सन्दीप प्रकरणलाई पल शाहसँग तुलना गर्दै नेटिजन्स !

सन्दीप प्रकरणलाई पल शाहसँग तुलना गर्दै नेटिजन्स !
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बालिकामाथि जबरजस्ती करणी गरेको किटानी जाहेरी परेपछि त्यसले चौतर्फी तरङ्ग ल्याएको छ। सामाजिक सञ्जालमा कतिपयले यो घटनालाई अभिनेता पल शाहमाथिको अभियोग र फैसलासँग जोडेर टिप्पणी गरेका छन्।

कानुनको आडमा महिलाले पुरुषविरुद्ध ‘मन परे चमत्कार, मन नपरे बलात्कार’को ‘ट्रेन्ड’ चलाएको आरोप लगाउन थालिएको छ। प्रहरी र मिडियाले पनि यो प्रकरणमा हतार गरेर पेसागत सामान्य मूल्य–मान्यता समेत बिर्सिएको देखिन्छ।

१६ वर्षकै उमेरमा राष्ट्रिय क्रिकेट टोलीमा प्रवेश पाएका सन्दीपले आफ्नो खेल कौशलताले सबैलाई मोहित पार्दै आएका थिए। नेपालबाहिर पनि उनको खेलको चर्चा र प्रशंसा उत्तिकै छ ।

उनी सबैको आइडल र प्रिय बन्दै गएका थिए। तर, बुधवार प्रहरीमा परेको उजुरीले चितवनको क्याम्पा चौरबाट उदाएका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान एवं अन्तर्राष्ट्रिय ख्याती कमाएका सन्दीपको चरित्रमाथि गम्भीर प्रश्न उठेको छ। सन्दीपविरुद्धको अनपेक्षित आरोपले सामाजिक सञ्जालका मत पनि दुई ध्रुवमा बाँडिएको छ।

…………………

बुधवार एक नाबालिकाले दिएको किटानी जाहेरी अनुसार सन्दीपले भेट्न बोलाएर मध्यरात एक होटेलमा लगेर बलात्कार गरेका हुन्। मध्य बानेश्वरमा भेट भएका उनीहरू भदौ ५ गते नगरकोट समेत पुगेको खुलेको छ।

सो दिन रात छिप्पिएपछि नगरकोटबाट काठमाडौं फर्केर सन्दीपले ती नाबालिकालाई एक होटेलमा लगेर पटक पटक जबरजस्ती करणी गरेको उजुरी परेको प्रहरी बताउँछ।

लेखक: विशाल सापकोटा
क्यारेवियन प्रिमियम लिग (सीपीएल)का लागि वेस्ट इन्डिजमा रहेका सन्दीपले हालसम्म यो घटनामा कुनै प्रतिक्रिया दिएका छैनन्। सञ्चार माध्यममा कुरा गर्दै सन्दीपका बुबाले यो घटनालाई अकल्पनीय भनेका छन् । ‘छोरोको चालचलन त्यस्तो नराम्रो थिएन, छाँगाबाट खसेजस्तै भएका छौँ’, उनका बुबाले भनेका छन्।

सार्वजनिक छवि बनाएका व्यक्तिको पेसागत गुण–कौशल, लोकप्रियता, आर्थिक सफलता, जीवनशैली इत्यादि कारणले कोही उसको फ्यान, शुभेच्छुक हुनु सामान्य हो। अझ खेलाडी, नायक–नायिका, गायक–गायिका रहेकाहरूको त अत्यधिक फ्यान फलोविङ हुन्छन्। त्यसैको फाइदा उठाउँदै सेलिब्रिटीले आफ्ना फ्यानको नाजायज फाइदा उठाएको र मुद्दा खेपेको थुप्रै घटना विश्वभर पाइन्छ।

सन्दीप लामिछानेको हकमा अहिले नै उनलाई कसुदार ठहर गरिएको होइन। उनी विरुद्ध उजुरी मात्र परेको हो, अनुसन्धान हुँदै छ। प्रहरी अनुसन्धान अघि बढी सकेकाले सत्य तथ्य चाडै बाहिर आउने अपेक्षा गरौँ।

