नेपालमा भूराजनीतिक संकट निम्तियो : डा. भट्टराई

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको बताएका छन्। चाडबाडको अवसरमा शनिबार नेपाल समाजवादी पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको भूराजनीतिक संकटमा अमेरिका, चीन र भारतबीच तानातान भइरहेको बताए।

अध्यक्ष भट्टराईले भूराजनीतिक संकटका कारण देशमा संघीयतालाई कमजोर पार्ने, अर्थतन्त्रलाई कमजोर पार्ने र अराजकता निम्त्याउने प्रयास भइरहेको जिकिर गरे। अध्यक्ष भट्टराईले संकटलाई ध्यान दिँदै देशलाई नयाँ दिशा दिलाउनका निम्ति अहिलेदेखि नै तयारी गर्न आवश्यक रहेको उल्लेख गरे।

‘यो निर्वाचनपछि नयाँ राजनीतिक ध्रुवीकरण हुँदै अग्रगमनतर्फको दिशामा अघि बढ्नेछ। किनकि, पुराना शक्तिहरूले यो देशलाई झन् बर्बादीतिर लिएर जाँदै छन्। जुन भूराजनीतिक संकट चीन, अमेरिकाबीचको तानातान बढ्दै छ, यसले देशमा फेरि नयाँ ढंगले अराजकता ल्याउने र संघीयतालाई झनै कमजोर पार्ने, अर्थतन्त्रलाई झनै कमजोर बनाउने काम गर्दै छन्, ठूलो संकट आउँदै छ,’ उनले भने।

उनले केही समय यता नेपालमा राजनीतिको गम्भीर ढंगले स्खलन भएको दाबी गरे। भट्टराईले भने, ‘यो निर्वाचनलाई सामान्य नठानीकन अग्रगामी, प्रगतिशील, समाजवादी शक्तिहरूलाई बलियो बनाउने गरेर हामी अघि बढौं। केही समययता नेपालमा राजनीतिको गम्भीर ढंगले स्खलन भएकै हो।’