यी दुई कारणले सामाजिक सञ्जालमा भाइरल बन्यो यो बाघको सालिक !

अहिले सामाजिक सञ्जालमा बाघको सालिक खोज्दै फोटो राख्ने ट्रेन्ड चलेको छ । आफूले खिचेका बाघको सालिकको फोटो राख्दै प्रयोगकर्ताहरू वीरेन्द्रनगर नगरपालिका-४, सुर्खेतमा बनाइएकाे भाइरल बाघको सालिकसँग तुलना गरिरहेका छन् ।

त्यसबाहेक पनि आफ्नो क्षेत्रमा बनेका गाई, भैँसी, सुँगुर, दुम्सी आदिका सालिकको फोटो राख्दै चर्चामा ल्याउने प्रतिस्पर्धा चलेको देखिन्छ । वीरेन्द्रनगरको प्रादेशिक सहिद पार्कमा बनेको बाघको सालिक दुई कारणले भाइरल छ ।

एउटा बाघको स्वरूप र अर्को सालिक बनाउन लागेको शुल्क । भाइरल भएको उक्त बाघको सालिक एउटै ढुङ्गाबाट निर्माण गरिएको र हतारमा निर्माण भएकाले स्वरूप त्यस्तो भएको उक्त सालिक निर्माण गर्ने कम्पनीका सञ्चालक कृष्णकुमार श्रेष्ठले एक अन्तर्वार्तामा भनेका छन् ।काठमाडौंबाट बोलाएको कालीगढले हतारमा बनाउन खोज्दा त्यस्तो भयो,” उनी भन्छन्, “एउटै ढुङ्गाबाट बनाउनुपर्ने भएकाले केही मोटो देखिएको छ । हामी मिलाउँछौं ।”

त्यस्तै उक्त सालिक बनाउने जिम्मा पाएको भैरव सामुदायिक वन उपभोक्ता समितिका सह-सचिव अमरबहादुर कार्की भन्छन्, “यसको स्वरूप नमिलेर भाइरल भएको एउटा कुरा छ । अर्को यसको मूल्यको विषयले चर्चा पाएको छ । ५० हजारमा बनाएको मूर्तिलाई १३ लाख भन्दै भाइरल गराइएको छ ।”सामाजिक सञ्चालनमा हल्लाको भरमा मूल्य राख्दा त्यसले नकारात्मक प्रभाव परेको कार्कीको भनाइ छ ।

यस विषयमा टेकपानासँग कुरा गर्दै वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष शेरबहादुर केसीले भने, “यो एकजना भिम उपाध्याय भन्ने मान्छेले फैलाउनुभएको भ्रम रहेछ । स्वरूप बिग्रियो, त्यसमा कुरा उठाउनुपर्छ । तर हुँदै नभएको लागत खर्च देखाएर थप चर्चाको विषय बनाउन खोज्नुभयो ।”उक्त विषयमा सामाजिक सञ्जालमा लेख्नुअघि सम्बन्धित समिति वा व्यक्तिसँग कुरा गर्नुपर्ने केसीको भनाइ छ ।

“सर्वसाधारणले पनि उहाँहरूको कुरा विश्वास गर्नुभयो,” अध्यक्ष केसी भन्छन्, “यसरी अनावश्यक रूपमा चर्चाको विषय बनाउनुभन्दा कमजोरी केलाइदिएको भए मात्र पनि सालिक पुनर्निमार्ण गर्ने कार्य अघि बढ्थ्याे ।”यसैबीच चौतर्फी आलोचना भएपछि बाघकाे सालिक मर्मत गरिने भएको छ ।