सन्दीप कहिले आइपुग्छन् नेपाल ?

काठमाडाैं- नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बनमा परेका सन्दीप लामिछाने अहिले कहाँ छन् र नेपाल कहिले आइपुग्छन् यो आम चासोको विषय हो ।

एक नाबालिकाले लामिछानेले आफूविरुद्ध पटक पटक जबरजस्ती करणी गरेको भन्दै मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी दिएपछि उनीविरुद्ध बिहीबार अदालतबाट पक्राउ पूर्जी जारी भइसकेको छ ।

क्यारेवियन प्रिमियर लिग खेल्न वेस्ट डन्डिज पुगेका लामिछाने त्यहाँबाट हिँडेको अपुष्ट खबर छ । तर यो समाचार तयार पार्दासम्म उनी नेपाल आइपुगेका छैनन् ।

दुई दिनअगाडि लामिछानेले सामाजिक सञ्जालमार्फत आफूमाथि लागेको आरोप निराधार रहेको र सिपिएल छाडेर केही दिनमा नेपाल फर्किएर प्रहरीलाई अनुसन्धानमा सघाउने बताएका थिए ।

क्रिक इन्फोको समाचारमा उल्लेख भएअनुसार उनी आवद्ध जमैका तलवाजले टिमबाट रिलिज गरिसकेको छ ।

पक्राउ पूर्जी जारी भएको तीन दिनबितिसक्दा पनि लामिछाने कहाँ छन् भन्ने प्रश्नको उत्तर पाइएको छैन । नेपाल प्रहरीका अधिकारीहरू यसबारे आफूहरूसँग जानकारी नभएको बताउँछन् । उता नेपाल क्रिकेट संघ पनि यसबारे अनविज्ञ छ ।

क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले केटिएम दैनिकसँग भने, ‘उनले हामीलाई सम्पर्क गरेका छैनन् । बरू हामीले नै दुईपटक सम्पर्क गरेका हौं ।’ त्यहाँबाट हिडेको भए त आजसम्म नेपाल आइपुग्नुपर्ने हो मल्लले भने ।

सन्दीपका म्यानेजर रमन शिवाकोटीले पनि यसबारे अनविज्ञता प्रकट गरे । केटिएम दैनिकसँगको कुराकानीमा शिवाकोटी भन्छन्, ‘मैले पनि सञ्चारमाध्यमबाट नै थाहा पाउने हो । मसँग सम्पर्क छैन ।’

यता नेपाल प्रहरीले सम्पूर्ण जिल्ला र नेपाल भित्रिन सक्ने सम्भावित स्थानहरूमा पत्राचार गर्दै जहाँ भेटिन्छ पक्राउ गर्न भनेको छ । यसअगाडि उनलाई नेपाल भित्र्याउन इन्टरपोलको समेत सहयोग लिने बताएका प्रहरी अधिकारीहरू अहिले पर्ख र हेर को स्थितीमा छन् ।

सन्दीप कहिले नेपाल आउँछन् भन्ने जानकारी सार्वजनिक भएको खण्डमा विमानस्थलमा समर्थक र विरोधीहरूको ठूलो भिड लाग्न सक्ने सम्भावना भएकाले पनि यसबारेका सूचनाहरू सार्वजनिक नगरिएको हुनसक्ने धेरैको बुझाइ छ ।