दोहोरीगीत प्रतिष्ठानको ८ औं केन्द्रीय महाधिवेशन फागुनमा धादिङमा हुने

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको ८ औं केन्द्रीय महाधिवेशन फागुनमा गर्ने तयारी गरिएको छ ।

मंगलबार बसेको प्रतिष्ठानको विशेष बैठकले आगामी फागुन १२ देखि १४ गतेसम्म धादिङको सदरमुकाम धादिङबेशीमा महाधिवेशन गर्ने निर्णय गरिएको अध्यक्ष रमेश बिजीले जानकारी दिए ।

मंगलबारको बैठकले महाधिवेशनको मिति तोक्नुका साथै अन्य केही महत्वपूर्ण निर्णयहरु समेत गरेको छ ।

नव निर्वाचित जिल्ला, समन्वय, विदेश एवं प्रदेश शाखाका अध्यक्षहरुलाई बधाई एवं संस्थागत प्रशिक्षण कार्यक्रमको मिति समेत तय गरिएको छ ।

माघको ६ र ७ गते चितवनको सौराहामा उक्त कार्यक्रम हुने प्रतिष्ठानले जनाएको छ । संस्थापक अध्यक्ष अमर विरही गुरुङलाई सम्मान स्वरुप मासिक ५ हजार रुपैयाँ संस्थागत सेवा भत्ता आजिवन प्रदान गरिने महत्वपूर्ण निर्णय समेत प्रतिष्ठानले गरेको छ ।

तीन वर्षअघि पोखरामा सम्पन्न प्रतिष्ठानको सातौं महाधिवेशनबाट रमेश बिजी अध्यक्षमा निर्वाचित भएका थिए ।