…………………

पल शाह प्रकरणलाई नियोजित दाबी गर्नेहरूले यो विषयमा पनि त्यही किसिमका मत राख्दैनन्। सुरुमा बलात्कारको आरोप खेपेका पल शाहलाई मङ्गलवार जिल्ला अदालत, नवलपुरले सो मुद्दामा सफाइ दिएको छ । तर बाल यौन दुरुपयोगको मुद्दामा भने साढे २ वर्षको कैद र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ। तनहुँ जिल्ला अदालतले भने उनीविरुद्धको मुद्दामा असोज २ गते अन्तिम फैसला गर्ने बताएको छ ।

पल शाह प्रकरणमा पीडितलाई सामाजिक र मानसिक टर्चर दिएर मुद्दा कमजोर बनाइएको विश्लेषण हुने गरेको छ। पल शाह पक्षधरले भने उनको स्टार्डम र आर्थिक लोभका कारण झुटो आरोपमा फसाइएको बताउने गरेका छन्। सन्दीप लामिछानेमाथि नाबालिका करणीको आरोपमा उजुरी परेपछि ‘कृषि वैज्ञानिक’का रूपमा परिचित मदन राईले बुधवार दिउँसो २ः२५ बजे फेसबुकमा विवादित प्रतिक्रिया दिएका छन्।

यौनका बारेमा विभिन्न सञ्चारमाध्यम र युट्युब च्यानलमा उत्तेजित अन्तर्वार्ता दिँदै आएका राईको फेसबुक स्ट्याटस पढ्दा सन्दीपलाई नियोजितरुपमा फसाउन खोजिएको आशय आउँछ। जबकि घटनाको विस्तृत अनुसन्धान विवरण आइसकेकै छैन। विश्लेषण गर्दा ‘केटा’हरू लाई उनको सुझाव छ– हतकडीमा नपर्ने भए प्राकृतिक यौन सम्पर्क भन्दा ‘सेक्स टोय तिर ध्यान देऊ ।’ उनले करणीसम्बन्धी विद्यमान कानुन नसच्चाए ‘सबै केटाहरूलाई हतकडी लाग्ने’सम्म लेखेका छन्।

राईले सन्दीपविरुद्ध उजुरी दिने पीडित नाबालिका भएको सामान्य हेक्का समेत नराखी उडन्ते स्ट्याटस लेखे। २९ हजार फलोवर्स रहेको उनको फेसबुकमा एकाधबाहेक अधिकांशले समर्थन जनाउँदै कमेन्ट गरेका छन्। सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले नाबालिगकाको परिभाषा के हो भनी विद्यमान कानुनमाथि नै प्रश्न उठाएको यो पहिलो पटक होइन। विद्यमान कानुनको दुरुपयोग गरेर महिलाले पुरुषलाई फसाइरहेको उनीहरूको तर्क रहँदै आएको छ। राईले जस्तै घटनालाई मिसलिडिङ गर्ने र अनर्गल टिप्पणी गर्ने जमात ठूलै छ ।

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीको समेतको सातो खाने सामाजिक सञ्जालको ट्रेन्ड र मतलाई नजरअन्दाज गर्न पनि सकिन्न। तर, सार्वजनिक छवि बनाएका व्यक्तिहरूबाटै अनुचित र अशोभनीय टिप्पणी ठिक नहोला। तर, पूर्व पत्रकार अनन्त कोइराला भने सँगै घुम्न इच्छुक हुनुको मतलब यौन सम्पर्कका लागि स्वीकृति दिएको रुपमा बुझ्न नहुने बताउँछन्। बुधवार बिहान ११ः२३ मा फेसबुकमा उनी लेख्छन्:

‘नाबालिगको घरमा बोलाएर आफैँले ढोका बन्द गरेर यौन सम्पर्कका लागि आग्रह गरेकै भए पनि कानुनका नजरमा त्यो बलात्कार हो। कोही तपाईँको गाडीमा घुम्नु, तपाईँसँग बसेर रक्सी खानुको मतलब तपाईँलाई यौन सम्पर्कका लागि स्वीकृति दिएको होइन। यति सामान्य कुरा पनि बुझिँदैन भने आफूलाई सभ्य भनेर नहिँड्नुस्।’

