ढुक्क हुनुहोस् वैशाखमा तोकिएको समयमा नै चुनाव हुनेछ, चुनाव हुँदैन भनेर कतिपयले भ्रम सिर्जना गरेका छन् । :प्रधानमन्त्री ओली

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाख १७ र २७ गते चुनाव भएरै छोडने ठोकुवा गरेका छन् ।
आइतबार ओली खेमाको विद्यार्थी संगठन अनेरास्ववियुले गरेको बृहत कार्यकर्ता भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले २०७८ सालको बैशाखमा चुनाव हुने भन्दै कतिपयले चुनाव हुँदै हुँदैन भनेर भ्रम छरिरहेको बताए ।

बबरमहलमा ओली समूह निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले आयोजना गरेको बृहत कार्यकर्ता भेलामा उनले तोकिएकै समयमा चुनाव गराएर छोड्ने दाबी गरेका हुन् ।

उनले बैशाख १७ र २७ गते चुनाव हुने र त्यसलाई कुनै शक्तिले पछि धकेल्न नसक्ने दावी गरे । सर्वोच्च अदालतमा धेरै निवेदन दिएको र त्यसको जवाफ दिएर आएको बताउँदै उनले विघटित संसद नबौरिँने र नयाँ चुनाव भएरै छोड्ने बताए । उनले अंग्रेजी वर्षको नयाँ वर्षमा गलत चिजहरु, संविधान विरोधी शक्तिहरु, गणतन्त्र विरोधी शक्तिहरु पराजित हुने, शान्ति, लोकतन्त्र पक्षधर शक्तिहरुको विजय हुने दावी गरे ।

ओलीले पार्टीबिरुद्ध ३ सय १५ बैठक भएकोमध्ये २ सय ८० बैठक खुमलटारमा बसेको दावी गरे । उनले प्रचण्डले पार्टीविरुद्ध अगेनाको डिलमा समेत बैठक बसेको उल्लेख गरे । उनले पार्टीका नेताहरु कसरी सरकारलाई असफल पार्नका लागि मात्रै बैठक बस्ने गरेको दावी गरे । ओलीले बितेका ३ वर्षमा पार्टी गतिशील नभएको र अहिले आएर अनेरास्ववियु गतिशील भएको उल्लेख गरे ।