“प्रेम साहित्यमा यौन आउनु स्वाभाविक हो”

सुरु वर्तमानबाटै गरौँ, लक डाउनका दिनहरू कसरी बिते, बिताउँदै हुनुहुन्छ ?

लक डाउन म, हामी वा नेपाली जनताले मात्र भोगिरहेको संकट होइन । सिंगो विश्वले नै यसको सामाना गर्नुपरेको छ । त्यसैले मन त्यति धेरै उथलपुथल नहुँदो रहेछ । सायद, नेपालमा मात्र यस्तो संकट निम्तिएको हुन्थ्यो भने पक्कै त्यसको प्रभाव फरक हुन्थ्यो होला ।

कोभिड–१९ संक्रमणबाट आफूलाई सुरक्षित राख्ने सबैभन्दा उत्तम उपाय भनेको ‘होम क्यारेन्टिन’ हो । म पनि सुरुवाति दिनदेखि नै यसको अभ्यास गरिरहेको छु । परिवारसँग समय बिताउँदाको खुसी र आनन्द महसुस गर्न पाएको छु । आफ्नै केही अपूरा कामहरू पनि सिध्याउने अवसर पाएँ । पढ्न नभ्याएर थन्किएका केही पुस्तकहरूमा नजर डुलाउन पाएँ ।

तपाईँ उपन्यासकारभन्दा पहिले पत्रकार, सामान्य अवस्थामा भन्दा कोरोना माहामारीका बेला नेपालको परिपेक्षमा पत्रकारहरूले कतिको जोखिम मोल्नुपर्ने हुँदोरहेछ ? काम गर्न कत्तिको सहज रहेछ ?

जति जोखिम स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई छ त्यति नै जोखिम पत्रकारलाई पनि छ । जिम्मेवारी र भूमिका सबैको फरक–फरक भए पनि उत्तरदायित्व सबैको एउटै हो– समाज र जनता । पत्रकार पनि दिन–रात फिल्डमा खटिनु परिरहेको छ । पत्रकार सम्मेलन होस् या बालुवाटार वा माइतीघरको प्रदर्शन, पत्रकार पुगेकै छन् । मजदुर–श्रमजीवीको आवाज प्रवाह गर्न होस् या क्वारेन्टिनको भद्रगोल अवस्थाबाहिर ल्याउन, पत्रकारको उपस्थिति देखिएकै छ । यसमा सुरक्षाको कुरा आउँछ ।

अर्को कुरा, मिडिया हाउसमा आइरहेको आर्थिक मन्दीका कारण संचार माध्यमहरू संकटमा छन् । संचार माध्यमहरू संकटमा पर्नुभनेको श्रमजीवी पत्रकारको रोजिरोटी संकटमा पर्नु हो । त्यसैले जागिरको पनि जोखिम छ । यति हुँदा हुँदै पनि कोरोना महामारीले पत्रकारितामा एउटा नयाँ अभ्यासको विकास गरेको पाटोलाई भने सकारात्मकरूपमा लिनुपर्ने हुन्छ । त्यो हो, ‘वर्क फ्रम होम’ ।

पत्रकारहरू, त्यसमा पनि नवपुस्ताका पत्रकारहरू एउटै संस्थामा लामो समयसम्म टिकिरहेको पाइँदैन । किन होला ?

अवसरले गर्दा नै हो । त्यो अवसर पैसा, मिडिया हाउस र नयाँ प्रयोगसँग जोडिएको हुन्छ । पहिलो, उसले पाइरहेको तलबभन्दा अर्को ठाउँमा ५ या १० हजार बढी तलब आउँछ भने त्यो अवसर किन गुमाउनु भन्ने हुन्छ । दोस्रो, काम गरिरहेको मिडिया हाउसभन्दा अवसर प्राप्त मिडिया हाउसमा आफ्नो करियर बढी सुरक्षित देख्छ भने उसले फड्को मार्छ । तेस्रो, भनेको नवपुस्ताको नयाँ प्रयोग गर्ने चाह हो । हरेकमा नयाँ सोच र क्षमता हुन्छ, ऊ आफूले काम गरिरहेको स्थानमा यी कुरा दबिरहेको महसुस गर्छ र त्यहाँबाट हिँड्छ । कसैको लहलहैमा लागेर र सम्बन्धका आधारमा एउटा मिडिया छाडेर अर्कोमा जानेहरू पनि छन् ।

