अभिनेत्री सामन्था रूथ प्रभुले किन छाडिन् बलिउड फिल्म?

दक्षिण भारतीय अभिनेत्री सामान्था रूथ प्रभुले बलिउड फिल्म छाडेकी छन्।

भारतीय सञ्चार माध्यमका अनुसार ३५ वर्षिया अभिनेत्रीले आफ्नो रोगका कारण फिल्म छाड्ने निर्णय लिएकी हुन्।

रोगबाट पूर्ण रूपमा निको नभएसम्म उनी फिल्मबाट टाढिने योजनामा छिन्।

सामन्थाका अनुसार उनलाई ‘मायोसाइटिस’ भन्ने रोग लागेको हो। यो रोगमा शरीर कमजोर हुने र मांसपेसीहरू दुख्ने हुन्छ। गम्भीर अवस्थामा मानिसलाई उभिन र हिँड्न समेत गाह्रो हुन्छ।

डाक्टरहरूले उनकाे रोग पूर्ण रूपमा निको हुने बताएकी छन्। आफूलाई केही महिनाअघि नै मायोसाइटिस रोग लागेको उनले बताएकी हुन्।

यसै रोगका कारण उनले पछिल्लो फिल्म ‘यशोदा’ को प्रमोशन गरेकी थिइनन्। अब, उनले आफूले साइन गरेका केही बलिउड फिल्मबाट हात झिकेकी छन्।

उनले फिल्मकर्मीहरूलाई लामो समय फिल्मबाट ब्रेक लिने जानकारी दिएकी छन्। उनको समस्यालाई बुझेर निर्माताहरूले अन्य अभिनेत्री लिन तयार भएका छन्।

सामन्था आगामी फिल्म ‘खुशी’ को छायांकन पूरा गर्न चाहन्छिन्। यस फिल्ममा उनीसँगै विजय देवरकोन्डाको मुख्य भूमिका छ।

उनको पछिल्लो समय रिलिज भएको फिल्म ‘यशोदा’ ले बक्स अफिसमा राम्रो व्यापार गरेको थियो।

शंकर र हरिश नारायणद्वारा लिखित र निर्देशित फिल्म ‘यशोदा’ सरोगेसी (भाडाको कोख) को मुद्दामा बनेको छ। भारतमा अहिले व्यावसायिक सरोगेसीमा प्रतिबन्ध लगाइएको छ। त्यसैले यो फिल्मको कथा प्रतिबन्ध लाग्नुअघिको भएको अनुमान गरिएको छ।

यशोदाको भूमिकामा देखिएकी सामन्था गरिब परिवारकी हुन्छिन्। उनी पैसाका लागि अत्याधुनिक सरोगेसी केन्द्रमा पुग्छिन् र आफ्नो कोख भाडामा लगाउँछिन्। तर यो उनले सोचेभन्दा व्यापक र भयावह हुन्छ। उनी कुनै अप्ठ्यारोमा फस्छिन्।

फिल्मकी मुख्य पात्र यशोदा कमजोर छैनन्। उनी आफ्ना समस्या र दुश्मनसँग लडिरहेकी देखिन्छिन्। यस क्रममा सामन्थाको एक्सन पनि देख्न पाइन्छ।