सन्दीप प्रकरण: क्यानको व्यवस्थापन माथि उठ्यो प्रश्नचिह्न !

राष्ट्रिय क्रिकेट टोलीका कप्तान बन्द प्रशिक्षणमा रहेका बेला कसरी आफ्नो सवारीसाधमा एक बालिकालाई लिएर नगरकोटसम्म पुगे भन्ने प्रश्नले नेपाल क्रिकेट संघको व्यवस्थापनमा ठूलो प्रश्नचिह्न खडा गरेको छ ।

बन्द प्रशिक्षण (क्लोज क्याम्प) मा काठमाडौंको हायत होटलमा रहेका लामिछाने भदौ ५ गते बेलुका आफ्नो बा**च ४४४४ नम्बरको सेतो रंङ्गको निशान एक्स-ट्रायलमा एक बालिकालाई लिएर नगरकोट सम्म पुगेको र त्यहाँबाट काठमाडौंको पिङ्लास्थानमा रहेको होटलमा आएर ती बालिकामाथि जबरजस्‍ती करणी गरेको जाहेरी प्रहरीमा पुगेको छ ।

भोलीपल्ट अर्थात भदौ ६ गते लामिछानेको कप्तानीमा पाँचवटा टी–२० आई र तीनवटा एकदिवशीय खेल खेल्न केन्या जाने कार्यक्रम थियो ।

केन्या जानुभन्दा अघिल्लो दिन बालिका करणी गरेको आरोप लागेपछि क्यानको व्यवस्थापकीय पक्षमाथि ठूलो प्रश्नचिह्न खडा भएको हो ।

सन्दीप लामिछानेले प्रयोग गर्दै आएको बा**च ४४४४ नम्बरको सेतो रंङ्गको निशान एक्स-ट्रायल ।

यस विषयमा बुझ्न हामीले क्यानका प्रवक्ता प्रशान्त विक्रम मल्लसँग टेलिफोन सम्पर्क गर्दा उनले यही विषयमा आफू छलफल रहेकोले पछि सम्पर्क गर्न अनुरोध गरे । त्यसअगाडि हामीले नेपाल क्रिकेट सङ्घका महाप्रवन्धक ब्रिटेन्ट खनालसँग सम्पर्क गरेका थियौ । हामीसँगको कुराकानीमा खनालले यसबारे क्यानको आधिकारीक धारणा केही समयमा आउने बताए ।