउटा उपाय हो, अतिरिक्त मूल्य बढाउनको लागि ज्यालाको दर घटाउने भने अर्को उपाय हो उही ज्यालामा डाक्टरबाट बढी काम गराउने अथवा कार्यक्षमतामा वृद्धि गर्ने।

उक्त पुँजी सञ्चयले दुई वटा परस्पर विरोधी चरित्र जन्मन्छन्। एकातिर त्यसले नाफाको श्रम शोषणबाट लुटेको धन सम्पत्ति पैदा गर्दछ भने अर्को तिर गरिबी। उक्त अवस्थाबाट निस्कने बेरोजगारी, न्यून पारिश्रमिक, थोरै मानिसले धेरै काम काम गर्नु पर्ने बाध्यता तथा न्यूनतम हक अधिकारका लागि गरेका आन्दोलनलाई सफल हुन् दिँदैन। यस्तो किसिमको दोहोरो चरित्रद्वारा स्वास्थ्यकर्मीहरू शारीरिक, मानसिक तथा आर्थिक प्रताडनामा फसेका हुन्छन्।

मार्क्सले काम पाउने मजदुर लाही सक्रिय सेना र नपाउने मजदुर लाही जगेडा सेना भनेका छन्। मेडिकल क्षेत्रमा काम पाउने डाक्टर र काम नपाउने डाक्टरबिच कामका लागि अनावश्यक द्धन्द मच्चिन्छ। त्यस द्धन्दबाट पँुजिपति वर्ग लेनै फाइदा उठाउँछन्। हस्पिटल बाहिर जुन जगेडा डाक्टर वा स्वास्थ्यकर्मी थुप्रिन्छ त्यो पुँजीपति वर्गलाई काम लाग्छ। सक्रिय स्वास्थ्यकर्मीले मजदुरी र राम्रो सुविधाको लागि हडताल अथवा आन्दोलन गरेका बखत पुँजीपतिले वा हस्पिटलका दलाल नेतृत्वले तिनलाई हटाएर जगेडा स्वास्थ्यकर्मीबाट काम लिन्छ वा जोरी खेल्ने मजदुर लाही धम्काएर तिनलाई कडा काममा जोताउँछ। यसरी निजी क्षेत्रमा खोलिएका स्वास्थ्य कर्पोरेटका मालिकद्वारा सरकारी नीति निर्माता तहमा काम गर्ने हाकिमलाई आफ्नो पोल्टामा पारेर तलब वृद्धि हुन दिँदैनन्। किन कि सरकारी स्केलको तलब बढ्ने बित्तिकै निजी कम्पनीमा काम गर्ने डाक्टरको पनि तलब वृद्धि गर्नु पर्छ तर तलब वृद्धि हुने बित्तिकै अतिरिक्त मूल्यमा कमी आई नाफा कम हुन्छ।

विश्वव्यापी रूपमा अध्ययन गर्ने हो भने सन् २०२१ को विश्वको स्वास्थ्य क्षेत्रको धनी व्यक्तिको बारेमा तथ्याङ्क हर्ने हो भने उनीहरूसँग अकुत सम्पत्ति रहेको भेटिन्छ। उनीहरू विशेष गरी भ्याक्सिन कम्पनी, फर्मास्युटिकल, हस्पिटल, वायोफर्माका मालिक छन्। यी मालिकहरू कसरी यति धेरै सम्पत्ति थुपार्ने अवस्थामा पुगे भनेर धेरै पर जानु पर्दैन। एक, बहुराष्ट्रिय कम्पनिद्धारा जुन देशमा सस्तोमा श्रम पाइन्छ, जहाँ कच्चा पर्दाथ प्रचुर मात्रामा उपलब्ध छ, जहाँ सरकार उदार छ, जहाँ आर्थिक कारोबारमा कर छुट पाइन्छ त्यहाँ उसले लगानी गर्छ र अर्काको देशको स्रोतसाधन दोहन गरी नाफा आर्जन गरेर आफ्नो देशमा लैजान्छ।

