एनआरएनए इंग्ल्याण्डमा अध्यक्ष उम्मेदवारमा मिडल्यान्डका युवा व्यवसायी अर्याल

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको यही जुलाई २२ मा हुने निर्वाचनमा इंग्ल्याण्ड राज्य समन्वय परिषदको अध्यक्षमा शम्भुप्रसाद अर्यालले उम्मेद्वारी दिएका छन्।

बेलायतको मिडल्याण्ड नटिङहमका सफल युवा व्यवसायी अर्याल विभिन्न सामाजिक संघसंस्थाको अनुभवपछि एनआरएनए इंग्ल्याण्डको नेतृत्व लिन अघि बढेका हुन्।

नेपाली समाज नटिङहम, साझा नेपाली समाज यूके, गुल्मी जिल्ला समाज यूकेसहितका थुप्रै संघसंस्थामा महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् उनले। व्यक्तिगत एवम् संस्थागत दुवै माध्यमबाट उनी सामाजिक कार्यमा सधैं अग्रसर रहंदै आएका छन्।

डेढ दशकअघि नै एनआरएनए यूकेको सदस्यता लिएका अर्याल त्यसयता अभियानमा निरन्तर सक्रिय छन्। पछिल्लो समय एनआरएनएमा मिडल्याण्डको सहभागिता बढाउने क्रममा पनि उनी अग्रपंक्तिमा खटिंदै आएका छन्।

गुल्मीको चन्द्रकोट तुराङ घर भएका अर्याल सन् २००५ देखि बेलायतमा छन् । उनले वेल्स, स्कटल्यान्ड, लन्डन, म्यानचेष्टर, बर्मिङम हुँदै लामो समयदेखि नटिङहममा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका छन्।

बेलायत आउनुपूर्व दुबइमा पाँच वर्ष रहंदा पनि अर्याल त्यहाँ कार्यरत नेपालीहरुको पक्षमा क्रियाशिल थिए।

विभिन्न सामाजिक संस्था एवम् अभियानको अनुभव अब एनआरएनएको कार्यकारी भूमिकामा उपयोग गर्ने योजना अर्यालको छ ।

एनआरएनए अभियानलाई इंग्ल्याण्डका हरेक नेपालीसम्म पुर्‍याउने संकल्प उनले गरेका छन्।

एनआरएनएजस्तो पवित्र अभियानलाई बद्नाम गर्नेहरुलाई निरुत्साहित पार्न आफ्नो प्रभावकारी भूमिका रहने उनको प्रतिवद्धता छ।
Source : नेपाली लिङ्क