सुजाता कोइरालाले पाइन् टिकट

नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएकी छन् ।सो क्षेत्रमा डाक्टर मिनेन्द्र रिजाल र कोइराला टिकटको दाबेदार थिए । कांग्रेस क्षेत्रीय समितिले सो क्षेत्रबाट कोइराला र रिजालको नाम सिफारिस गरेको थियो ।

दुबैले दाबी नछाडेपछि उम्मेदवार टुंगो लगाउन कांग्रेसलाई सकस परेको थियो ।शनिबार राति पार्टीले कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेपाली कांग्रेस मोरङ सचिव मोदराज घिमिरेले कोइरालाले प्रतिनिधिसभा सदस्यको टिकट पाइसकेको बताए ।

२०७४ सालमा डाक्टर रिजालले एमाले उम्मेदवार ऋषिकेष पोखरेललाई पराजित गरेका थिए । मंसिर ४ गते हुने निर्वाचनमा पनि एमालेले पोखरेललाई नै उम्मेदवार बनाएको छ ।मोरङ क्षेत्र नम्बर ३ मा कांग्रेसले डाक्टर सुनील शर्मालाई टिकट दिएको छ । शर्मा क्षेत्रबाट एकल सिफारिसमा परेका थिए ।

गठबन्धन गर्दा भागमा परेको मोरङ क्षेत्र नम्बर १ बाट डिकबहादुर लिम्बु, २ मा सुजाता कोइराला, ३ मा डाक्टर सुनील शर्मा र क्षेत्र नम्बर ६ बाट डाक्टर शेखर कोइरालाले टिकट पाएका छन् ।मोरङको क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रले अमनलाल मोदी र ५ मा शिवकुमार मण्डललाई टिकट दिएको छ ।