‘केपी ओली मेरो घरमा आए म कार्पेट ओच्छ्याएर स्वागत गर्थें’ : माधव नेपाल

काठमाडौं, १४ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता अस्विकार गरेको भन्ने समाचारमा सत्यता नभएको स्पष्ट पारेका छन् ।

आज (बिहीबार) पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम मिटिङलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले यस्तो स्पष्टीकरण दिएका हुन । सम्बोधनको क्रममा उनले भने,‘कमरेड केपी ओली मेरो घरमा आउन खोज्दा मैले अस्वीकार गरेको भनेर पनि कुरा आएको छ । यसमा सत्यता छैन । उहाँ आए म कार्पेट ओच्छ्याएर स्वागत गर्थें ।’

अध्यक्ष नेपालले आफूलाई राष्ट्रपति बनाउनेबारे समझदारी भएको भनेर बाहिर आएको समाचारमा पनि कुनै सत्यता नभएको दाबी गरे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा एमालेसहितको सरकार गठन भएपछि एमाले–एकीकृत समाजवादीको एकताको कुरा बाहिर आएको छ ।

एमालेका कतिपय नेताहरुले माधव नेपाललाई राष्ट्रपति दिन ओली सकारात्मक रहेको टिप्पणी गर्न थालेका छन् । तर, नेपालले भने आफूलाई राष्ट्रपति बनाउने समझदारी भएको कुरा हल्लामात्रै भएको प्रतिक्रिया दिए ।

उनले एमाले र आफ्नो पार्टीबीच सहकार्यको सम्भावनालाई भने नकार्न सकेनन् । पार्टी एकताको लागि दुवै पक्ष तयार हुनुपर्ने र पुरानै कुरामा अलमलिन नहुने उनको तर्क छ । उनले प्रचण्डको नेतृत्वमा सरकार बनेपछि वाम एकताको सम्भावना बढेर गएको सुनाए ।