नेपाली म्यूजिक भिडियो धमाधम विदेशमा छायांकन हुँदै, मकाउबाट यस्तो बनेर आयो शान्ती र कुशलको ‘भुल गरेछु’

काठमाडौँ । गायक कुशल गुरुगंको नयाँ गीत ‘भुल गरेछु’को म्यूजिक भिडियो बजारमा आएको छ । गायक स्वयमकै शब्द रहेको गीतमा गायक तथा संगीतकार तुला पर्वतको संगीत रहेको छ । महेश बिक्रम पाण्डेको एरेन्ज रहेको गीतमा गायक कुशलकै अभिनय देख्न सकिन्छ । जसमा प्रेममा धोका भएको दृश्यलाई निर्देशक तुला पर्वतले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् । एकतर्फी मायामा डुबेका कुशलले आँफुलाई धोका भएको महशुस गर्दै विछोडको पिडामा छटपटाइरहेका दृश्यहरु भिडियोमा देख्न सकिन्छ ।

कुशलले आफ्नो प्रेम पाउन लाख कोशिस गरेता पनि असफल भएसँगै उनले भुल गरेछु मैले भन्दै पहिलो मायाबाट हार खाएको निश्कर्ष निकालेका छन् । अभिनयमा कुशललाई शान्तीले साथ दिएकी छिन् । शान्तीको अभिनयबाट पनि राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ । संगीतकार तुलाकै निर्देशनमा तयार भएको भिडियोको सबै काम मकाउमा नै गरिएको हो । निकै चुनौती मोलेर छायांकन सम्पन्न गर्दै रोमाञ्चक सिनहरु भिडियोमा आँफुले लिन सफल भएको निर्देशक तुला बताउँछन् । भन्छन् ‘मकाउका रमाइला र मनमोहक दृश्यहरुले दर्शकलाई अझै रोमाञ्चक बनाउँने आशा छ ।’ भिडियोको सम्पादन र छायांकन पनि निर्देशक तुलाकै रहेको छ । जसको निर्माता हुन् शान्ती राई । हेर्नुहोस् भिडियो |