बेलायती महारानी एलिजाबेथको निधन !

काठमाडौँ — बेलायती महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि स्कटल्यान्डको बालमोरल दरबारमा उनको बिहीबार निधन भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।

९६ वर्षीया महारानी एलिजाबेथको स्वास्थ्यमा समस्या देखिएपछि उनी डाक्टरहरूको निगरानीमा रहेकी थिइन् । पछिल्लो समय बालमोरल दरबारमा उनको अधिकांश समय बित्ने गरेको बीबीसीले जनाएको छ ।

सन् १९५२ मा महारानी भएकी एलिजाबेथ द्वितीय बेलायतमा सबैभन्दा लामो समय राज्य गर्ने महारानी हुन् । उनले ७० वर्ष बेलायतको राजकीय सत्ताको नेतृत्व गरेकी थिइन् । उनको जन्म सन् १९२६ अप्रिल २१ मा मेफेयर लण्डनमा भएको थियो ।

महारानीको निधनसँगै उनका जेठा छोरा राजकुमार चार्ल्स राजा भएका छन् ।

बेलायती महारानीले सन् १९६१ र १९८६ मा गरी नेपालको दुईपटक राजकीय भ्रमण गरेकी छन् ।