भगवान भण्डारी भन्छन् – अग्रजहरू नै छाडा दोहोरी गाइराखेका छन्, अनुजहरूसँग के गुनासो गर्नु !

गीतसङ्गीतमा विकृति भित्रिएको गुनासो हुन थालेको लामो समय भइसकेको छ ।

विशेष तः दोहोरी गीतको क्षेत्रमा यो गुनासो अझ बढी सुन्ने गरिएको छ । अझ, पछिल्लो समय युट्युबमा सार्वजनिक हुने लाइभ दोहोरीहरु निकै नै उश्रृङखल (जसलाई धेरैले फोहोरी भन्ने गरेका छन्) हुने गरेको गुनासो सुनिन्छ ।

लाइभ दोहोरीमा बालबालिकाहरूको प्रयोग बढिरहेको समेत गुनासो आइरहेका छन् । चर्चा र डलरको लोभमा लाइभ दोहोरीमा विकृति आइरहेको स्रोता/दर्शक एवं सरोकारवालाहरु गुनासो गर्छन् । पुराना चर्चित लोकगायक भगवान भण्डारीले अग्रजहरूले नै छाडा दोहोरी गाइरहेको गुनासो गरेका छन् ।

दोहोरीमा छाडा शब्दहरूको प्रयोग बढिरहेको गुनासो आइरहेको सन्दर्भमा उनले फेसबुकमा लेखेका छन्, ‘अग्रजहरूले नै छाडा दोहोरी गाइराखेका छन्, अनुजहरूसँग के गुनासो गर्नु!’
उनको स्टाटस्मा आएका प्रतिक्रियाहरु सकारात्मक छन् । कतिले लोक गायक/गायिकाहरूको नाम नै लिएर उनीहरूले दोहोरीमा विकृति भित्र्याएको भण्डारीको स्टाटसमा प्रतिक्रिया दिएका छन् ।

पछिल्ला वर्ष अमेरिकामा रहेका गायक भगवान भण्डारीले ‘खैरेनीमा गेट’, ‘बनमा काँडा छ’,फूलमा भमरा’जस्ता हिट लोकदोहोरी गीत दिएका छन् ।

आज पनि उनका लोकदोहोरी गीतलाई स्रोता दर्शकले सम्झिने गरेका छन् ।