हामीमाथि अत्याचार गर्यो सरकारले :चोलेन्द्रशमशेर की छोरी

काठमाडौं- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकी छोरी सुनिधीले सरकारले आफूहरुमाथि अत्याचार गरेको बताएकी छन् ।आइतबार विहानदेखि प्रधानन्यायाधीश जबराको सरकारी निवासमा सरकारले सुरक्षा कडाइ गरेको छ ।
त्यसबारे सञ्चारकर्मीहरुसँग कुरा गर्दै छोरी सुनिधीले निवासबाट बाहिर निस्कन र भित्र प्रवेश गर्नसमेत कडाइ गरेको बताइन् ।

‘अहिलेको सरकारले हामीलाई एकदमै अन्याय, अत्याचारै गरेको छ । हामीले त एउटा ठूलो अपराधीले कुनै मान्छेलाई नै मारेर लुकाएको जस्तो किसिमको व्यवहार प्रहरीले हामीमाथि गरेको छ । सरकार हाम्रो विरुद्धमा लागेको छ । हाम्रो त हात खुट्टानै बाँधिराखेको अवस्था छ ।
यस्तो बेलामा हामी के गर्न सक्छौं ?’ उनले प्रश्न गरिन् ।

आइतबार अपरान्ह बालुवाटारस्थित प्रधानन्यायाधीशको निवासबाट गाडीमा बाहिर निस्कने क्रममा सुनिधीले देशको माया हुने, अदालतको माया हुने जो कोहीले पनि आफूहरुलाई साथ दिनुपर्ने बताइन् ।

‘हामीले सहयोग माग्ने भनेको, आह्वान गर्ने भनेको नेपाली जनताहरुसँग हो । हामीले बिन्ति गरेका छौं उहाँहरुसँग । उहाँहरुले के सही हो, के लगत हो छुट्टयाएर, बुझेर सबैजना जम्मा भएर आइदिनु प¥यो । अब घरमा बसेर सोसल मिडिया हेरेर म्यासेन्जरमा स्क्रोल गरेर, कमेन्ट गरेर मात्रै हुँदैन । यदि उहाँहरुलाई देशको माया छ भने, अदालतको माया छ भने हामीलाई सहयोग गर्नु पर्‍यो’ उनले भनिन् ।

सुनिधीले अगाडि भनिन्, ‘उहाँहरुले हामीलाई बाहिर निस्कन पनि दिइराख्नु भएको छैन । बच्चाहरुलाई लिन जानुपर्छ, सञ्चो छैन औषधि लिन जानुपर्‍यो । काम गर्ने मानिस बाहिर हिँडिराखेको बेलामा उनीहरुलाई समातेर लगेर अराजकता मच्चायो भनेर थुनिराखेको छ, अराजकता कसले मच्चाइराखेको छ ? त्यो त स्वतन्त्र रुपमा देखिराख्या छ बाहिर । उहाँहरुले एकदमै सबै जनालाई आफ्नो सरकारको दमनमा पावर देखाएर हामीलाई यस्तो गरिराख्नुभएको छ ।’