नवपुस्ताको विषयवस्तुको ज्ञान र लेखन शैली अघिल्लो पुस्ताभन्दा फरक छ । विज्ञान तथा प्रविधिको प्रयोगमा अब्बल छन् । त्यसैले मिडिया हाउस पनि उनीहरूलाई प्रयोग गर्न चाहन्छ । काम लगाउन सजिलो र खट्ने, मेहनत गर्ने बानीका कारण पनि उनीहरू मिडिया हाउसहरूको नजरमा परिरहेका हुन्छन् ।

तपाईँ उपन्यासकार पनि, पत्रकारिता गर्नु र स्वतन्त्ररूपमा लेखक कर्म गर्नु के कति रूपमा सामान र के कति रूपमा फरक पाउनुभएको छ । तुलनात्मकरूपमा कुन चाहिँ गाह्रो काम हो ?

पत्रकारितामा समाजको सत्य, तथ्य घटनालाई उजारण गर्ने काम गरिन्छ । उपन्यास लेख्नुभनेको घटनाक्रममा प्लटको प्रयोग गरेर लम्बाउने वा आफैँ कुनै घटना रच्ने काम हो । भन्नुको मतलब, दुवैको धरातल एउटै हो, तर प्रस्तुति फरक हो । मैले उपन्यासमा पात्रको छनोट गर्दा गरिबलाई धनी बनाइदिन सक्छु, रामलाई श्याम बनाइदिन सक्छु, बलात्कारीलाई मृत्युदण्ड दिन सक्छु, आफैँलाई आकासमा वायुपङ्खे घोडामा उडाउन सक्छु, तर पत्रकारितामा त्यसो गर्न मिल्दैन । गरिबलाई गरिबकै रूपमा प्रस्तुत गर्नुपर्छ, रामलाई राम नै लेख्नुपर्छ, बलात्कारीको भेद खोल्नेबाहेक उसलाई सजायको दायरा तोक्न मिल्दैन, आफूलाई हवाइजहाजमा चढाउनुपर्छ (हाँस्दै) ।

उपन्यास कल्पना हो भने समाचार सत्यता । उपन्यास सत्य घटनामा आधारित भए पनि त्यसलाई ‘फिक्सनाइज’ गरिएको हुन्छ । समाचारलाई त्यसो गर्न मिल्दैन । साहित्यको विभिन्न विधा भएजस्तै परिकारिताको पनि विधा हुन्छ । कोही समाचार लेख्छन्, कोही फिचर लेख्छन्, कोही स्टोरी लेख्छन् । समाचार लेख्न जति सजिलो छ, फिचर र स्टोरी लेख्न त्यति नै गाह्रो छ । साहित्यमा पनि ‘नन–फिक्सन’ लेख्न जति सजिलो छ, त्योभन्दा गाह्रो ‘फिक्सन’ लेख्न छ । अर्थात, पत्रकारिताभन्दा साहित्य गाह्रो छ, साहित्यमा पनि सबैभन्दा गाह्रो भनेकै उपन्यास लेख्न हो । एउटा उपन्यास तयार पार्न कम्तिमा पनि १ वर्ष समय लाग्छ ।

तपाईँको उपन्यास ‘अप्रिल फुल’बाट कस्तो पाठक प्रतिक्रिया पाउनुभयो ? स्वतन्त्ररूपमा लेखेरैमात्र बाँच्न सकिने कुरामा कतिको आशावादी हुनुहुन्छ ?

एउटा लेखकका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेकै पाठकको प्रतिक्रिया रहेछ । सायद, पाठकले मेरो उपन्यासलाई प्रेम नगरेको भए म अर्को उपन्यास लेख्ने आँट गर्दिनथेँ होला । लेखे पनि अब मैले ‘अप्रिल फुल’ भन्दा अब्बल कृति लेख्नुपर्छ भन्ने दबाब महसुस गर्दिनथेँ होला । मैले यो पुस्तक विशेष गरी युवा पुस्ता, त्यसमा पनि किशोर–किशोरीको मनोभाव, मनोविज्ञान र जीवन समेटेर लेखेको थिएँ । उहाँहरूले मिठो प्रतिक्रिया दिनुभयो ।

