राष्ट्रपतिको असंवैधानिक कदमको सुरुवात कटवाल प्रकरणमा भएको थियो : भट्टराई

काठमाडौँ — पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रपतिले चाल्ने असंवैधानिक कदमको सुरुवात तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाललाई तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले गरेको थमौतीबाट सुरु भएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर असंवैधानिक कदम चालेको उल्लेख गर्दै भट्टराईले उक्त कुरा भनेका हुन् ।

पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा ‘मेरा नौ दशक : पाँच व्यवस्था, पाँच राजा, पाँचपटक प्रधानमन्त्री’ पुस्तकको विमोचन कार्यक्रममा बिहीबार भट्टराईले उक्त कुरा बताएका हुन् ।

कटवाल प्रकरणमा आफूले पनि भूमिका खेलेको भनेर थापाले लेखेको भट्टराईले बताए । ‘कटवाल प्रकणमा उहाँले पनि भूमिका खेल्नुभएको रहेछ । त्यसलाई स्वीकार गर्नुभएको छ । त्यतिबेला माओवादीले सेना नै कब्जा गर्न खोजेको भन्ने आगो लगाएको थियो । त्यो तथ्यसंगत थिएन,’ भट्टराईले भने, ‘राजाप्रति निष्ठावान सेना जनताप्रति निष्ठावान गर्नुपर्छ भन्ने हो । मन्त्रिषरिषद्ले गरेको निर्णयलाई पनि असंवैधानिक तरिकाले; अहिले पनि राष्ट्रपतिको असंवैधानिक कदम आएको छ, सुरुवात त्यतिबेला नै भएको थियो ।’

माओवादी अध्यक्ष पुष्पकमल दाहाल पहिलोपटक प्रधानमन्त्री भएका बेला तत्कालीन प्रधानसेनापति कटवाललाई बर्खास्त गरिएको थियो । २०६६ वैशाखमा कटवाललाई हटाइएकोमा तत्कालीन राष्ट्रपति यादवले उल्ट्याइदिएका थिए ।

थापाको पुस्तकमा तत्कालीन ७ राजनीतिक दल र माओवादीबीच भएको १२ बुँदे सम्झौतालाई भारतमा भएको भनेर लेखिएको कुरा पनि तथ्यसंगत नभएको भट्टराईले बताए ।

त्यस्तै, थापाले पुस्तकमा पञ्चायत कसरी सुरुवात भयो भन्ने कुरा उल्लेख भएको भट्टराईले बताए । आर्थिक लाभका निम्ती राज्यको दोहन गरेको कुरा थापाले पुस्तकमार्फत स्वीकार गरेको पनि भट्टराईले बताए ।

याे पनि ः

जनकपुर — नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जिल्लाका राजनीतिक दल तथा संघसंस्थाहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध निरन्तर विरोध प्रदर्शन गरिरहेका छन् । बिहीबार सत्ता गठबन्धनसम्बद्ध नेकपा (माओवादी केन्द्र)का नेता कार्यकर्ताहरुले मोटरसाइकल र्‍यालीसहित विरोध प्रदर्शन गरेका हुन् ।

विरोध जुलुस जनकपुर नगर परिक्रमा गरी जनकचोकमा कोणसभामा परिणत भएको थियो । जुलुसमा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य श्रवण यादव, दीपक यादवसहितका नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

नेपालको संविधान मातहात रहेको राष्ट्रपति भण्डारी कार्यकारी अधिकार प्रयोग गर्न खोजेको भन्दै वक्ताहरुले राष्ट्रपति भण्डारीको राजीनामा मागेका थिए । ‘राष्ट्रपति मुलुकको अभिभावक हो तर उनको काम कारबाही एमाले नेताको जस्तो भयो । उहाँले संविधानले दिँदै नदिएको अधिकार प्रयोग गर्न खोजीराख्नुभएको छ,’ माओवादी केन्द्रका नेता दीपक यादवले भने ।

बुधबार तराई मधेस लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले पनि जनकपुरमा राष्ट्रपतिविरुद्ध प्रदर्शन गरेका थिए ।

तराई/मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष बृषेशचन्द्र लालले राष्ट्रपति भण्डारी मुलुकको अभिभावक बन्न नसकेको बताए । ‘संविधानले दिने भनेको जन्मसिद्ध नागरिकका सन्तानहरु गैर नागरिक भएर बाँच्न अभिशप्त छ । राजनीतिक दलहरु राजनीति गर्दैछन् । अनि राष्ट्रपतिजी एमालेको कार्यकर्ता जस्तो क्रियाकलाप गर्दैछन्,’ लालले भने ।