एकै दिन बेलायतमा ५७ हजार ७ सय संक्रमित थपिए !

काठमाडौँ :
कोरोना भाइरस (कोभिड– १९) को नयाँ संस्करणको प्रकोपबाट संकटग्रस्त बनिरहेको बेलायतमा शनिबार एकै दिन ५७ हजार सात सय २५ जना संक्रमित थपिएका छन् । संक्रमितको संख्या निरन्तर बढिरहेकाले बेलायत सरकारले भोलि सोमबारदेखि सुरु हुन लागेको प्राथमिक स्कुलको नयाँ शैक्षिक सत्र सुरु नगर्न निर्देशन दिएको छ ।

नयाँ संस्करणको कोरोना भाइरसबाट विशेष गरी लन्डन, दक्षिण पूर्व इंग्ल्यान्ड बढी प्रभावित भएका छन् । यी क्षेत्रमा पूर्व अनुमान गरिएभन्दा पनि बढी संक्रमित फेला पर्न थालेका छन् । भाइरस नियन्त्रण गर्नका लागि कडा खालका नियम अपनाउनुपर्ने अवस्था छ । स्वास्थ्यसचिव म्याट ह्यानककका अनुसार पछिल्लो एक सातामा लन्डनमा संक्रमितको संख्या निरन्तर बढेको मात्रै छैन अस्पतालमा उपचार गर्न जानेको संख्या पनि बढिरहेको छ । जसका कारण अस्पतालमा भिडभाड हुन थालेको छ ।

बेलायतमा शुक्रबार ५३ हजार दुई सय ८५ जनामा कोभिड– १९ संक्रमण फेला परेको थियो । यसमध्ये ६ सय १३ जनाको मृत्यु भएको थियो । योसहित बेलायतमा हालसम्म ७४ हजार जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का अनुसार आगामी साता बेलायतको अवस्था अझै खराब हुन सक्ने चेतावनी दिएका छन् ।