अहिले नेपाली साहित्यमा लेखेर मात्र बाँच्ने लेखक ८–१० जना हुनुहुन्छ । यसको सिधा अर्थ के हो भने नेपाली साहित्यकारहरूको अझै लेखेरमात्र बाँच्न सक्ने अवस्था आइसकेको छैन । फेरि बाँच्नु भनेको आफूमात्र बाँच्नु पनि होइन नि ! आफूसँगै आफ्नो परिवारलाई पनि बचाउनुपर्यो । आफ्नो हरेक आवश्यकता र जिम्मेवारी पूरा गर्न सक्ने हैसियत बन्नुपर्यो । यदि बाँच्नु आफूमात्र बाँच्नु हो र साँझ–बिहानको छाक टार्नु हो भने त्यो भने सम्भव छ । वर्षमा एउटा पुस्तक ३–५ हजार प्रति बिक्री भयो भने राम्रै पैसा हात पर्छ । लेख–रचना छाप्ने थुप्रै ‘प्ल्याटफर्म’ छन् । त्यहाँबाट पनि केही रकम आउँछ । तर, भोलि दुःख, बिरामी पर्दा कसैसँग हात फैलाउने अवस्था आउँछ भने लेखेरमात्र बाँच्न सकिन्छ भनेर किन धाक दिनु र !

अर्को पुस्तकको तयारी के छ ? विषयवस्तुको बारेमा केही सोच्नुभएको छ ?

अर्को पुस्तकको लेखन तथा सम्पादनको काम सकिएको छ । २०७७ सालभित्रै पाठकको हातमा पर्नेछ । दशैंअगाडि नै प्रकाशन हुने सम्भावना पनि छ । प्रकाशकसँग यसबारे कुराकानी हुँदै छ ।

विषयवस्तुको कुरा गर्दा लेखकको रुचि र दख्खल जे कुरामा छ उसले त्यसमै लेख्ने हो । मैले हिजो प्रेमका विषयवस्तु लेखेँ र त्यसलाई आम पाठकले मन पराइदिनुभयो । यसबाट के प्रमाणित भयो भने मैले प्रेमलाई विषयवस्तु बनाएर लेख्दा न्याय गर्न सक्दो रहेछु । मेरो जुन प्रकारको भाषा, शैली र प्रस्तुति छ त्यो प्रेम लेख्नकै लागि होजस्तो म आफैँलाई पनि लाग्छ । बरु यसका आयामहरू फरक हुन सक्लान् । प्रेम एउटा नदी हो । नदीमा पानी र ढुङ्गा मात्र हुँदैन नि ! डुङ्गा चलाएर जीवीका चलाउनेको जीवन पनि नदीसँगै जोडिएको हुन्छ । नदीमा पौडी खेलेर आनन्द लिनेहरू मात्र हुँदैनन्, नदीमा आत्महत्या गर्नेहरू पनि हुन्छन् । कसैलाई नदी सुसाएको, आफ्नै तालमा बगेको, बढ्दो बहावसँगै छालहरू फालेर अघि बढेको मन पर्ला, तर त्यही नदीले कटानी गरेर कसैको सर्वस्ब लुट्दा उसलाई कस्तो पीडा होला ! कसैले नदीको जल खाला, कसैले नदीमा मुत्र विसर्जन गर्ला । यसरी, एउटा नदीका अनेकन कथा छन् र नदीसँग जोडिने मानिसका फरक–फरक घटना र अनुभव । त्यस्तै, प्रेम पनि निकै व्यापक छ । प्रेमका पनि अनेक कथा, व्यथा र आयामहरू छन् । र, सबैभन्दा महत्वपूर्ण कुरा यी कथा, व्यथा र आयामहरू समाजसँग जोडिएका छन् । त्यसैले प्रेम लेखेर सकिने विषय होइन ।

एकखाले बौद्धिक जमातले त प्रेम र प्रणयका विषयमा लेखिएका साहित्यलाई ‘यौन साहित्य’को ट्यागसमेत भिराइदिएको छ नि !

