मेसीको म्याराडोना अवतार

दोहा : मंगलबार राति कतारको लुसेल रंगशालामा रेफ्रीले अन्तिम सिट्टी बजाएपछि अर्जेन्टिनी समर्थकहरूको सेतो र निलो धर्के पर्खालमा नयाँ स्वर मच्चियो, ‘म्याराडोनाले मेसीलाई स्वर्गबाट समर्थन गरिरहेका छन्।’ अर्जेन्टिनी फुटबलका दुई सर्वकालीन महान खेलाडी लियोनल मेसी र डिएगो म्याराडोनाबीचका समानताको चर्चा उत्कर्षमा छ, यतिबेला। कतारमा अझै धेरै त्यसको चर्चा भइरहेको छ।

सन् १९८६ मा म्याराडोनाले जसरी आफ्नो विश्वकप बनाएका थिए, अहिले मेसीले त्यही दोहोर्या‍इरहेका छन्। जारी विश्वकपका ६ खेलमा मेसीले पाँच गोल र तीन असिस्टसहित अर्जेन्टिनालाई दोस्रो पटक विश्वकपको फाइनलमा पुर्‍याएका छन्। आठ वर्षअघि ब्राजिलमा भएको विश्वकपको फाइनलमा पुर्‍याए पनि जर्मनीसँग पराजित हुँदा मेसीको अर्जेन्टिना उपविजेतामा सीमित भएको थियो।

मेसीमै म्याराडोना छन् भन्ने विश्व फुटबलको सदाबहार चर्चा हो। उचाई, ड्रिबलिङ स्किल, छरितो पन र बायाँ खुट्टाको जादू दुवै खेलाडीका समानता हुन्। नेतृत्व क्षमता, टिमका लागि मैदानमा लडाईं र आफ्नो उम्दा प्रदर्शनमा टिमलाई अगाडि बढाइरहेका मेसीले कतारमा झन् धेरै म्याराडोनाको गुण प्रदर्शन गर्दै आएका छन्।

मेसीको उत्कृष्ट प्रदर्शनकै बलमा साउदी अरेबियासँग पराजित हुँदै खराब सुरुवात गरेर पनि अर्जेन्टिना विश्वकपको फाइनलमा पुगेको छ। ३६ वर्षअघि म्याराडोनाले झैं अर्जेन्टिनालाई विश्वकप जिताउन मेसी एक कदम मात्रै टाढा छन्।

‘मेसीले म्याराडोनाको भूमिका निर्वाह गरिरहेका छन्’, सन् १९८६ मा विश्वकप जित्दा म्याराडोनाका सहकर्मी जर्ज भाल्डानो भन्छन्। मंगलबार राति लुसेल रंगशालामा साविक उपविजेता क्रोएसियाविरुद्ध ३–० को शानदार जितसहित अर्जेन्टिना छैटौं पटक फाइनल पुग्दा मेसीले उम्दा प्रदर्शन गरेक थिए। तेस्रो गोलका लागि मेसीले दिएको असिस्टले उनको स्तर र क्षमताको स्पष्ट बयान गरेको थियो।

क्रोएसियाको हाफमा बल रिसिभ गरेका मेसीले प्रतिगोगिताभर उत्कृष्ट प्रदर्शन गरेका जोस्को भार्डियोलको चुनौतीलाई माथ दिँदै बाइलाइन नजिकबाट जुलियन अल्भारेजलाई असिस्ट दिएका थिए। त्यो मेसीले पिचमा देखाएको थप एउटा ‘मोमेन्ट अफ म्याजिक’ थियो।

‘व्यक्तिगत रूपमा म यो विश्वकपमा एकदमै आनन्द लिइरहेको छु्’, मेसीले भनेका छन्,, ‘म मेरो टिमलाई सहयोग गर्न सकिरहेको छु। त्यसैले म यो भन्न सक्छु। म साँच्चै खुसी छु।’

यो फाइनल मेसीका लागि एउटा फुटबल खेल मात्रै रहने छैन। ‘यो एउटा नतिजा मात्रै होइन, हामीले तय गरेको यात्रा हो’, मेसीले भनेका छन्, ‘यसअघि अर्जेन्टिनामा जित वा हार मात्र थियो। तर, मलाई लाग्छ अहिले मानिसहरूले अन्य कुरामा ध्यान दिन थालेका छन्।’

उनले भनेझैं जित वा हार मात्रै होइन। उनले अर्जेन्टिनालाई विश्वकप जिताउन सके भने विश्व फुटबलका सदाबहार महान खेलाडीको सूचीमा पेले, म्याराडोनासँगै आफ्नो नाम पनि उनले दर्ता गर्नेछन्। मेसीले यो विश्वकप अन्तिम हुने घोषणा गरिसकेका छन्। सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानडामा ४८ टिमले विश्वकप खेलिरहँदा मेसी ३९ वर्षका हुनेछन्।

त्यसैले मेसीले यो विश्वकप साँच्चै अन्तिम मौका जसरी नै खेलिरहेका छन्। ६ खेलमा आठ गोलमा संलग्न रहेका मेसी अर्जेन्टिनाको जर्सीमा एउटा स्टार थप्ने योजनासहित आइतबार मैदानमा उत्रिने छन्। जसरी म्याराडोनाले दोस्रो स्टार थपेका थिए।