लेखक नारायण गाउँलेले भने घटनाको विस्तृत अनुसन्धान नहुँदै पीडितले दिएको उजुरी र बयान बाहिर सार्वजनिक गर्नु प्रहरीको कमजोरी भएको बताउँछन्। बुधवार अपराह्न ४ः३४ मा फेसबुकमा लामो स्ट्याटस लेख्दै उनले भनेका छन्–

प्रहरीले प्रारम्भिक अनुसन्धान पनि सकेको छैन भन्ने बुझियो । कल डिटेल्स र सिसिटिभी फुटेज लिने तैयारी भइरहेको पनि समाचारमै पढियो । तर, पत्रपत्रिकाले ’पीडक’को बुबादेखि साथीभाइसम्मको बयान लिइसके, छापिसके । प्रहरीले नै आरोप, तिथि मिति, समय, नाम थर, लोकेसन, सम्भावित साक्षी, मेडिकल चेकअप गरेको ठाउँ लगायतका आफूसँग भएका सबै सूचना अनुसन्धान अघि नै ठूलै उपलब्धि गरेझैँ यसरी सार्वजनिक गरेपछि सोसल मिडियाले मुद्दाको बहस गरेर पक्ष विपक्षमा फैसला समेत सुनाउनु सामान्य नै भयो ।

उजुरी परेकै आधारमा अनुसन्धान नहुँदै कतिपय मिडियाले सन्दीपलाई अपराधी करार गराउनेजस्तो समाचार सम्प्रेषण गरेको आरोप लगाउनेहरू पनि छन्। त्यसै कारण पाठकले मिडियाको विश्वसनीयतामा प्रश्न उठाएको पत्रकार गनी अन्सारीको आरोप छ । बिबिसीमा कार्यरत अन्सारीले यो घटनामा मिडियाले पत्रकारिताको न्यूनतम मान्यता बिर्सेको बताएका छन्।

‘क्लिकबेट’ अथवा ‘ब्रेकिङ’का नाममा पत्रकारिताको न्यूनतम मूल्य–मान्यता बिर्सेपछि, संवेदनशील विषयमा पीडित अथवा आरोपितका गोपनीयता लगायतको वास्तै नगरेपछि, ‘मिडिया ट्रायल’गर्न थालेपछि आउँछन् त मानिसहरू पत्रकारिता सिकाउन’, पत्रकार अन्सारीले ट्विट गरेका छन्, ‘फलानो अथवा ढिस्कानो पत्रकारिता सिकाउन आयो भन्दै रोनाधोना किन?’

पत्रकार एवं लेखक प्रतिमा सिलवाल बुधवार साँझ ५ः४० मा फेसबुकमा लेख्छिन्– ‘छोरी बलात्कृत हुँदा उसको जीवनको क्षति महसुस नगर्नेहरू छोरा कसरी जोगाउने भन्ने चिन्तामा छन् । बलात्कार जस्तो गम्भीर अपराध आरोपमा चुप बसेर अनुसन्धान गर्न त दिऊँ ।’

मुलुकी अपराध संहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसुर को उपदफा (३) (घ) मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ। लामिछानेविरुद्ध उजुरी दिने बालिकाको उमेर १७ वर्ष बताइएको छ।

अभियोग पुष्टि भए बलात्कार गरेको अभियोगमा मात्रै १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ।

उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि करणी भएको मानिने भनिएको छ। प्रहरीले नाबालिकाले उजुरीमा उल्लेख भएअनुसार सम्बन्धित घटना स्थल क्षेत्रबाट प्रमाण सङ्कलन गर्दै अनुसन्धान अघि बढाएको छ। अनुसन्धानमा आवश्यक परे इन्टरपोलमार्फत पनि सन्दीपलाई नेपाल झिकाउन सकिने प्रहरी बताउँछ।