क्यानडाका अनुसन्धानकर्ताले सन् २०१२ मा मस्तिष्कको एक भागको अध्ययन गरेका थिए । जसले भावना (इमोसन)लाई नियन्त्रण गरेको हुन्छ र त्यहाँबाट यौन चाह प्रकट हुन्छ । उनीहरूले भावना र यौन चाह आउने ‘इन्सुलर कोर्टेक्स’ बाट हो भन्नेमा स्पष्ट प्रमाण प्रस्तुत गरेका छन् ।

हामी प्रेम नभएको अवस्थामा पनि यौन छनौट गर्न सक्छौँ, तर यस्तो अवस्थामा भावनालाई नियन्त्रण गर्न गाह्रो पर्न सक्छ । यौन चाह र प्रेमले तपाईंको दिमागमा उस्तै खाले प्रतिक्रिया प्रवाह गरिरहेको हुन्छ । त्यसैले तपाईं प्रेम दर्शाउँदा यौन चाहलाई पनि नियन्त्रण गर्न सक्नुहुन्न । अथवा, यौन चाह प्रकट गर्दा म प्रेम प्रकट गरिरहेको छु भन्ने लाग्न सक्छ । यसको मतलब प्रेम र यौन मस्तिष्कका दुई फरक अनुभव होइनन् । त्यसैले प्रेम साहित्यमा यौन आउनु पनि स्वाभाविक हो ।

प्रेम साहित्यमा यौनकर्मलाई प्रोत्साहन गर्ने, समाजलाई गलत दिशामा लैजाने सन्देश दिने काम सायद कसैले गरेका छैनन् । हामीले प्रेमलाई यौन र समाजसँग जोडेर त्यसका सकारात्मक र नकारात्मक पाटो केलाउने प्रयास गरेका छौँ । मान्छेको जीवनजस्तै साहित्यमा प्रेम र यौन बगेको छ । मेरो पुस्तकको कुरा गर्दा मैले वर्तमान समय र समाजको चित्र र चरित्र उतार्ने प्रयास गरेको छु । प्रेम, यौन र मदिराको प्रयोगले मैले रचना गरेका पात्रको जीवनमा अनेकन उतार–चढाव आएका छन् ।

मेरो पुस्तक पढ्ने युवा पिढीले प्रेम, यौन र मदिराको लिमिटेसन के भन्ने कुरा मज्जाले बुझ्न सक्छन् । यसले समाज र परिवारमा पार्ने असरबारे जान्न पाउँछन् । मैले सामाजिक परिवेशमा कथा बुनेको हुँ । समाजमा के हुँदै छ र युवा पुस्ताले कुन बाटो समाउँदै छन् भन्ने कुरा कथामा छ । यसो गर्दा विकृति फैलाएको भयो कि सचेतना ? प्रेम लेख्दा ‘यौन साहित्य’ हुन्छ भने कसैले राजनीतिलाई विषय बनाएर लेख्छ भने त्यसलाई ‘भ्रष्टाचार साहित्य’ भन्ने त ? अपराध लेख्नेलाई ‘हत्यारा साहित्य’ भन्ने ? यति हुँदाहुँदै केही नवपुस्ताले विषयवस्तुको गहनता नबुझी लोकप्रियताका लागि यौनलाई चर्चाको माध्यम बनाएको कुरालाई भने नकार्न सकिँदैन ।

प्रेम नै लेखेर स्थापित भएका लेखकका रूपमा सुविन भट्टराईलाई लिने गरिन्छ । उनीपछिका नवपुस्ताका लेखकहरूलाई उनकै बाटो पछ्याएको आरोप छ । तपाईँ पनि भट्टराईले बनाइदिएकै बाटोमा हिँड्नु भएको हो ?

बाटो एउटै होला विचार, धारणा र दृष्टिकोण फरक हुनुपर्छ । एउटै बाटोमा हिँड्ने मान्छेहरू एउटै विचार बोकेर हिँड्दैनन् । प्रेम लेख्नेहरूको बाटो प्रेम नै हो । राजनीतिक बाटोबाट हिँडेर प्रेम लेख्न सकिँदैन । मैले माथि नदीलाई प्रेमसँग जोडेर हेरेको थिएँ नि । यहाँ पनि सोही कुरा लागू हुन्छ । प्रेमको आयाम, विषय, घटनाक्रम, काल–खण्ड, परिवेश निकै गहिरो र फराकिलो छ । जसरी समुन्द्रबाट एक गिलास पानी झिक्दैमा समुन्द्र सुक्दैन त्यसैगरी एक, दुई वा १० जनाले प्रेम लेख्दैमा यसको मुहान वा विषयवस्तु समाप्त हुँदैन । लेख्ने र लेखिनुपर्ने प्रेमका विषय धेरै छन् अझै । ‘फिक्सन’ भनेको भाषा, शैली र प्रस्तुति पनि हो । जुन हरेकको फरक–फरक हुन्छ ।

