लाल मोहम्मद हत्या प्रकरण : १५ दिनअघि पनि गोली प्रहार, संवेदनशील सूचनामा प्रहरीको खेलाँची

काठमाडौं- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा सोमबार मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या भयो । मोटरसाइकलमा आएका ३ जना युवाले सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका ५८ वर्षीय मोहम्मदलाई गोली हानेर भागेका हुन् । उपचारको क्रममा शिक्षण अस्पतालमा उनको मृत्यु भएको उपत्यका प्रहरी कार्यालयका एआईजी रबिन्द्रबहादुर धानुकले जानकारी दिए ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार उनलाई सुटरहरुले दोस्रो प्रयासमा हत्या गरेका हुन् । १५ दिनअघि उनीमाथि बौद्ध क्षेत्रको जम्बुडाँडास्थित प्रहरी चौकी नजिकै गोली प्रहार भएको थियो । सो क्रममा उनलाई पाखुरामा गोली लागेको आशंका गरिएको छ । गोली हान्न आएका सुटरको मोटरसाइकल अनियन्त्रित भएर ढलेपछि लाल भाग्न सफल भएका थिए । त्यसबेला उलने जोरपाटीस्थित अपांग अस्पतलामा उपचार गराए । चिकित्सकले सोधे, ‘गोली लागेको हो ?’ त्यतिबेला लाल मोहम्मदले डाक्टरलाई भने, ‘हैन, लड्दा धसिएर घाउ भयो ।’

सो घटनाको जानकारी उनले प्र्रहरीलाई दिए । तर, फरक तरिकाले । जम्बुडाँडास्थित प्रहरी चौकीमा गएर उनले प्रहरीलाई भनेका थिए, ‘मलाई सुरक्षा खतरा भयो ।’ तर, उनको सूचनालाई प्रहरीले नोट नै गरेन । सुरक्षा खतराको जानकारी प्रहरीलाई गराएको उनकी छोरीले बताएकी छिन् । मोहम्मदले दिएको सूचनालाई प्रहरीले गम्भीरतापूर्वक लिएको भए क्षति रोक्न सकिने जानकारहरु बताउँछन् ।

सोमबार साँझ अज्ञात व्यक्तिहरुले पछ्याएर उनको टाउको, दाहिने हात र दायाँ तिघ्रामा गोली हानेर भागेका छन् । २०६४ असार २० मा काठमाडौंको अनामनगरस्थित धोबिखोलामा बाराका बलराम पटुवालाई गोली हानेर हत्या गरेको मुद्दामा उनी १० वर्ष जेल बसेर निस्केको थाहा भएको छ ।

बलराम पटुवामाथि गोली प्रहार भएपछि प्रहरीले लाल मोहम्मद र पप्पु गुप्तालाई पक्राउ गरेर मुद्दा चलाएको थियो । पटुवालाई गोली हानेको मुद्दामा अर्का आरोपी मुन्ना खान भनिने इल्ताफ हुनेस अन्सारी पनि २०६६ मा पक्राउ परेका थिए । भारतीय जाली नोट कारोबारबारे विवाद हुँदा लाल मोहम्मदको समूहले पटुवाको हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

लाल मोहम्मदको कनेक्सन भारतीय जाली नोट कारोबारी बाराका इल्ताफ हुसेन अन्सारी र पूर्वमन्त्री स्वर्गीय सलिमिया अन्सारीका छोरा युनुस अन्सारीसँग देखिएको प्रहरी स्रोतको भनाइ छ ।

पूर्वमन्त्री स्वर्गीय सलिमिया अन्सारीका छोरा युनुस भारतीय नक्कली नोटको पटके कारोबारी हुन् । उनी अहिले जगन्नाथदेवल केन्द्रीय कारागारमा छन् । ईल्ताफ २०७७ मान साढे १५ किलो चाँदी र आधाकिलो सुन तस्करी प्रकरणमा पक्राउ परेका थिए ।