नक्सा पास नभएका संरचना भत्काउने योजनाबाट ‘ब्याक’ भए बालेन, निकाले यस्तो सूचना, किन ?

काठमाडौं, २३ भदौ /महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले नक्सा पास नभएका घर तथा संरचनाहरु पनि भत्काउने धारणा दिए । उनले आरबी कम्प्लेक्समा बनेको अवैध संरचनालाई भत्काउँदै नक्सा पास नभएका संरचना पनि महानगरले भत्काउने उद्घोष गरेका थिए ।

‘कानुन ठूलोलाई लाग्ने सानोलाई नलाग्ने हुँदैन, सबैलाई बराबर हो, हामीले जिल्ला अदालतलाई समय दिएका छौं, जिल्ला अदालतको नक्सा पास छैन भने त्यहाँ पनि डोजर चल्छ,’ उनले भनेका थिए । तर, अहिले उनी आफ्नो निर्णयबाट पछि हटेका हुन् ।

अब काठमाडौं महानगरपालिकाले महानगरभित्र नक्सा नभएर सञ्चालनमा रहेका संरचनाहरुको नक्सा पास गर्ने प्रक्रियामा जाने भएको छ । यसअघि अनधिकृत र नक्सा नै नभएका संरचना भत्काउने योजनामा रहेको महानगरपालिका अब नक्सा पास नभएका संरचनाहरुको नक्सा पास गरेर अगाडि बढ्ने प्रक्रियामा लागेको हो ।

काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका ब्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरुको भवनको नक्सा ९० दिनभित्र पेस गर्न सूचना जारी गरेको छ।

बिहीबार एक सूचना जारी गर्दै महानगरपालिकाले ‘नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूको यो सूचना प्रकाशित भएको मितिले ९० दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत/नियमति गर्न’ अनुरोध गरेको हो।

काठमाडौं महानगरपालिका नगर सभाको ११ औं अधिवेशनबाट आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड अनुरुप निर्माण भएका तर नक्सा पास नगरिएका भवनहरुलाई एक वर्ष भित्रमा नक्सा पास गरी नियमित गर्न आह्वान गरिनेछ’ भन्ने नीति समेत उल्लेखित भई पारित भएकाले सो कार्यान्वयन गर्न यो सूचना प्रकाशित गरिएको महानगरपालिकाले जनाएको छ।

तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन एने, २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही हुने सूचनामा उल्लेख गरिएको छ।

‘अतः काठमाडौं महानगरपालिका क्षेत्रभित्र निर्माण भएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको भएमा त्यस्ता भवनहरूको यो सूचना प्रकाशित भएको मितिले ९० दिनभित्रमा नक्सा पेस गरी नक्सा स्वीकृत/नियमति गर्न सम्बद्ध सबै ब्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरूलाई समेत अनुरोध गरिन्छ,’ महानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ,

‘तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही भइ जाने ब्यहोरा समेत यसै सूचना मार्फत सूचित गरिन्छ।’