बालेनको टिप्पणी- भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा म अपराधी, आजै प्रधानमन्त्रीज्युले छुट पाउनुभयो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा आफू अपराधी भएको तर प्रधानमन्त्रीले छुट पाएको टिप्पणी गरेका छन् ।

उनले सर्वोच्च अदालतले आफूलाई दिएको तारिख पर्चा देखाउँदै सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो टिप्पणी गरेका हुन् । उनले आफू तारिखमा जान थालेकाे बताउँदै आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने भारतले प्रधानमन्त्री बनाउँछ भन्ने अभिव्यक्तिमा छुट पाएकाे बताए ।

‘आज एउटा विशेष दिन आजबाट म तारिखमा छु, भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा’, उनले लेखेका छन्, ‘र आजै प्रधानमन्त्रीज्युले छुट पाउनु भयो, भारतले यो देशको प्रधानमन्त्री बनाउँछ भन्दा । म आजबाट अपराधी ।’

उनले आदिपुरुष महानगरपालिकाभित्र चल्न नदिने अडानविरुद्ध परेको मुद्दामा तारिख पाएका हुन् ।