भाग्यले जित्याे सर्वाधिक पाँच अवार्ड

काठमाडौं । काठमाडौंमा तीन दिनसम्म सञ्चालन भएको ११ औं संस्करणको नेपाल–अफ्रिका फिल्म फेस्टिवलमा नेपाली फिल्म ‘प्रकाश’ ले सर्वोत्कृष्त नेपाली फिचर फिल्मको अवार्ड जित्न सफल भएको छ ।

सोमबार साँझ सम्पन्न भएको महोत्सवमा अन्तर्राष्ट्रिय विधातर्फ लिसिनियो एजेभेदी निर्देशित मोजाम्बियाको फिल्म ‘द ट्रेन अफ साल्ट एण्ड सुगर’ ले सर्वोत्कृष्ट अफ्रिकन फिचर फिल्मको अवार्ड जितेको छ ।

गीति चलचित्र ‘भाग्य’ ले महोत्सवमा सर्वाधिक पाँच वटा अवार्ड जित्न सफल भयो । यो फिल्मले जुरी अवार्डसहित सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड अभिनेत्री नीता ढुंगानाले जितिन् । ‘भाग्य’ बाटै रोशनकुमार श्रेष्ठले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारे । ‘भाग्य’ बाट अभिनेतातर्फको जुरी अवार्ड अभिनेता एसराज सुरज गराचले प्राप्त गरे भने सह–अभिनेताको अवार्ड सुनिल कटुवालले प्राप्त गरे ।
कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनले आयोजना गरेको यो महोत्सवमा अन्तर्राष्ट्रियतर्फ ११ देशका १० वटा अफ्रिकन फिल्म तथा नेपालका १२ वटा लामा–छोटा फिल्म प्रदर्शन गरिएको थियो ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति तथा संगीतकार शम्भुजीत बासकोटाको प्रमुख आतिथ्यमा आयोजित समापन समारोहमा बेस्ट अफ्रिकन डक्युमेन्ट्रीको अवार्ड जिम्बावेको वृत्तचित्र कलिङ द डेडले जित्यो भने बेस्ट अफ्रिकन सर्ट फिल्मको अवार्ड केन्या र जर्मनको कात्जा बेनरज निर्देशित सर्ट फिल्म बाटु वाटोले जित्यो । घानाको सर्ट फिल्म याबाट निर्देशक इसी ह्यामोहले जुरी अवार्ड जितिन् ।

अन्तराष्ट्रियतर्फ अफ्रिकन फिल्मको निर्णायकमा अभिनेता आर्यन सिग्देल, निर्देशक सुदर्शन थापा, पत्रकार पारस प्रकाश नेपाल, गायिका तथा आदिवासी संगीतविज्ञ भुमा लिम्बु तथा अभिनेता, गायक तथा फेसन टोक्नोलोजी विशेषज्ञ फुपु तेन्जिङ शेर्पा थिए ।

राष्ट्रिय विधातर्फ नेपाली फिल्मको प्रतिस्पर्धामा ‘प्रकाश’ बाट निर्देशक दिनेश राउतले सर्वोत्कृष्ट फिल्मको अवार्ड जिते । प्रकाशबाटै विकास सुवेदीले सर्वोत्कृष्ट स्क्रिप्ट तथा ‘मान्छे मान्छे’ गीतबाट एलिस कार्कीले सर्वोत्कृष्ट संगीतकारको अवार्ड हात पारे । सर्वोत्कृष्ट अभिनेताको अवार्ड चलचित्र ‘प्रेमगञ्ज’ तेज गिरीले जिते ।

सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड चलचित्र ‘परिवार’ बाट बसुन्धरा भुसालले हासिल गरिन् भने सर्वोत्कृष्ट छायांकनको अवार्ड चलचित्र ‘हुक्का’ बाट कृष्णबहादुर थापाले तथा सर्वोत्कृष्ट सम्पादकको अवार्ड चलचित्र ‘परिवर्तन’ बाट वीरेन्द्र भाट विपीनले प्राप्त गरे ।

नेपालीतर्फ नै बेस्ट सर्ट फिल्मको अवार्ड प्रधुम्न मिश्र निर्देशित लोकेसन नेपालको फिल्म ‘दुविधा’ ले पायो भने बेस्ट डक्युमेन्ट्रीको अवार्ड ‘डेडिकेसन’ ९समर्पण० बाट निर्देशक रोशनी केसीले प्राप्त गरिन् ।

स्टुडेन्ट फिल्मको प्रतिस्पर्धामा नेपाल फिल्म क्याम्पसका सामलकुमार बज्राचार्यले चलचित्र ुहावाम्यानु बाट बेस्ट स्टुडेन्ट फिल्मको अवार्ड जिते ।

राष्ट्रियतर्फको निर्णायकमा निर्देशक सत्यराज चौलागाईं, एरेन्जर अमोस तामाङ, गायकद्वय नमराज ढुंगाना, नारायण थापा र ध्वनि सम्पादक मनोज परियार थिए ।

समारोहमा आआफ्नो क्षेत्रमा योगदान पुऱ्याएको भन्दै अन्तर्राष्ट्रिय इभेन्ट डिरेक्टर निशुकान्त झा, अन्तराष्ट्रिय मेकअप आर्टिस्ट सुष्मा पौडेल ९गीता० र संगीतकार सरोज कोइराला सम्मानित भए ।

महोत्सवको दोस्रो दिन वीरेन्द्र हमालले माइम एक्टसम्बन्धी विभिन्न १८ जना विद्यार्थीलाई एक दिवसीय अभिनय प्रशिक्षण दिएका थिए ।

महोत्सवमा नेपाली सर्ट फिल्मको अन्तर राष्ट्रिय बजार विषयमा भएको अन्तक्रियामा चलचित्र विकास बोर्ड सदस्य राजु केसी, यस महोत्सवका कोअर्डिनेटर चिरञ्जीवी गुरागाईं, निर्देशक तथा समीक्षक मनोज पण्डित, सर्ट फिल्म निर्माता सुशान्त श्रेष्ठले नेपाली सर्ट फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा कसरी पुऱ्याउने भन्ने विचार राखे । अन्तर्क्रियालाई सञ्चारकर्मी विष्णु सुवेदीले सहजीकरण गरेका थिए ।

समारोहमा संगीतकार बासकोटाले यस महोत्सवले अफ्रिकीलाई फ़िल्मबाट नेपालसँग जोड्ने काम गरेको बताए । नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले नेपालमा फिल्म महोत्सव गर्न निकै गाह्रो हुँदाहुँदै पनि ११ संस्करणसम्म गर्नु महोत्सवको सफलता भएको बताए ।

निर्माता संघका अध्यक्ष नवल खड्का, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, कलाकार संघका महासचिव सविन श्रेष्ठ, कोसी प्रदेशकी सांसद मीना श्रेष्ठलगायतले महोत्सवले नेपाली र अफ्रिकी फिल्मलाई प्रोत्साहन गरेको बताए ।

आयोजक संस्थाकी अध्यक्ष तथा फेस्टिवल निर्देशक डा। मञ्जु मिश्रले अफ्रिका र नेपालीको अवस्था उस्तै भएकाले दुवैतर्फका चलचित्रको प्रोत्साहनका लागि महोत्सव गर्दै आएको बताइन् ।

महोत्सवको सह–आयोजकमा चलचित्र विकास बोर्ड र विलक्षण क्रियसन प्रालि रहेका थिए ।