मेरो उपन्यास ‘अप्रिल फुल’ को कुरा गर्दा मैले प्रेम र यौनलाई समाजसँग जोडेर लेखेको छु । डान्सबारमा काम गर्ने युवतीको मनोविज्ञान, बुबा–आमाको सपना बोकेर सहर छिरेको युवकको मनोदशा, परिवारले आफ्ना छोरा–छोरीको मनोभाव नबुझ्दा उत्पन्न हुने परिणाम, प्रेममा भएको पीडा, विछोड र त्यसले उब्जाउने परिस्थिति मेरो उपन्यासका मुख्य विषय हुन् । भाषा, शैली र प्रस्तुति पनि मेरो मौलिक छ । त्यसैले कसैले खनेको बाटोमा हिँड्नु र उसको पाइला पछ्याउनु फरक कुरा हुन् । पाइला चाहिँ पछ्याउनु भएन । विषय तथा घटनाक्रममा नयाँपन र मौलिकता हुनुपर्यो । सुविन भट्टराईले प्रेमको विषयमा लेखेर नेपाली साहित्यमा उपन्यासलाई प्रेम गर्ने पाठकहरू बढेका छन् र ती पाठकहरूले हाम्रो पुस्तक पनि पढेका छन् । यसमा युवा पुस्ताले उहाँलाई धन्यवाद दिनै पर्छ, सम्मान गर्नै पर्छ । उहाँले प्रेमको बाटो खन्नुभयो अब हामीले त्यो बाटोको संरक्षण, संवद्र्धन गर्ने र त्यसलाई फराकिलो पार्ने काम गर्नुपर्छ । मेरो आगामी पुस्तकमा पाठकहरूले त्यसको अनुभव गर्नु हुनेछ भन्ने विश्वास मलाई छ ।

युवा हुनुहुन्छ, नवपुस्ताको कुरा गरौँ । तपाईँ लगायत नवपुस्ताको साहित्य लेखन लहड मात्र हो कि उनीहरू वैचारिक तथा गम्भीररूपमै साहित्यमा होमिएका छन् ? यो पुस्ताले नेपाली साहित्यलाई नयाँ उचाइ दिन सक्ला त ?

सबै गम्भीर भएर साहित्यमा लागेका छैनन् । कोही रहरले त कोही लहडले लागेका छन् । धेरैमा एउटा पुस्तक प्रकाशन गरेपछि सेलिब्रेटी भइन्छ भन्ने भ्रम छ । यसो हुँदा लेखनमा गहनता र वैचारिक पक्ष कमजोर हुने भइहाल्यो । कमसल रचना आउँदा पाठकहरू पनि भड्किने सम्भावना हुन्छ । लेखक पनि फ्रस्टेड हुन्छ । नवपुस्ता प्रतिको विश्वासमा संकट आउने अवस्था आउँछ । अहिले भइरहेको यही हो । केही राम्रा सिर्जनाको बीचमा धेरै लहडमा आएका सिर्जनाहरू मिसिनु गम्भीररूपमा साहित्यमा लागेका नव पुस्ताका लागि दुःखद् छ । यसमा लेखक आफ्नै र यस्ता सिर्जना छाप्ने प्रकाशन गृहको पनि कमजोरी छ । यदि सबै आ–आफ्नो ठाउँबाट गम्भीर भएर लेखनमा लाग्ने हो भने यो पुस्ताले नेपाली साहित्यलाई एउटा उचाइमा पक्कै पुर्याउने छ । अहिलेको अवस्थामा भने यसै भन्न सकिन्न ।

पत्रकारिताको अनुभवमा, नवपुस्ताका साहित्यकारहरूको शक्ति र कमजोरीहरू के–कस्ता पाउनु भएको छ ? नवपुस्ता पनि गुट र उपगुटमै त अल्झिरहेका छैनन् ?

