विरोध खतिवडाले छैटौं पटक टिकट पाएका छन्

पूर्व स्वास्थ्यमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले छैटौं पटक टिकट पाएका छन्। आसन्न मंसिर ४ गते हुने निर्वाचनमा सत्तारुढ गठबन्धन दलको तर्फबाट प्रतिनिधि सभा सदस्य पदको लागि मकवानपुर क्षेत्र नम्वर–२ बाट खतिवडा उम्मेदवार भएका हुन्।भागबण्डामा क्षेत्र नम्बर–२ एकीकृत समाववादीलाई परेपछि खतिवडालाई उम्मेदवारको रुपमा अघि सारिएको हो।

पञ्चयाती व्यवस्थादेखि नै सोही क्षेत्रबाट चुनाव लड्दै आएका खतिवडाले बहुदलपछि मात्रै ५ पटक सो क्षेत्रमा जीत हात पारिसकेका छन्। ४ पटक नेकपा एमालेबाट जित हात पारेका उनले २०७४ को निर्वाचनमा भने नेकपा माओवादी केन्द्रको पनि सहयोग पाए। पटक–पटक एमालेबाट चुनाव जितेका खतिवडा पहिलो पटक एमालेकै उम्मेदवारसँग चुनाव लड्दै छन्।

एमालेले सो क्षेत्रबाट महेशकुमार बर्तौलालाई उम्मेदवार बनाएको छ। त्यस्तै गठबन्धनबाटै प्रतिनिधिसभा क्षेत्र नम्वर २ (क) मा नेकपा माओवादी केन्द्रकी कुमारी मोक्तानले टिकट पाएकी छिन् भने प्रतिनिधिसभा क्षेत्र नम्बर १ (क) मा माओवादी केन्द्रकै प्रेमबहादुर पुलामीले टिकट पाएका छन्। उनीहरु दुवै जनाले २०७४ को प्रदेश सभाको निर्वाचनबाट सोही क्षेत्रबाट चुनाव जितेका थिए।