उक्त उद्योग अथवा हस्पिटलमा काम गर्ने कामदारको अतिरिक्त श्रम काल बढाएर वा ज्याला दर घटाएर नाफाको आर्जन गर्ने। नेपाल जस्तो गरिब अविकसित मुलुकमा उत्पादन भएका स्वास्थ्यकर्मीलाई युसएमएलई, प्या ल्याब, एनक्लेक्सका नाममा आफ्नो देशमा लैजाने र गरिब अविकसित मुलुकलाई आत्मनिर्भर बन्न नदिने। पछिल्लो समयमा चारचार वर्षदेखि डाक्टरको लोकसेवाको परीक्षा नखोल्नु र स्वास्थ्यकर्मीको दरवन्दि नबढाइनुमा यही फ्याक्टरले काम गरेको छ। अचम्मको कुरा त के छ भने प्रमुख १० स्वास्थ्य क्षेत्रका धनाढ्यहरू जसरी नाफाको पुँजीद्वारा सुम्लिएका छन् त्यसको ठिक विपरीत उक्त कम्पनीका कामदारहरू रोग, भोक र न्यून पारिश्रमिकबाट प्रताडित छन्। ठ्याक्कै ठ्याक्कै यस्तै अवस्था नेपालको हकमा सरकारी र गैरसरकारी चिकित्सक र स्वास्थ्यकर्मीहरूको हकमा पनि लागू हुन्छ।

जबसम्म स्वास्थ्य क्षेत्र पुँजीपतिको हातमा रहन्छ वा नेपालको सरकार प्रमुखहरू दलाल नोकर शाहीको पक्षमा उभिन्छन् तबसम्म राष्ट्रिय स्वास्थ्य नीति, स्वास्थ्यकर्मीको विकास र हक अधिकारको सुनिश्चित हुन सक्दैन किनकि पुँजीपतिहरूलाई नाफा कमाउनको लागि जति सक्दो कम ज्यालामा काम र अतिरिक्त कामको अवधि बढाउनु पर्दछ त्यसैले उसले स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिकको विरुद्धको आन्दोलन र अतिरिक्त श्रम कालको अवधि घटाउने जस्तो सुकै आन्दोलनलाई निष्क्रिय बनाउन भरमग्दुर प्रयास गर्छ र सफल हुन्छ। त्यसमा अपत्यारिलो पाराले सरकारी क्षेत्रले पनि सहयोग गरेको हुन्छ किनकि सरकारी क्षेत्रमा निजी क्षेत्रको घुस पैठको माध्यमद्वारा सरकारी कर्मचारी दलाल नोकर शाही वर्गमा परिणत भएको हुन्छ। जसको उदाहरण पछिल्लो समयमा “एक स्वास्थ्य संस्था एक चिकित्सक” कार्यक्रम लागू भएको भोलि पल्टबाट असफल बनाइनु हो।

के यही अर्थव्यवस्थामा स्वास्थ्यकर्मीको समस्या समाधान हुन्छ ?

नेपालमा पनि डाक्टरहरूको पेसागत असुरक्षा, बेरोजगार, न्यून पारिश्रमिक र थोरै जनशक्तिले धेरै काम गर्नु पर्ने बाध्यता लगायतका विषय बस्तुमा कयौँ आन्दोलन नभएका होइनन् तर धेरै जसो आन्दोलन आन्दोलनमै सीमित भएका छन् भने केही आन्दोलनहरू सुधारवादी धारामा अलमलिएको छन्। सुधारवादी सिद्धान्तले जहिले पनि पुँजीपति वर्गको पक्षपोषण गर्दछ र कामदार वा मजदुर वर्गको मागहरू आमूल परिवर्तन नगरी क्रमशः धेरथोर माग सम्बोधन गरे जस्तो गरी टोपल्छ हो नेपालमा पनि ठ्याक्कै यही भएको छ।

त्यसैले यदि कसैले यही अर्थराजनितिक व्यवस्थाभित्र स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन गर्न सपना बाँड्दछ भने त्यो झुटको खेती बाहेक केही होइन। सामाजिक सञ्जालको भित्ताहरूमा डाक्टरहरूको तलब कम भयो, धेरै घण्टा काम गर्नु पर्‍यो, बेरोजगारी बढ्यो भनेर उफ्रिँदैमा केही हुने वाला छैन। जबसम्म अबको आन्दोलन आफू ठगिनुको कारण पत्ता नलगाईकन चरम शोषण र दमन गर्ने पुँजीपतिका (पुँजीवाद) तथा दलाल नोकर शाही ब्युरोक्रेशी विरुद्ध पयुक्त रणनीतिका साथ अगाडि बढ्दैन तबसम्म स्वास्थ्यकर्मीको माग रनभुल्लमा पर्दछ।