प्रचण्डलाई टोपबहादुरको संदेश- गठबन्धनको उम्मेदवार बनाउने ‘ग्यारेन्टी’ गरे फर्किन्छु

काठमाडौं- पूर्वमाओवादी नेता तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले सर्तसहित माओवादीमा फर्किने संदेश पठाएका छन् । गठबन्धनले आफूलाई उम्मेदवार बनाउने ग्यारेन्टी गरे माओवादीमा फर्किने प्रस्ताव सहितको संदेश उनले पठाएको खुलेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष उनले यस्तो संदेश पठाएको खुलेको हो । लामो समय गृहजिल्ला अर्घाखाँची बसेर चुनावी माहोल बनाउन प्रयत्न गरेका रायमाझीले गठबन्धनको उम्मेदवार बनाउने सर्तमा आफू माओवादीमा फर्कन चाहेको संदेश पठाए पनि माओवादीले भने यसबारे कुनै निर्णय गरेको छैन ।

बिहिबार बिहान माओवादी अध्यक्ष प्रचण्डका प्रमुख स्वकीयसचिव रमेश मल्ललाई आफ्नै निवासमा बोलाएर रायमाझीले यस्तो प्रस्ताव गरेको स्रोत बताउँछ । भेटमा उनले गठबन्धनले उम्मेदवार बनाउने ग्यारेन्टी गरेको खण्डमा आफू माओवादीमा फर्किन चाहेको प्रस्ताव प्रचण्डसमक्ष पुर्याउन आग्रह गरेका थिए । रायमाझीकै निवासमा उनी र मल्लबीच करिव आधा घण्टा छलफल भएको स्रोतले हिमालपोस्टलाई बतायो ।

रोचक त के छ भने, रायमाझीलाई नेकपा एमाले अर्घाखाँचीले प्रतिनिधि सभाको उम्मेदवारका लागि एकल सिफारिस गरेको छ । एमालेमा एकल सिफारिस हुने केहि भाग्यशाली नेतामध्य उनी एक हुन् । एमालेमा लागेपछि अध्यक्ष ओलीको निकट बनेका रायमाझी एकाएक माओवादी फर्किने र गठबन्धनको उम्मेदवार बन्ने भन्दै पठाएको यो सन्देशले अहिले खुमलटारमा बहसको वातावरण सृजना गरेको छ ।

एकल सिफारिसमा परेका रायमाझीले एमालेबाट टिकट पाउने पक्का छ । तर गृहजिल्लाको पछिल्लो बसाईले उनलाई झस्काएको छ । लामो समय जिल्लाको चुनावकेन्द्रित गतिविधिमा दौडिएर काठमाडौं फर्किएका रायमाझीले आफूले गठबन्धनविरुद्ध जित्न नसक्ने निष्कर्ष निकालेका छन् । अघिल्लो निर्वाचनमा प्रतिस्पर्धीसँग फराकिलो मतान्तरले विजयी भएका उनी हार्ने निश्चित भएपछि माओवादीमै फर्किने प्रस्ताव गरेका हुन् ।

रायमाझीले काठमाडौं फर्केपछि जिल्लाबासी कतिपय नेताहरूसँग लगातार छलफल गरिरहेका छन् तर उनी पहिलेभन्दा सशंकित देखिने गरेका थिए । स्थानीय निर्वाचनको परिणामपछि हौसिएपनि पछिल्लो अर्घाखाँची बसाइबाट तर्सिएका छन् ।

निर्वाचन नजिकिंदै गएपछि गठबन्धनभित्र राम्रो एकता बनेको र गठबन्धनमा एकले अर्कोलाई अन्तर्घात नगरे आफूले हार्ने निष्कर्ष उनले निकालेका छन् । जिल्लामा गठबन्धन भत्काउने, एक समूहलाई अर्कोविरुद्ध उचाल्ने प्रयासमा लागेका उनी त्यसमा पनि सफल हुन सकेनन् । त्यसमाथि अहिले एमालेमा लामो समय राजनीति गरेका नेताहरूले आफूलाई सघाउने अवस्था नभएको समेत विश्लेषण उनले गरेका छन् ।

स्रोतका अनुसार पछिल्लो जिल्ला बसाइमा उनले गरेको अध्ययन अनुसार गठबन्धन एकतावद्ध भएको खण्डमा १० देखि १५ हजार मतले हार्ने उनको विश्लेषण छ । गठबन्धनका एक दललाई अर्कोविरुद्ध भड्काउने उनको प्रयास असफल भएपछि गठबन्धनले उम्मेदवार बनाउने पक्का भएको खण्डमा पुरानो पार्टीमा फर्किने मनसाय बनाएका छन् ।

अर्घाखाँचीमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चा एकढिक्का भएर चुनावी अभियानमा लागेका छन् । टोपबहादुरले माओवादी छोडेर एमालेमा छिर्दा धेरै माओवादीले आफूलाई सघाउने आंकलन गरेका थिए । तर निकै कम कार्यकर्ताले मात्रै उनलाई विश्वास गरे । स्थानीय निर्वाचनमा जिल्लालाई राम्रो सफलता दिलाएका रायमाझी माओवादीमा फर्किनेबारे छलफल थालेपछि एमाले नेताहरू सशंकित बनेका छन् ।