नयां वर्षको कोशेली दिकेश प्रजापतिको ‘तिमीसंगै रम्न पाउं’ भन्ने गीत सार्वजनिक

न्युयोर्क

विगत ५ वर्षदेखि अमेरिकामा बस्दै आएका गायक दिकेश प्रजापतिले नयां वर्षको उपलक्ष्यमा एक गीत सार्वजनिक गरेका छन् ।
आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक ‘तिमीसंगै रम्न पाउं’ भन्ने गीतलाई दिकेश प्रजापतिले स्वर दिएका हुन् भने गीतका रचनाकार तथा संगितकार न्युयोर्क निवासी ओम कर्माचार्य हुन् ।

यसअघि ३ वर्षअगाडी दुई गीतहरु ‘घर त तिम्रो पोखरा’ र ‘एकफेर’ सार्वजनिक गरेका प्रजापतिले लामो समयपछि नयां गीत सार्वजनिक गरेका हुन् ।
‘यो ३ वर्ष अमेरिकाको एक बहुराष्ट्रिय कम्पनीमा काम गर्दैजांदा संगितमा त्यतिधेरै ध्यान दिन पाएको थिइन तर अहिले भने आफ्नो प्यासनलाई निरन्तरता दिन पाएको छु, ’ उनले भने । ‘अब छिट्टै नयां एल्बमको तयारी गर्दैछु।’

प्राय गायकहरुले आफ्नो गीतमा आफै मोडलिङ गर्छन् तर प्रजापतिले यसमा अरुलाई नै खेलाएका छन् । ‘मलाई मोडलिङमा भन्दा पनि गीत गायनमा रुचि छ र यो मेरो विधा पनि हो त्यहि भएर मैले भिडियोमा देखिन चाहिन,’ उनले भने ।