पल शाहको पर्खाईमा पूजा शर्मा, कहिले आउँछन् पल पूजा सामु ?

रोमान्टिक लभस्टोरी फिल्म निर्देशनमा स्थापित सुदर्शन थापासँग एउटा हिट फिल्मको सिरिज छ, ‘म यस्तो गीत गाउँछु’ । यो नाम आफैंमा पैसाको बोट हो ।

यसका दुई श्रृंखलाले गरेको सानदार व्यापारबाट पनि यो प्रमाणित हुन्छ । दुवै श्रृंखलामा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा मुख्य भूमिकामा थिए । अब यो फिल्मको तेस्रो श्रृंखला निर्माण हुन्छ वा हुँदैन भन्ने चासो पनि धेरैमा छ ।

गत वर्ष ‘म यस्तो गीत गाउँछु २’को गीत रिलिज कार्यक्रममा फिल्मीखबरका पत्रकार मनिष अन्जानले निर्देशक थापालाई सोधेका थिए, ‘यो फिल्मको सिरिजमा पल र पूजाको विकल्प छैन ?’ जवाफमा उनले आफूहरु सक्षम भएसम्म साथमा काम गर्ने बताएका थिए । ‘म यस्तो गीत गाउँछु २’ हिट भएको खण्डमा तेस्रो सिरिज पनि बन्ने र आफूहरुबीच पुनः सहकार्य हुने उनको भनाई थियो ।

तर, दोस्रो श्रृंखला रिलिजको मुखमा पल कानुनी झमेलामा फसे । उनी कहिले बाहिर निस्कन्छन्, कुनै टुंगो छैन । र, ‘म यस्तो गीत गाउँछु ३’ कहिले बन्छ भन्नेमा पनि टुंगो छैन । अहिले सुदर्शनको पाइपलाइनमा तीनवटा फिल्म छन् ।

ती फिल्मपछि मात्र ‘म यस्तो गीत गाउँछु ३’को बारेमा सोच्न सकिने उनको भनाई छ । उनले तेस्रो सिरिजका लागि पललाई पर्खिरहेको आशय पनि व्यक्त गरे ।

पलबिना ‘म यस्तो गीत गाउँछु ३’ निर्माण सम्भव छ ? भन्ने प्रश्नमा सुदर्शनले भने, ‘सम्भव र असम्भव भन्ने कुरा होइन । भर्खरै दोस्रो सिरिज रिलिज भएको हो । अनि, अहिले मेरो पाइपलाइनमा केही प्रोजेक्ट छन् । त्यसैले अहिले केही सोचेको छैन । पल निस्केपछि काम गर्ने भइयो भने सरसल्लाह गरेर अगाडि बढ्छौं ।’ पल निस्केपछि फिल्मका लागि पहिलो रोजाई उनी नै हुने थापा बताउँछन् ।

मंसिर अन्तिमदेखि सुदर्शन अड्किएर बसेको फिल्म ‘प्रसाद २’को छायांकन थाल्ने तयारीमा छन् । यसपछि उनले अभिनेता राज कटुवाललाई लिएर फिल्म ‘राजा’को छायांकन सुरु गर्न सक्नेछन् ।

त्यसपछि सुदर्शन अनमोल केसी र पूजा शर्माको अभिनय रहने एक प्रोजेक्टको निर्माणमा जुट्न सक्छन् । यसरी हेर्दा अबको दुई वर्ष उनले नयाँ फिल्मको बारेमा सोच्न पनि नभ्याउने देखिन्छ ।