पथरीशनिश्चरे नगरपालिकाको बजेट ७१ करोड १७ लाख

पथरी। मोरङको पथरीशनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि ७१ करोड १७ लाख ४१ हजार ८०० बजेट ल्याएको छ ।

हिजो (आइतबार) १३ औँ नगरसभा सम्पन्न गरेको नगरले आज (सोमबार) पत्रकार सम्मेलन गरी नीति तथा कार्यक्रमका बारेमा जानकारी गराएको हो ।

गत आर्थिक वर्षको तुलनामा संघीय तथा प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा प्राप्त हुने सशर्त, समपुरक र विशेष अनुदानमा १०.८३ प्रतिसतले कटौती भएपछि ७१ करोड १७ लाख ४१ हजार ८०० बजेट ल्याउन सकिएको नगर प्रवक्ता नवीन कार्कीले बताउनुभयो ।

सभाले शिक्षा क्षेत्रमा २ करोड ५० लाख ९६ हजार, स्वास्थ्यमा १ करोड ८९ लाख ८५ हजार, कृषिमा ९४ लाख १० हजार ६००, पशुपंक्षि विकासमा ३९ लाख, लक्षित वर्गमा १ करोड १९ लाख ७४ हजार १६६, युवा तथा खेलकुदमा ३७ लाख २० हजार, सहकारी, उद्यमशीलता र प्रधानमन्त्री रोजगार कार्यक्रममा १७ लाख, वन वातावरण तथा संस्थागत सुदृढीकरणमा २६ लाख र बाकी रहेको ६३ करोड ४३ लाख ५६ हजार ०३४ रुपैँया पूर्वाधार निर्माण, मर्मत् सम्हार तथा विपद व्यवस्थापनको क्षेत्रमा खर्च गरिने प्रतिवेदनमा उल्लेख छ ।

प्रस्तुत बजेटमा नगरको आन्तरिक आम्दानी, संघ, प्रदेशको अनुदान तथा नगरमा रहेको अल्या रकमका बारेमा उल्लेख गरिएको छैन् । नगरमा सञ्चालनमा रहेका अपुरा, अधुरा योजनाका र त्यसको बजेटका विषयमा पनि प्रतिवेदनमा उल्लेख गरिएको छैन् ।

सभाले अन्तर स्थानीय तहसँगको सहकार्यमा फोहोर व्यवस्थापन केन्द्र निर्माण, विपन्न नागरिकसँग उपमेयर कार्यक्रम लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णय गरेको छ । सभाले स्थानीय वन ऐन २०८० लाई स्वीकृत गरेको छ ।