साहित्यमा सबैभन्दा ठूलो शक्ति भनेको लेखन नै हो । तर, भाषा, शैली र प्रस्तुति मात्र भएर पुग्दैन । एउटा लेखकमा आफूले लेख्ने विषयवस्तुमा राम्रो पकड र ज्ञान हुन आवश्यक छ । विज्ञान तथा प्रविधिको विकासले हातमै संसार छ । यसको प्रयोगले सहजै पकड र ज्ञानमाथि कब्जा जमाउन सक्ने अवस्था छ । र, विस्तारै नव पुस्तामा यो अभ्यास भइरहेको पनि छ । यति हुँदाहुँदै पनि लेखनको प्राविधिक पक्षमा यो पुस्ता निकै कमजोर छ । कुनै पुस्तक र लेखकको समीक्षा गर्ने भनेको उसले लेखेको पुस्तकमा प्राविधिक पक्ष कत्तिको बलियो छ भन्ने आधारमा हो । लेखनमा यसलाई ‘टेक्निकल इरर’ भन्ने गरिन्छ । मलाई धेरैले पुस्तक सम्पादन गर्ने जिम्मा दिनुहुन्छ । उहाँहरूको लेखन र विषयवस्तु गज्जब हुँदाहुँदै पनि मलाई यस्तै कुराले निराश गराउँछ । यसलाई नव पुस्ताले सुधार गर्ने हो भने उनीहरूको कृति अब्बल आउने पक्का छ । यो समस्या किन देखिएको हो भने हामी राम्रा पुस्तक मात्र पढ्न खोज्छौँ । नराम्रा भनिएका पुस्तक पनि पढेर तिनमा रहेको कमजोरी केलाउने काम पनि गर्ने हो भने यो समस्या धेरै हदसम्म हट्ने विश्वास मलाई छ । अर्को कुरा प्रकाशित भएका नवपुस्ताका केही पुस्तक डायरीको छिपोटजस्ता छन् । उपन्यासमा हुनुपर्ने प्रस्तुति, शैली र क्रमबद्धता नै छैन ।

गुट र उपगुटमा लाग्ने भनेको अवसरको खोजीमा हो । नव लेखकले सम्पर्क स्थापित गर्न कुनै गुटको सहारा लिनुपर्छ । गुटमार्फत आफूभन्दा अग्रजबाट केही जान्ने, सिक्ने अवसर प्राप्त हुन्छ । तर, कुनै गुट एउटा गुटको आलोचना र अर्कोको पक्षपोषण गर्ने खालको हुनु हुँदैन । गुट साहित्यिक प्रतिस्पर्धाको माध्यम हुनु हुँदैन । ज्ञान र अनुभवहरू आदान–प्रदान गर्ने अवसर हुनुपर्छ । गुट कसैलाई तल खसाल्न र कसैलाई माथि उठाउन क्रियाशील हुनु हुँदैन । नयाँ र पुराना साहित्य सिर्जनाको छलफल तथा समीक्षा गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यको चर्चा गर्ने साथीहरूको समूह हुनुपर्छ ।

भोलिको साहित्यिक यात्राको बारेमा के सोच्नु भएको छ । निरन्तरता दिनुहुन्छ ?

भविष्यमा के, कस्तो मोड आउने हो अगामी यात्रा पनि त्यहिँबाट निर्धारण होला तर, परिस्थिति सबै ठिक भए साहित्य लेखनमा मेरो कलम पनि रोकिने छैन । एउटा पुस्ताले प्रेम लेख्ने लेखकलाई साहित्यकार मान्दैन भन्दैमा म प्रेम लेख्न छाडेर राजनीति लेख्ने काम भने गर्दिन । म प्रेम लेख्छु यसको मतलब यो होइन कि मलाई राजनीतिको ज्ञान छैन । पत्रकारितामा मैले हरेक विषय र विधामा कलम चलाइरहेको छु । मैले लेख्ने पाठकका लागि हो र पाठकले जबसम्म मलाई स्वीकार्नुहुन्छ तबसम्म म पाठककै लागि लेख्नेछु । (साहित्यपोस्टबाट)