रामकुमारी झाँक्रीलाई किन आइरहन्छ योगेश भट्टराईको झझल्को ?

नेकपा (एमाले)का सचिव योगेश भट्टराई बुधबार जन्म दिन मनाइरहेका छन् । एमालेका नेता भट्टराई अहिले एमाले मात्रै होइन एमालेबाटै छुट्टिएर बनेको नेकपा (एकीकृत समाजवादी)का कतिपय नेता मन पराउँछन् । तर बाध्यताले पार्टी फुट्दा उनी माधव नेपालकै पार्टीमा अड्किए ।

तिनै मध्येकी एक हुन् । एसकी सचिव रामकुमारी झाँक्री। बुधबार योगेशलाई जन्म दिनको शुभकामना दिने क्रममा पनि रामकुमारीले त्यो प्रकट गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत जन्म दिनको शुभकामना दिंदै उनले महत्वपूर्ण निर्णय गर्दा योगेशको अभाव महसुस गर्ने गरेको उल्लेख गरेकी छिन् । ‘आफैंले कुनै महत्वपूर्ण निर्णय लिने बेला अभाव महसुस हुने रहेछ दाइ,’ उनले लेखेकी छिन् ।

२०५४ मा एमाले विभाजित भएर नेकपा (माले) बन्दा योगेशसँगै रामकुमारी मालेतिर लागेकी थिइन् । २०६५ मा भएको अनेरास्ववियुको राष्ट्रिय सम्मेलनमा उनले गोकुल घर्तीलाई पराजित गरेकी थिइन्, जसमा योगेशहरूको महत्वपूर्ण सहयोग थियो ।

तत्कालीन नेकपा कालको संघर्षमा रामकुमारी योगेशहरूसँगै प्रचण्ड(माधव खेमामा उभिएकी थिइन्। अन्तिम समयसम्म नेपाललाई साथ दिएका सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, योगेश भट्टराईलगायतका १० नेताहरू एमाले विभाजनमा भने सहमत भएनन् ।

यस्तै, सचिव योगेश भट्टराईले शारीरिक रूपमा अशक्त एक विद्यार्थीलाई आर्थिक सहयोग गरेर आफ्नो जन्मदिन मनाएका छन् । भट्टराईले आफ्नो जन्मदिनको अवसरमा ताप्लेजुङ मैवाखोला गाउँपालिका–५ निवासी जीवन वनेम लिम्बूलाई अध्ययन खर्चको लागि २० हजार रुपैँया नगद सहयोग गरेको छ ।

पाथीभरा क्याम्पसमा शिक्षा विषयको स्नातक तेस्रो वर्षमा अध्ययनरत लिम्बुलाई एक वर्षको कोठा भाडा पनि तिरिदिने भट्टराईले बचन दिएका छन्।

सानैदेखि खुट्टाको समस्याका कारण शारीरिक रूपले अशक्त साथै परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उनलाई पढाइमा प्रोत्साहनका लागि सहयोग गरेको भट्टराईले बताए । विगत पाँच वर्षदेखि आफ्नो जन्मदिनको दिन कुनै न कुनै सामाजिक काम गर्दै आएको भट्टराईले बताए ।

‘घर परिवारको आर्थिक अवस्था कमजोर भएका कारण अध्ययनमा परेको समस्यालाई केही सहयोग होस् भनेर आज मैले रु २० हजार सहयोग हस्तान्तरण गरेको छु र अर्को एक वर्षका लागि कोठा भाडा पनि सहयोग गर्छु भनेको छु’, भट्टराईले भने ।