राजनीतिदेखि नै घिन लाग्न थाल्योः दुर्गा प्रसाई

काठमाडौं । स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंले गत महिनासम्म झापा निर्वाचन क्षेत्र–३ मा एमालेबाट चुनाव उठ्ने चर्चा थियो । एमालेबाट टिकट पाउने चर्चा चलेपछि प्रसाईं यो निर्वाचन क्षेत्रमा सक्रिय भएर खटिएका थिए ।

झापा– ३ नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग उनले प्रतिस्पर्धा गर्ने मात्र होइन, आफूले नै चुनाव जित्ने दाबीसमेत गर्दै आएका थिए । तर, यो क्षेत्रबाट उम्मेदवारका लागि सिफारिस भएका प्रसाईंलाई अन्तिममा एमालेले टिकट दिएन ।

झापा– ३ मा दुई गठबन्धनको भिडन्त हुँदै छ । एमाले–राप्रपा गठबन्धनबाट लिङ्देन र सत्तारुढ गठबन्धनबाट सिटौला चुनावी मैदानमा होमिएका छन् । गठबन्धन हुँदा राप्रपाको भाग परेपछि एमालेले छाड्नुपरेको एमाले झापा जिल्ला अध्यक्ष डम्बर कार्कीले बताए । गठबन्धनका कारण टिकट नपाएकाहरूलाई अन्य क्षेत्रमा व्यवस्थापन गरिने उनको भनाइ छ ।

हुन त प्रसाईंले दुई साताअघि नै एमालेले टिकट नदिने सुइँको पाइसकेका थिए । केही समयअगाडिसम्म निर्वाचन लड्ने सार्वजनिक अभिव्यक्ति दिए पनि एमालेले टिकट नदिएपछि प्रसाईंलाई अहिले राजनीति फोहोरी खेल लागेको छ । राजनीतिको फोहोरी खेलमा फस्न आफूले टिकटका लागि मरिहत्ते नगरेको उनले कुराकानीमा बताए ।

‘अहिले गठबन्धनका नाममा राजनीतिक समीकरण नै बिग्रिएको छ । यस्तो नचाहिँदो राजनीति आफूलाई मन नपरेका कारण टिकट नलिएको हुँ’, उनले भने ।

टिकट नपाएपछि राजनीति फोहोरी खेल लागेको हो भने प्रश्नमा उनले भने, ‘मलाई त अहिलेको राजनीतिदेखि नै घिन लाग्न थाल्यो । अहिले चुपचाप बस्ने हो । नेपालमा राजनीति कमाउन र पैसाका लागि भइरहेको छ ।’

उनले थपे, ‘अहिलेका कुनचाहिँ पार्टीसँग विकासको भिजन छ । यी सबै पैसा कमाउने, शक्तिमा आउने र देशमा लुट मच्चाउन राजनीति गरिरहेका छन् ।’

राजनीतिमा राम्रो मान्छेले स्थान नपाउने तर जाल–झेल गर्ने र जनतालाई नचाहिँदो आश्वासन दिने व्यक्तिले मात्र स्थान पाउने गरेको उनले बताए ।

याे पनि ः
काठमाडौं । अभिनेत्री तथा एमाले नेतृ करिश्मा मानन्धरको यो फेसबुक पोस्ट यस्तो समयमा आएको छ जतिबेला उनकै दल एमालेभित्र चुनावको टिकट वितरणमा असन्तुष्टि सिर्जना भएका खबर आइरहेका छन् । समय र सन्दर्भका हिसाबले करिश्माको उक्त पोस्ट त्यसतर्फ लक्षित रहेको बुझ्न कठिन छैन ।

करिश्माको उक्त पोस्टमा अर्की अभिनेत्री सञ्चिता लुइँटेलको लभ रियाक्ट छ । अन्य प्रयोगकर्ताले कमेन्टमार्फत टिकट नपाएको गुनासोको सन्दर्भसँग करिश्माको स्टाटसलाई जोडेका छन् ।

करिश्माको तस्वीर छनोट पनि गज्जबको छ । हातमा वाइन ग्लास लिएको एक पुरानो खुलेको तस्वीरले सांकेतिक रुपमा उन्मुक्तताको सन्देश दिन्छ ।

करिश्माले आफू मतदाता रहेको ललितपुर क्षेत्र नम्बर ८१ का एमाले उम्मेदवार नवराज सिलवालको तस्वीर पनि पोस्ट गरेकी छन् । आशिका तामाङ नामक एक प्रयोगकर्ताले करिश्माको टाइमलाइनमा लेखेकी छन्, ‘स्वतन्त्रबाट उठ्नुपर्‍यो ।’

आफ्नै टाइमलाइनमा पोस्ट भएको स्वतन्त्रबाट उठ्नुपर्‍यो भन्ने स्टाटसलाई करिश्माले लाइक हानेकी छन् । सम्भवतः करिश्मालाई एमालेले समानुपातिकबाट उठाउने अपेक्षा गरिएको थियो ।

मनोनयन दर्ता गर्ने दिन बिहान सारीमा सजिएकी करिश्माको अर्को पोस्ट छ, ‘म जनताको मात्र मान्छे हुँ । म करिश्मा मानन्धर भनेर चिनारी दिने नेकपा एमालेलाई धन्यवाद, अब सुरुवात हो ।’

जे होस्, एमालेको टिकट वितरणमा करिश्माको असन्तुष्टि बुझ्न कठिन छैन ।